दाइजो नलिई विवाह गर्दा कोही सम्मानित त कोही पीडित
- Posted: Sunday, May 13, 2018 10:46 AM ( 3 years ago )
वैशाख ३० – गएको चैतमा सप्तरीको राजविराज नगरपालिका–६ का काजल साह र महोत्तरीको भंगहा नगरपालिका–३ का इन्जिनियर श्रवणकुमार साहबीच धुमधामका साथ विवाह भयो । एम.एड.सम्मको पढाई पूरा गरेका काजल र इन्जिनियर श्रवणको विवाह अरुको भन्दा फरक थियो । उनीहरुले दाइजोबिना विवाह गरेका हुन् ।
पहिलेदेखि नै बिना दाइजो विवाह गर्ने संकल्प लिएका यी जोडीले दुवैतर्फका परिवारलाई आफ्नो विवाहमा सहमत गराएरै छोडे ।
यसैगरी फागुनमा बारा बारागढिका आमोद चौधरी र बारागढिकै सरिता चौधरीले पनि दाईजो नलिई विवाह गरे । समाजमा परम्परागत कु–संस्कृतिलाई चुनौती दिँदै आफूहरुले दाईजो नलिई विवाह गरेको आमोदको भनाई छ ।
त्यस्तै उदाहरणीय जोडी हुन् बीरगंजका सन्देश प्रसाद र चञ्चला कुमारी । उनीहरुले पनि विवाहमा दाइजो लिएनन् । उनीहरुको भनाई छ, ‘दाइजोले कोही धनी भएको छैन, हुँदैन पनि, यो पहिलेदेखि नै समाजमा चलीआएको विकृति हो, यो विकृतिलाई हरेक मान्छेले घरबाटै शुरुवात गर्ने होभने समाजबाट हट्छ ।’
यी केही उदाहरण मात्रै हुन् । पछिल्लो समय पढेलेखेका युवा युवतीहरु दाइजो नलिई विवाह गरिरहेका छन् । मधेसको समाजमा मोलतोल गरेर दाइजो माग्ने विकृतिलाई चुनौती दिइरहेका छन् । छोरीलाई विवाहका लागि दाइजोको जोहो गर्नुभन्दा पनि शिक्षा दिनु पर्ने कुरामा उनीहरुले जोड दिइरहेका छन् ।
अहिले पनि महिलाले दाइजो नल्याएका कारण जिउँदै जलाउने, एसिड् छ्याप्ने, मानसिक रुपमा यातना दिने, घरबाट निकालिने जस्ता थुपै समस्या भोगिरहेका छन् । छोरीलाई यस्तो समस्या हुने भएकाले शिक्षित परिवारमा पनि बुझाउन समस्या भइरहेका बेला पछिल्ला यी घटनाले केही राहत पुग्ने देखिन्छ ।
शिक्षित परिवारले त दाइजो लिनु र दिनु राम्रो होइन् भन्ने कुरा धेरै पहिलेदेखि नै बुझिसकेका थिए । यो कु–प्रथा हो र यसलाई हामीले नै न्यूनिकरण गर्नु पर्छ भन्ने कुरालाई आफ्नै जीवनबाट सुरु गरेका केही उदाहरण पनि छन् । त्यस्तै उदाहरण मध्येका एक हुन् जनकपुरका सामाजिक अभियन्ता धीरेन्द्र प्रेमर्षी र रुपा झा ।
२६ वर्षअघि दाइजो नलिई विवाह गरेका धीरेन्द्र र रुपाको सोंच यही थियो कि, हामीले यो दाईजो प्रथालाई हटाउनु पर्छ । र समाजमा हामीले गरेको विवाहले सकारात्मक सन्देश जान्छ । शिक्षित परिवारमा हुर्किएका धीरेन्द्रले आमा बुवाको निर्णयभन्दा पनि आफ्नै निर्णयले म दाईजो नलिई विवाह गर्छु भनेर योजना बनाउनुभएको हो ।
उहाँले भन्नुभयो ‘दाइजोको नाममा मैले माया, प्रेम, स्नेह, साथ र सहयोग लिएर गएको हुँ । कुनै पनि पुरुषका लागि यो भन्दा ठूलो केही नगद र जिन्सी सामान हुन सक्दैन । जुन कुराको अहिले पनि अलि बढी नै महत्व दिने गरिन्छ ।’
आफ्नो विवाहको क्षणलाई सम्झदै भन्नुभयो, ‘मलाई दाईजो नलिई विवाह गर्छु भन्दा मेरो आमा बुवालाई कुनै पनि समस्या भएन र मैले बुझाउनुभन्दा पनि मेरो परिवार शिक्षित भएकाले कुनै संकोचबिनै विवाह गर्न सफल भएँ ।’
धीरेन्द्रको घरमा एकजोर लुगा र थोरै कोशेली बोकेर गएकी रुपालाई पनि यो कुराले त्यति समस्या पारेन । दाइजोबिना म विवाह गर्छु भन्दा उहाँका आमा बुवालाई भने चिन्ता थियो । तर उनीहरुको चिन्तालाई रुपाले खुशीमा परिणत गर्न सकेकै कारण यो विवाह सफल भयो ।
अहिले पनि सामाजिक कार्यमा सक्रिय रुपा भन्नुहुन्छ, ‘यो प्रथा कसरी सुरु भएको हो भन्नेतिर लाग्नु भन्दा पनि त्यसलाई कसरी अन्त्य गर्न सकिन्छ भन्नेतर्फ जोड दिनुपर्छ । जसरी हामीले हाम्रो परिवारलाई दाइजो नलिई विवाह गर्छाैँ हामी खुशी छौं भनेर सम्झाउन सक्यौं त्यसरी नै सबै विवाह गर्ने जोडीले आफ्नो परिवारलाई सम्झाउन सक्नु पर्छ ।’
परिवर्तन आफ्नै घरबाट सुरु गर्नुपर्ने उहाँहरुको अनुभव छ ।
तर पनि दाइजोका कारण मानसिक तथा शारिरीक हिंसा खेप्ने र ज्यान गुमाउने महिलाको संख्या भने बढ्दो छ । वैशाखमा मात्रै पर्सामा दाइजोका कारण एक युवतीले ज्यान गुमाएकी छन् । अझ भन्ने हो भने त धेरै महिलाहरु दाइजो नलिएका कारण श्रीमानबाट जलाईएका छन् ।
दाइजोको कारण जलाइएका महिलाहरु कति त फेरि पनि श्रीमान्सँगै बसिरहेका छन् भने कति माईतीको सहारामा दिन गुजारी रहेका छन् । उनीहरुको दैनिकी दर्दनाक छ ।
उनीहरुले समयमै उपचार नपाउँदा स्वास्थ्यमा समस्या भइरहन्छ भने काम गरेर खान नसक्ने भएकाले दैनिक चलाउन धौ धौ परिरहेको छ । जलाइएका महिलाहरुलाई उपचारका लागि सरकारले सहयोग नगर्ने भएकाले आफैं पैसा जुटाउनु पर्ने बाध्यता छ । पैसा जुटाउन नसकेर धेरै महिलाहरु रोग पालेर बसिरहेका छन् ।
त्यस्तै, परिवारको किचलो र माईतीको पनि सहयोग नपाएर कतिले आत्महत्या समेत गर्ने गरेका छन् । प्रहरीको तथ्यांक हेर्ने हो भने पर्सा जिल्लामा मात्रै चालु आर्थिक वर्षमा दाइजोका कारण २६ जना महिलाले आत्महत्या गरेका छन् ।
त्यस्तै अग्नि हिंसा पीडित नेपालले सन २०१० देखि १८ को जनवरी सम्म ८ वर्षको अवधिमा गरेको सर्वेक्षणले दाइजो र बोक्सीको विवादमा एक सय ७९ जना महिला र बालिका एसिड छ्यापेर जलाइएका घटना सार्वजनिक गरेको छ ।
(रेडियो कार्यक्रम ‘खुल्ला धरती, खुल्ला आकाश’बाट )
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...