Total Hits: 0

चुनावअघिको घोषणा पूरा भयो : अब प्रतिवद्धताको पालो

  • Posted: Thursday, May 17, 2018 20:30 PM ( 5 years ago )

होला कि नहोला भन्ने आशंका बढिरहँदा सबैलाई चकित पार्दै दुई ठूला कम्युनिष्टबीच पार्टी एकता भयो । नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन, नेपाली राजनीति र अन्तर्राष्ट्रिय परिवेशमा पनि यो क्षण ऐतिहासिक हो ।

कम्युनिष्टहरु फुट्छन् मात्रै, जुट्न सक्दैनन् भन्नेहरुलाई गतिलो जवाफ हो । अनि स्थिर सरकार र आर्थिक समृद्धिको आश गरेर बसेका नागरिकका लागि विश्वास बढाउने संकेत हो । त्यति मात्र होइन, कम्युनिष्ट पार्टीहरुको एकताबाट आत्तिनेहरुलाई पनि एक ठाउँमा उभिनुपर्छ भन्ने संकेत हो ।

हुन त यो एकता आकश्मिक रुपमा भएको होइन । पार्टी एकता गर्ने घोषणा चुनावअघि नै भएको थियो । तर चुनाव जितेर बलियो सरकार गठन गरेका दुई दलबीच यसबीचमा धेरै खटपट भए । पार्टी एकता नै नहुने हो कि भन्ने आशंका पनि बढ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल घुमाई सकेर फर्किएलगत्तै एकथरीले त ठोकुवा नै गरे, एमाले र माओवादीबीचको एकता अब टर्यो ।

अझ प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम र कामलाई माओवादीले मन पराएको छैन, दुई पार्टीबीच खटपट बढ्यो भन्ने हल्ला पनि चले । हल्ला मात्रै होइन, माओवादीका केही नेताहरुको अभिव्यक्ति सुन्दा दुई पार्टीबीच छिटै एकता होला जस्तो संकेत देखिंदैनथियो । तर मंगलबार साँझदेखि एकाएक एकता प्रक्रियाले नयाँ मोड लियो ।

मंगलबार दिउँसो काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बढिमा दुई दिनको समय राखेर पार्टी एकता हुने बताउनुभयो । पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेलाई चुनौती दिंदै उहाँले थप्नुभयो, भोलि बालुवाटार आउनुहोस् ।

भोलिपल्ट अर्थात बुधबार बालुवाटारमा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेट थियो । त्यही भेटमा बिहीबार पार्टी एकता गर्ने निचोड निस्कियो । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्न दुवै नेता राजी भएका हुन् ।

बुधबार बेलुकी नै बसेको एमाले स्थायी समिति बैठकमा ओलीले बिहीबार पार्टी एकता हुने घोषणा गर्नुभयो । त्यसलगत्तै दुवै दलका नेता कार्यकर्ता उत्साहित भए । केही नेता कार्यकर्तामा एकता नहुने हो कि भन्ने आशंका पनि थियो । तर बिहीबार दिनभरको घटनाक्रमले एमाले र माओवादीलाई एकठाउँमा ल्याएरै छाड्यो । दुवै पार्टीका नेता कार्यकर्ता एउटै कम्युनिष्ट पार्टीको छातामुlन मिलेर बस्न राजी भएका छन् ।

दुई कम्युनिष्टको एकता : सबैलाई फाइदा

स्थिर सरकार बनाउने र देशमा आर्थिक समृद्धि हासिल गर्ने बाचासहित दुई कम्युनिष्ट पार्टीले चुनावअघि नै पार्टी एकता गर्ने घोषणा गरेका हुन् । उनीहरुको बाचा र प्रतिबद्धतालाई नागरिकले पत्याए । एउटै घोषणापत्र लिएर चुनावमा गएका उनीहरुलाई नागरिकले जितेर पठाइदिए । चुनावी तालमेलकै कारण बलियो सरकार बन्यो ।

दुई पार्टी एक हुन्छन् र देशमा स्थिर सरकारसँगै आर्थिक समृद्धिको ढोका खुल्छ भनेर भोट खसाल्ने नागरिकलाई धोका दिन हुन्नथियो । वाम गठबन्धनले अन्ततः धोका दिएन । यो एकतासँगै वाम गठबन्धनले चुनावी घोषणापत्रमा बाचा गरेको प्रतिबद्धता पूरा हुने दिशामा अघि बढ्छ भन्ने आशा बढेकोे छ ।

यसले छरिएर रहेका अरु कम्युनिष्ट पार्टीहरुलाई पनि एक ठाउँमा उभ्याउन बल त मिल्छ नै । आन्तरिक किचलोमा अल्झिएको नेपाली कांग्रेसलाई समेत एक ढिक्का बनाउन दबाब पुग्छ । त्यसैले अरु वाम पार्टीहरुलाई एक ठाममा ल्याउन र अरु पार्टीहरुको आन्तरिक एकता बलियो बनाउनको लागि यो सकारात्मक संकेत हो ।

अर्को महत्वपूर्ण कुरा, वाम एकताको यो अभियानले देशमा राजनीतिक स्थिरता ल्याउँछ भन्ने धेरैको विश्वास छ । लामो समयदेखि कुनै पनि एक पार्टीको बहुमत नआउँदा सरकार सञ्चालनमा गठबन्धनको संस्कृति भित्रियो । यसले राजनीतिक विकृति मात्र ल्याएन, विकास निर्माणको काम पनि पछि धकेलियो ।

अब दुई पार्टीको एकतासँगै एउटै पार्टीको बलियो सरकार भएको छ । राजनीतिक स्थिरता र आर्थिक समृद्धिको दिशामा अघि बढ्न कसैले छेकबार गर्न नसक्ने अवस्था छ । यो ऐतिहासिक अवसरलाई पुनगर्ठित नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले सदुपयोग गर्न सक्नुपर्छ ।

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु उनीहरुका लागि मात्र होइन देशकै लागि सकारात्मक सन्देश हो । देशमा राजनीतिक स्थायित्व र विकास निर्माणले फड्को मार्छ भन्ने संकेत हो । हुन त एकता अभियानको घोषणा गर्दादेखि अहिले पार्टी एकता गर्नेबेलासम्म हातेमालो गर्ने तिनै शीर्ष नेताहरुका विगत व्यवहारबाट आमनागरिक मात्र होइन, उनीहरुकै कार्यकर्ता समेत त्यति आशावादी देखिंदैनन् । तर आफ्ना कार्यकर्तासँगै आमनागरिकमा आशा र विश्वास जगाएर देशको मुहार फेर्न सक्ने शक्ति यिनै नेताहरुसँग छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook