पोखराका मेयरको उद्घोष – स्मार्ट सिटीको अनुभूत गर्न अब दुई महिना मात्रै कुर्नुस्
- Posted: Wednesday, May 16, 2018 15:25 PM ( 3 years ago )
हिमनिधि लौडारी/उज्यालो ।
कास्की, जेठ २ – पोखराका सबै वडाबाट असार मसान्तदेखि अनलाइनमार्फत् सेवा दिने घोषणा गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आउँदो साउन १ गतेदेखि पोखराका सबै वडाबाट अनलाइनबाट सेवा दिने व्यवस्था मिलाई नगरबासीलाई घरैबाट सेवा लिनसक्ने बनाउने उद्घोष गर्नुभएको हो ।
आसन र भाषणमा मात्रै दिन बिताए, केही गर्न सकेनन् भनेर आलोचना भैरहेको बेलामा उज्यालोसँग कुरा गर्दै नगरप्रमुख जिसीले यो उद्घोष गर्नुभएको हो ।
‘पोखरालाई स्मार्ट सिटी बनाउने अभियानको पहिलो काम स्वरुप ३३ ओटै वडाबाट सेवाग्राहीलाई अनलाइनबाटै सेवा दिने तयारी भएको छ, यो हाम्रो पहिलो उपलब्धि हुनेछ’, नगरप्रमुख जिसीले भन्नुभयोे, ‘३३ ओटै वडाबाट भरपर्दो र दीगो अनि जनशक्तिसहितको सेवा दिन्छौँ । सेवाग्राहीहरु महानगरपालिकाको कार्यालयमा धाउनै पर्दैन ।’
पोखराका प्रमुखसहित जनप्रतिनिधिहरु असफलतातर्फ उन्मुख भैरहेका छन् भन्ने हल्ला अहिले देशैभर फिँजिएको छ । प्रमुखकै पार्टी नेकपा एमालेका जिल्ला नेतृत्वसँग बोलचाल नै बन्द भएको अवस्था रहेको छ ।
महानगरपालिकाको बोर्ड तथा परिषद्मा स्पष्ट बहुमत हुँदाहुँदै पनि निर्णय हुन र भएका निर्णय कार्यान्वयन हुनसक्ने अवस्था छैन । त्यसको पछिल्लो उदाहरण पोखरा लेखनाथ महानगरपालिकाको नाम फेरेर पोखरा महानगरपालिका राख्ने प्रस्ताव नगरपरिष्दमा गएको भए पनि निर्णय हुन सकेन ।
तर प्रमुख मानबहादुर जिसी त्यसलाई खण्डन गर्दै भन्नुहुन्छ, ‘त्यस्तो होइन, हामी आन्तरिक काममा लागेकोले परिणाम नदेखिएको हो ।’ उहाँले थप्नुभयो, ‘एक वर्षको अवधिमा हामीले २५/२६ ओटा कानुन बनाइसक्यौँ । अब कार्यान्वयन गरेर देखाइदिन्छौँ ।’
स्मार्ट सिटीको अभियानको पहिलो काम पोखराका सबै ३३ ओटै वडाबाट अनलाइन सेवा सुरु गरेको भनिएको भए पनि त्यसलाई पत्याउने विश्वासिलो आधार अझै बन्न सकेको छैन किनभने पोखराका १८ ओटा वडामा अझै पनि द्रुत इन्टरनेट सेवाको लागि अप्टिकल फाइबर बिछ्याउन बाँकी नै छ ।
त्यसको लागि कुनै पनि निजी कम्पनी तयार देखिएका छैनन् भने सरकारी निकाय नेपाल टेलिकमको पनि तत्काल फाइबर बिछ्याउने कुनै योजना छैन । तर नगरप्रमुख जिसी भन्नुहुन्छ,‘इन्टरनेट प्रदायक संस्थासँग समन्वय गरेर भए पनि हामी सेवा सुरु गर्छौँ ।’
चुनावको बेलामा मूल मुद्धा बनेको पोखरालाई स्मार्ट सिटी बनाउने विषयको मूर्त खाका त अझैसम्म बनाइएको छैन । स्मार्ट सिटी के हो भन्ने विषय अझै अलमल नै छ, तर प्रमुख जिसीको परिभाषामा नगरबासीलाई घरैबाट प्रविधिमैत्री सेवा, यातायात तथा ट्राफिक व्यवस्थापन, पार्किङ्ग व्यवस्थापन, सबै वडामा सडक सञ्जाल विस्तार, कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाहको स्तरमा सुधार नै स्मार्ट सिटी निर्माणका आधारहरु हुन् ।
‘पोखराका ग्रामीण वडाहरुलाई पनि सडक सञ्जालमा ल्याउनको लागि द्रुत गतिमा काम भैरहेको र विकटलाई निकट र निकटलाई समृद्धि भन्ने नाराका साथ कनेक्टिभिटी सडक बनाउने अभियान सुरु गरेका छौँ’, नगरप्रमुख जिसीले भन्नुभयो ।
सडकको खाल्डाखुल्डी जानकारी आएको २४ घण्टाभित्रै पुर्ने वाचाका साथ चुनावी मैदानमा होमिएका जिसीले सुरुका केही दिन यो वाचा पूरा गर्ने प्रयास गरेको पनि देखियो । तर बिस्तारै यो गतिमा भने सुस्तता आएको छ । कुराकानीको क्रममा उहाँले भन्नुभएको छ, ‘यसमा हामीले प्रयास चाहिँ गरेका हौँ तर अहिले कार्यविधि नै निर्माण गरी अघि बढिरहेका छौँ ।’
छाडा चौपायाहरु नियन्त्रणको क्षेत्रमा पनि उल्लेख्य काम गरेको दावी नगरप्रमुखको रहेको छ । बितेको एक वर्षको अवधिमा १२ सय छाडा चौपाया व्यवस्थापन गरेको सुनाउँदै नगरप्रमुखले भन्नुभयो, ‘दीर्घकालीन समाधानको लागि लागिपरेका छौँ, प्रशासनिक संयन्त्रलाई पनि चुस्त दुरुस्त बनाउने प्रयास गरेका छौँ’, उहाँले भन्नुभयो, ‘सार्वजनिक जग्गालाई व्यवस्थापन गर्ने, तालहरुलाई संरक्षण गर्ने काममा हामी अघि बढेका छौँ ।’
त्यसैगरी नगर उपप्रमुख मञ्जुदेवी गुरुङ्गले छाडा चौपाया नियन्त्रणमा सबैभन्दा बढी उपलब्धि भएको दावी गर्नुभयो । ‘हामीले छाडा चौपायाको ट्रयाकिङ्ग गर्ने व्यवस्था पनि मिलाइसक्यौँ । अब छाडा चौपायाको समस्या समाधान हुनेछ – उहाँले भन्नुभयो । ‘सपथ ग्रहणसँगै गरिएका महिला हेल्प डेस्क स्थापना र महिलालाई निःशुल्क कानुनी सेवा दिने निर्णय पनि प्रभावकारी बनेको उपप्रमुखको दावी छ । ‘धेरै महिलाहरुले सेवा लिइरहेका छन्’, उहाँले भन्नुभयो ।
पोखराका जनप्रतिनिधिहरुले काम गर्न सकेनन् भनेर आलोचना खेप्नुपरेको अर्काे सबैभन्दा महत्वपूर्ण विषय मापदण्डको कार्यान्वयन हो । ताल, नदी, खोला, तथा सडक मापदण्ड कार्यान्वयनको विषय पोखरामा निकै पेचिलो बनेको छ ।
तर उपप्रमुख मञ्जुदेवी गुरुङ्गको दावी छ, ‘त्यसको लागि हामीले विज्ञ समूह गठन गरी काम अघि बढाएका छौँ । १ महिनाभित्रै त्यस समूहको प्रतिवेदन प्राप्त हुन्छ । त्यसैको आधारमा हामी कार्यान्वयन गर्छौँ ।’
नगरप्रमुख मानबहादुर जिसीका अनुसार यही असार एक गतेदेखि पोखरामा सबै खालका मापदण्ड पूर्ण रुपमा कार्यान्वयनमा आउनेछन् । धेरै काम गरेको सुनाउनुभयो तर गर्न खोजेर पनि नसकेको कुरा पनि केही छन् कि भन्ने प्रश्नमा नगरप्रमुखले भन्नुभयो, ‘आवश्यक कानुन बनाउन सकेका छैनौँ । ल्याण्ड युज प्लान बनाइसक्नुपथ्र्याे तर बनाउन सकेका छैनौँ । सार्वजनिक यातायातको गुरुयोजना बनाउन खोजेका हौँ तर ढिला भएको छ ।
जिसीका अनुसार ट्राफिक व्यवस्थापन सबैभन्दा छिटो गर्नुपर्ने थियो तर गर्न सकिएको छैन । ‘यो सार्वजनिक जग्गाको अभाव, निजी क्षेत्र महानगरपालिकासँग सहकार्य गर्न आउन हच्किएको कारणबाट नसकेको हो । हामी निजी क्षेत्रलाई आह्वान गरी महेन्द्रपुल, न्यूरोड र पृथ्वीचोकमा पार्किङ्ग व्यवस्थापनमा लागेका छौँ ।’
संघीय सरकारको र प्रदेश सभाको चुनाव भएपछि मात्रै स्थानीय तहको चुनाव भएको भए काममा गति आउने अनुभव नगरप्रमुख जिसीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...