ललितपुरका मेयर भन्छन् – तीन विषयमा फेल भएँ, अरुमा पास मात्रै !
- Posted: Tuesday, May 15, 2018 08:50 AM ( 3 years ago )
मदन पौड्याल/उज्यालो ।
ललीतपुर, जेठ १ – ‘मैले आफूले आफैलाई अंक दिनुपर्यो भने ५० अंक पास मार्क भए ६० अंक मात्रै दिन्छु’ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफ्नो कामको आफैं मूल्यांकन गर्दै यसो भन्नुभयो ।
वर्षदिनमा आफूले गरेको काममा उहाँ आफैं पनि सन्तुष्ट हुनुहुन्न । मोनोरेल, फ्लाई ओभर र जाममुक्त महानगरको घोषणा कार्यान्वयनबारेको जिज्ञासामा उहाँले यी तीन विषयमा शून्य अंक आउँछ होला भन्ने जवाफ दिनुभयो । चुनावी घोषणा पत्र र नीति तथा कार्यक्रममा समेत लेखिएका यी योजना कार्यान्वयनको चरणमा जान नसकेकै कारण मेयर महर्जनले यी विषयमा आफू फेल भएको बताउनुभएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जस्तै ललितपुर महानगरपालिकाका मेयर महर्जनले पनि धुवाँधुलो र जाममुक्त महानगर, मोनोरेल, इन्टरसेक्सन फ्लाई ओभर निर्माण लगाएतका घोषणा गर्नुभएको थियो । तर उहाँले भनेजस्तो र नागरिकले सोचेजस्तो काम चाहिँ हुन सकेको छैन ।
गुनासा उस्तै छन्
राज्यको पुनर्संरचना सँगै ललितपुर उपमहानगरपालिकाबाट महानगरपालिका बनेको हो । स्थानीय तहको चुनावमा ललितपुर महानगरपालिकाको मेयरमा महर्जन निर्वाचित हुनुभयो । जेठ १० गते पदभार ग्रहण गर्नुभएका मेयर महर्जनले सेवा प्रवाहमा गुनासो नरहने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
त्यस्तै, सडक, खानेपानीको अव्यवस्था सुधार, पूर्वाधार निर्माणका काम तत्काल सुरु गर्ने वाचा पनि गर्नुभएको थियो । तर काठमाडौं महानगरपालिका जस्तै ललितपुर महानगरपालिकाका मतदाताले पनि जनप्रतिनिधिले वाचा गरेअनुसार काम गर्न नसकेको गुनासो गर्दै आएका छन् ।
महानगरपालिकाले जनप्रतिनिधि पाएको वर्षदिन भैसक्दा पनि फोहोरको समस्या उस्तै छ । जाम घटाउने काम हुन सकेको छैन । जनप्रतिनिधि आए पनि महानगरको अवस्था नफेरिएको वडा नम्बर १० कुपण्डोलकी कमला विष्ट बताउनुहुन्छ । सेवा प्रवाह पनि अझै सहज हुन सकेको छैन । वडा कार्यालयले महानगरपालिकामा सिफारिस गरेको फाइल बुझाउन पनि हप्तादिन धाउनुपरेको महानगरपालिकामा भेटिनुभएकी विष्टले गुनासो गर्नुभयो ।
चुनावी प्रतिबद्धता र नीति तथा कार्यक्रम
ललितपुर महानगरपालिकाले असार ३१ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । ‘ललितपुर नगर स्वस्थ सम्मुनत सांस्कृतिक शहर’ भन्ने नारासहित नीति तथा कार्यक्रममा सेवा प्रवाह सुधार, दिगो शहरी पूर्वाधार विकास, पुनर्निर्माण, पर्यटन विकासलगायतका मुख्य प्राथमिकता उल्लेख छन् ।
ट्राफिक व्यवस्थापन गर्न भट्रिकल पार्किङ स्थल बनाउने, मोनोरेल संचालन गर्ने, ललितपुरको पुल्चोकदेखि कुपण्डोल थापाथलीसम्म फ्लाइओभर बनाउने, पुल्चोकदेखि मंगलबजार क्षेत्रमा विद्युतीय बस संचालनको काम अगाडि बढाउने भने पनि बितेको एक बर्षमा प्रतिवद्धता अनुसारका काम हुन सकेको छैन ।
के भयो वर्ष दिनमा ?
ललितपुर ट्राफिक जाममुक्त महानगरपालिका घोषणा भएको छ । तर मेयर महर्जनले जामको सास्ती उस्तै रहेको आफै बताउनुहुन्छ । सरकारको खरिद ऐनका कारण जाममुक्त बनाउने काम सुरु गरेपछि असफल हुने हो कि भन्ने लागेर नै घोषणालाई कार्यान्वयन गर्न पछाडि परेको उहाँको दावी छ ।
ललितपुर महानगरपालिकाले साझा यातायातलाई एक करोड रुपैयाँ उपलब्ध गराएपछि बुङ्गमतिबाट बुढानिलकण्ठसम्म साझा बस संचालन भएको छ । महानगरपालिकाले चैत १८ गते शताब्दी पुरुष सत्यमोहन जोशीलाई चालक सुबिधा सहित गाडी प्रदान गरेको छ । सुसासन र सेवा प्रवाह सहज बनाउने काम भैरहेको मेयर मर्हजनको दावी छ ।
त्यस्तै पाटन दरबार क्षेत्रमा पुनर्निर्माणको काम भैरहेको छ । प्राविधिक जनशक्ति, नीति तथा कानुनको अभावमा अपेक्षाकृत काम नभएपनि महानगरपालिकामा सुसासन कायम गर्नेदेखि योजना कार्यान्वयनको खाका बनाउने काम भैरहेको मेयर महर्जनको दावी छ ।
किन काम हुन सकेन ?
बितेको एक वर्षमा काम गर्न नसक्नुमा स्रोत साधन, कर्मचारी, नीति तथा कानुनको अभाव नै मुख्य हो भन्नुहुन्छ, ललितपुर महानगरपालिकाका मेयर महर्जन । जुन गतिमा काम हुनुपर्ने थियो हुन नसक्दा सुरुवाती समय खेर गएको उहाँको भनाई छ ।
नेपाल सरकारले धेरै नै बन्देज लगाएको छ प्राविधिक जनशक्तिको नाममा एकजना पनि इन्जिनियर छैन, कर्मचारी समायोजन नहुँदा समस्या उस्तै छ । त्यसैले भनेजस्तो काम गर्न नसकेको मेयर महर्जन बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...