Total Hits: 0

पासपोर्टसँगै हराएका तुलमायाका सपना

  • Posted: Friday, May 25, 2018 09:02 AM ( 4 years ago )

सन्जिता देवकोटा/उज्यालो ।

खोटाङ, जेठ ११ – ‘पासपोर्ट बनाउन आको, कसरी पो बनाउने होला,’ सामी परियोजना अन्तर्गत खोटाङमा रहेको सूचना केन्द्रमा पासपोर्ट बनाउने प्रक्रियाबारे एक युवतीले सोध्नुभयो ।

परामर्शकर्ता अम्बिका दाहालले पासपोर्टको प्रक्रियाबारे बताउदै उहाँको बारेमा पनि सोध्नुभयो । 

नाम रहेछ, तुलमाया राई । घर चाहिँ खोटाङको ऐसेलुखर्क । झट्ट हेर्दा तुलमाया कलिलै उमेरकी झैं लाग्ने । 

‘पक्कै पनि विदेश जान होला पासपोर्ट बनाउन खोजेको, यति सानै उमेरमा किन विदेश जान लागेको होला,’ मेरो मनमा यस्तै कुरा खेल्दै थिए । 

कुरा गर्दै जाँदा उहाँले साटेको कथा व्यथा भने मनमा उब्जेको प्रश्न भन्दा फरक पाएँ । उहाँको पासपोर्ट हराएको रहेछ । हराएको पासपोर्ट बनाएर १ वर्ष कुवेतमा दुःख गर्दापनि पूरा नभएका सपना पूरा गर्नु रहेछ उहाँलाई । 

२०७३ सालको अन्त्यतिर तुलमाया थुप्रै सपना पूरा गर्न कुवेत उडेकी थिइन ‘कान्छी छोरी हुँ, दिदीबहिनीको बिहे भयो, आमा बुवा बिमार बिमार नै थिए, त्यसैले यसो कमाएर उपचार गराउछु भनेर गएको थिएँ, के भयो के,’ तुलमायाले विदेश जाँदाका सपना सुनाउनुभयो । 

सरसफाइ गर्ने काममा भनेर उहाँलाई म्यानपावरले घरेलु काममा कुवेत पठाएछ । म्यानपावरको चलाखीले घरेलु काममा दुःख पाएको सम्झदा तुलमायालाई २३ वर्षकाे उमेरमै भाग्यले चलाखी गर्‍यो भन्ने लाग्छ । 

कक्षा ५ भन्दा माथि पढ्न पाउनुभएन तुलमायाले । ‘कहिल्यै नभएको बिरामी त्यही बेलामा भइयो, पढाइ छुट्यो, त्यसपछि पढिन,’ तुलमायाले धेरै पढ्न भाग्यमै लेखेको थिएन भनेर चित्त बुझाउनुभयो ।

‘पढाइ लेखाइ पनि नभएपछि के गर्ने, कसो गर्नेे’ तुलमायाको मनमा यही प्रश्नले घोचिरहन्थ्यो । घरमा कमाउने मान्छेपनि नहुँदा उहाँलाई कमाउनुपर्छ भन्ने लागिरहन्थ्यो । 

कमाउने बाटो खोज्दै खोज्दै उहाँ कुवेत पुग्नुभयो । दुःखले छट्पटिएको मन कमाएर शान्त पारौंला भनेर विदेश लागेपनि तुलमायाले सोचेजस्तो भएन । काम नै उहाँले सोचेभन्दा फरक प¥यो । साहुका सात जना छाराछोरी हेर्ने काम थियो उहाँको । 

‘कोही अलिक ठूला कोही साना, निकै सानालाई त साहुनीले नै सुताउनुहुन्थ्यो तर अलि ठूला भएकालाई त म आफैंले सँगै सुताउनु पर्ने, रुने चकचक गर्ने, राती अबेरसम्म पनि निदाउन नपाइने साह्रै गाह्रो नि,’ तुलमाया कामको बारेमा बताउनुहुन्छ ।

बालबाच्चा हेर्ने, सरसफाइको काम गर्ने र खाना पकाउने उहाँको जिम्मेवारीमा थियो । गन्तीमा जम्मा तीनवटा काम गर्नुपर्ने भएपनि तुलमायाले थचक्क बसेर सास फेर्ने फुर्सद पाउनुहुन्नथ्यो । 

‘बिहानै उठ्यो, सरसफाइ गर्‍यो, साहुसाहुनी र बच्चा उठ्नुअघि लुगा धुनेदेखि ट्वाइलेट सफा गर्नेसम्मको काम भ्याइसक्नु पथ्र्यो,’ तुलमाया सम्झिनुहुन्छ, ‘भाषा नबुझ्दा त ठिकै थ्यो, भाषा बुझ्ने भएपछि थाहा भयो, बच्चालेसम्म गाली गर्दा रहेछन् ।’

घरमा काम गर्दाका नियम तुलमायाले कहिल्यै नसुनेका थिएँ । ‘घरबाट बाहिर निस्कन नपाउने, बालबालिकालाई ठूलो स्वारमा गाली पनि गर्न नहुने अनि उनीहरुलाई भिडियो र फोटोमा देखाउन नहुने रहेछ म त सुरुमा त छक्क परें,’ तुलमायाले घरका नियमहरु सुनाउनुभयो । 

यी नियमहरु नजान्दा तुलमायाले गाली खानुभयो । ‘एकदिन भिडियो च्याट गर्दै थिएँ, पछाडि बच्चाहरु खेलीरहेका थिए, साहुले त मेरो मोवाइल नै फुटाइदिए,’ मोवाइल फुटेको कुरा सुनाउदा तुलमायाको अनुहारको रंग फेरियोे ।

साहुले मोवाइल खोसेर फुटाइदिदा उहाँलाई कम्ता मन दुखेन । मनको बह पोख्न तुलमायासँग मोवाइलभन्दा अरु केही पनि थिएन, कोही पनि थिइनन् । 

‘मोवाइल फुटेपछि घरमा पनि कुरा गर्न पाइन, साह्रै नरमाइलो लाग्यो, धेरै समय त रोएरै बिताएँ मैले त,’ तुलमायाले दुःख मान्दै सुनाउनुभयो । हुनत तुलमाया साहुसाहुनीले नदेख्ने गरेर कति रुनुभयो कति तर मोवाइल फुट्दा भने उहाँलाई मुटुनै फुटे झै भयो । उनीहरुकै अगाडि रोइदिनुभयो । 

बिसन्चो हुँदा थरथर काप्दै खाना बनाउनु पर्दा पनि तुलमायालाई साह्रै रुन मन लाग्थ्यो । विदेशका मान्छेका मन हुँदैन कि झैं लाग्थ्यो उहाँलाई । दसैँ, तिहार, तीज जस्ता नेपाली चाडवाड आउदा पनि घर सम्झेर मन साह्रै दुख्थ्यो । 

घरमा दुःखै भएपनि बुवा आमाको काखमा छिट्टै निदाउने बानी परेकी तुलमायालाई साहुका छोराछोरीले राती अबेरसम्म निदाउन दिँदैन थिए । ‘साह्रै झ्याउ झ्याउ गर्ने बच्चाहरुले, न राती बेलामा निदाउन दिने न बिउझदा आनन्दले बस्न दिने,’ तुलमाया बालबच्चा स्याहार्नु पर्दाका अनुभव सुनाउनुहुन्छ । 

तुलमायाले यसरी नै १ वर्ष बिताउनुभयो कुवेतमा । दुई लाख रुपैयाँ कमाउनु भयो । तर त्यो कमाइले उहाँले सोचेजस्तो न घरको अवस्था सुध्रियो न उहाँकै । सात जाना बालबालिकाको स्याहारको गर्न गाह्रो भएपछि उहाँले घर फर्किने निर्णय गर्नुभयो ।

कमाउने, आमा बुवालाई पैसा दिने, आफ्ना लागि पनि धेरथोर जोहो गर्ने तुलमायाका मनका सपना विदेशका दुःखले मनमै थिचिदिए । तर उहाँलाई अझैपनि अर्को देशमा गएर मनका चाहाना पूरा गर्छु भन्ने छ । 

त्यसैले उहाँ हराएको पासपोर्ट बनाउन सदरमुकाम आउनुभयो । हराएको पासपोर्ट त केही समयमा बन्छ तर विदेश गएर पूरा गर्न बाँकी राखेका काम भने बन्ला कि नबन्ला ?

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook