ओलीज्यू, बालुवाटार तपाईँको पेवा हो ?
- Posted: Saturday, May 19, 2018 13:20 PM ( 4 years ago )
अर्जुन पोख्रेल
मलाई थाहा छ, दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निकै उत्साहित भैसकेका छन् । धैर्य गरेर यो लेख पढ्ने आँट गरेनन् भने उनीहरुले मलाई यो त कम्युनिष्ट विरोधी रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्न पनि सक्छन् ।
सम्हालिएर ठिक पार्ने कुरा गरेनन् भनेपनि एमाले र माओवादीको एकता यसलाई मन परेको रहेनछ, कि यो कांग्रेस हो या राजावादी नै भन्न पनि उनीहरु पछि नपर्लान् । वाम पार्टीका केही कार्यकर्ता आफूभन्दा फरक विचार राख्नेप्रति र उनीहरुका गल्ती अनियमितता बाहिर ल्याउनेप्रति निकै उग्र हुन्छन् भन्ने कुरा सामाजिक सञ्जालतिर पनि प्रशस्त देख्न पाइन्छ ।
नेकपाका नेता कार्यकर्ताले जेसुकै भनून्, एमाले र माओवादी एक हुँदाको दिन र पार्टी एकताको प्रक्रिया मिलाउने क्रममा प्रधानमन्त्रीको निवास वालुवाटारलाई जसरी व्यक्तिगत रुपमा प्रयोग गरिएको छ, त्यो पटक्कै चित्त बुझेन र मनमा मात्रै राख्न सकिन ।
सबैभन्दा पहिले कुरा गरौँ प्रधानमन्त्री निवास वालुवाटारको । प्रधानमन्त्री भैसकेपछि निजी निवास छाडेर सरकारी निवास वालुवाटारमा प्रधानमन्त्रीहरु सर्ने गर्छन् । पर्याप्त सुरक्षा, उच्चस्तरीय भेटघाट भैरहने हुँदा त्यही अनुसारको खुला ठाउँ, सौन्दर्यता लगायतका कारण निजी निवास छाडेर प्रधानमन्त्री सरकारी निवासमा आउँछन् । प्रधानमन्त्री कार्यालय व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालय नै बनाएर कर्मचारी राखेको हुन्छ ।
देशकै सर्वोच्च कार्यकारी पदमा बसेको व्यक्ति भएकाले प्रधानमन्त्री निवासमा मान्छेको जमघट हुन्छ नै । चियापान पनि भैरहन्छन् । विगतमा पनि भएका थिए, त्यो स्वभाविकै थियो । तर अहिले हरेक दिनजसो म भ्रष्टाचार पनि गर्दिन र गर्नेलाई पनि छाड्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले भने वालुवाटारलाई आफ्नै निजी घरका रुपमा प्रयोग गरेको देखियो ।
हुन त यसअघि पनि बालुवाटारमै एमालेको स्थायी कमिटीको बैठक बस्थ्यो, पार्टी एकता संयोजन समितिका बैठक दर्जनौँपटक बसे, पाँचतारे होटलबाट ल्याएर खाजा खाएको पनि हल्ला चलेको थियो । तर एमाले र माओवादीबीच पार्टी एकता भएका दिन वालुवाटारमा राज्यशक्तिको जुन दुरुपयोग देखियो, त्यसले के पुष्टी गथ्र्यो भने ओलीले भन्दै आएको सुशासन केवल प्रचार मात्रै हो ।
बालुवाटार प्रधानमन्त्रीको निवास हो । प्रधानमन्त्री एमाले र माओवादीका मात्रै नभै सबै नेपालीका हुन् । तर पार्टी एकताको दिन प्रधानमन्त्री निवास बालकोटमा रहेको ओली निवास नै बन्यो भन्दा हुन्छ । बिहानैदेखि सीमित कार्यकर्ताका लागि भोजभतेरको थलो बन्यो प्रधानमन्त्री निवास ।
धमाधम क्याटरिङका गाडी प्रधानमन्त्री निवासको गेटबाट छिर्न थाले । प्रधानमन्त्री निवासमा धमाधम क्याटरिङका गाडी छिर्न थालेपछि मलाई खसखस लाग्यो र गएर सोधेँ । ‘दाइ यो केका लागि हो ?’ क्याटरिङमा मान्छे भन्दै थिए, ‘खै के हो कुन्नि, आज यहाँ खुशीयाली छ रे, ५ बजेपछि ७ सय जनाले खाने गरी फूल डिनरको व्यवस्था गर्नु भनेका हामी अहिलेदेखि नै लागेका हौँ ।’
त्यतिसम्म त ठिकै थियो एकैछिनमा नेपाली सेनाका ट्रक प्रधामन्त्री निवासमा छिरे । सुरक्षाको केही कामका लागि वालुवाटारमा सेना आउजाउ गरिरहने भएकाले धेरैले चासो दिएनन् । तर केही बेरपछि त ती ट्रकबाट नेपाली सेनाले धमाधम टेन्ट निकालिरहेको थियो । १५-२० जना सैनिकले दिउँसोको चर्को घाममा एमाले र माओवादी एकताको खुशीयालीमा हुन थालेको भोजको लागि टेन्ट टाँगिरहेका थिए । त्यसपछि बालुवाटारमा समाचार संकलनको लागि पुगेको धेरै पत्रकार जिल्ल परे । सबैजसो पत्रकार खासखुस गर्दै थिए, ‘दुई वटा पार्टी एक हुँदा नेपाली सेनालाई यसरी काममा लगाउन पाइने रहेछ ?’
दुई पार्टी एक भएको खुशीयालीमा दिइन थालेको भव्य भोजको लागि नेपाली सेनाको दुरुपयोग भएको थियो । नेपाली सेनाले काम नसक्दै फेरि एकहुल कामदार प्रधानमन्त्री निवास छिरे । केहीबेरमा तिनै मान्छेले वालुवाटरको ठूलो परिसरमा थरिथरीका बत्ती जोड्न थाले । वरपरका पर्खाल, रुख, बगैँचा, भवन जताजतै झिलिमिली हुने गरी उनीहरुले बत्ती जोडे ।
बालुवाटारमा ७ सय जनालाई भोज, नेपाली सेना प्रयोग गरेर पाल राख्ने, जताजतै झिलिमिली बत्ती राख्ने जस्ता काम गर्नलाई देशले ठूलै सफलता हात पारेको थियो र ? हैन भने दुई पार्टीको एकताको अवसरमा कि त पार्टी कार्यालयमा कि त निजी पार्टी प्यालेसमा आयोजना हुनुपर्ने भव्य भोज किन बालुवाटारमा गरियो प्रधानमन्त्रीज्यू ?
कि बालुवाटार जुन पार्टीको प्रधानमन्त्री छ, त्यै पार्टीको र नेताको पेवा बनिहाल्छ ? बालुवाटार पार्टी कार्यालय हो र ७ सय जनाको पार्टी दिनलाई ?७ सय जनाले खाएको बिल नेकपाले तिर्ने हो कि बालुवाटारले ?
दुई पार्टी एक हुँदा कार्यकर्ताबाहेक आम नागरिकले के उपलब्धी पाएका छन् र बालुवाटारमा राज्य शक्तिको दुरुपयोग गर्दै खुशीयाली भोज दिइयो ? मलाई लाग्छ प्रधानमन्त्रीको यस्तै स्वेच्छाचारी प्रवृत्तिको आम नागरिक र सञ्चारमाध्यमले खरो विरोध नगर्ने हो भने ५ वर्षको अवधिभित्र बालुवाटारभित्र नेपाल कम्युनिष्ट पार्टीको झण्डा फहराएको देख्नु अनौठो हुने छैन ।
सुशासन विरोधी काम र भ्रष्टाचार हुन दिन्न भन्ने भ्रम
बिहीबार साँझ बालुवाटारमा राज्य शक्तिको दुरुपयोग गर्दै भव्य भोज चल्दै थियो । एमाले र माओवादी एक हुँदा वालुवाटारमा भोज सुरु हुँदै गर्दा राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली गर्जँर्दै हुनुहुन्थ्यो, ‘म भ्रष्टाचार पनि गर्दिन र हुन पनि दिन्न ।’ उहाँको गर्जन हेर्दा लाग्थ्यो सरकार निकै सुशासनमा बाँधिएको छ ।
प्रधानमन्त्रीज्यू, खनखनी पैसा गनेर घुस खानु मात्रै भष्टाचार हो ? तपाईँले पार्टी एकताको नाममा बालुवाटारमा गरेको राज्यशक्ति र राज्यकोषको दुरुपयोग भ्रष्टाचार होइन ? हरेक दिन चर्का भाषण ठोक्दैमा सुशासन कायम हुन्छ ? अरुलाई सुशासनका भाषण दिनेले आफैले त्यसको सुरुवात गर्नु पर्दैन ?
हाम्रा प्रधानमन्त्रीको कार्यशैली ठ्याक्कै हिटलरको नाजी शासनकालमा प्रोपोगान्डा मन्त्री जोसेफ गोयबल्स जस्तै लाग्छ । काम गर्ने होइन तर गलत कुरा सय पल्ट दोहोर्यायो भने सत्य हुन्छ भन्ने गोयबल्सको कार्यशैली ओलीलाई पनि खुब मन पर्छ जस्तो छ । हरेक दिन ‘म भ्रष्टाचारविरोधी, म सुशासन कायम राख्ने प्रधानमन्त्री’ भन्दै चर्का स्वरमा भन्दै हिँड्नुहुुन्छ । बिचरा नागरिकलाई त लाग्दो हो, ‘वाह हाम्रा प्रधानमन्त्री त क्या सुशासनका प्रवद्र्धक र भ्रष्टाचारविरोधी रहेछन’
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...