माझी बस्तीमा नयाँ घर, खुशीको बहारभन्दा दु:खको कहर
- Posted: Monday, Apr 09, 2018 08:16 AM ( 3 years ago )
– सुनिता पहरी
छिप्पिंदै गरेको गर्मी र हुरीबतासकाबीच रामेछापको मन्थली नगरपालिका अन्तरगत तामाकोशी तीरमै पर्ने माझी गाउँ पुग्दा स्थानीयबासिन्दालाई घर बनाउने चटारो थियो । तामाकोशीको किनारैकिनार बनाइएको कच्ची बाटोमा ट्याक्टरलाई सिमेन्ट, गिटी र पानी ओसार्न भ्याइनभ्याई थियो ।
भूकम्प प्रभावितलाई घर बनाउन सरकारले दिएको अनुदानबाट घर बनाइसक्नुपर्ने समयसीमा सकिन लागेपछि हतार हतारमा बन्दै थिए ‘भूकम्पका घर’ ।
भूकम्पले भत्काएपछि बन्दै गरेका घरलाई बस्तीमा आफ्नो घर भन्दा पनि भूकम्पको घर भन्दा रहेछन् ।
माझी बस्तीमा भूकम्पको चौथो वर्ष लाग्नैलाग्दा पुनर्निर्माणले केही गति लिएको रहेछ । १२ वर्षदेखि राम्ररी पानी नपरेर खडेरी परेको मन्थलीमा घर बनाउन पानी मुख्य समस्या बनेको पाइयो । घर बनाउने पानी त दुखमसुखम जुट्ला तर पानी र माछासँगै जोडीएको माझी समुदायको पेसा त लगभग लोप नै भैसकेको उनीहरुले गुनासो गरे ।
जसका कारण प्रकृतीले लगाइदिएको पानीको मात्र होइन आम्दानीको पनि खडेरी परेको छ । त्यसैले नयाँ घर बनाउने कुराले उनीहरुका लागि खुसीको बहारभन्दा त्यसका लागि चाहिने ऋण दुखको कहर बनेको छ । सरकारले दिने अनुदानको रकम नपाइएला भनेर पनि घर बनाउनुपर्ने तर त्यतिले मात्र खर्च नपुग्ने हुँदा बाँकी खर्चको जोहो कसरि गर्ने भन्ने चिन्ता मुख्य रहेको उनीहरुले बताए ।
तामाकोशीको किनारमा महिला गिटी कुटिरहेका भेटिन्छन् । उनीहरु ढलानवाला घर बनाउन आवश्यक पर्ने गिटीको जोहो गरिरहेका हुन् । बस्तीका महिला, केटाकेटी गिटी कुट्न व्यस्त हुँदा पुरुषहरु भने भक्तपुरका इट्टा भट्टामा काम गर्न हिडेको चार महिना पुग्न लागेको रहेछ । उनीहरुले बनाएका इट्टाले पक्कै पनि धेरैका घर बनिसके होलान् तर त्यसबापत पाउने ज्यालाले कहिले उनीहरुको घर ठड्याउन पुग्ने हो थाहा छैन ।
भूकम्पले भत्काएको आफ्नो घर बनाउन आवश्यक पर्ने पैसा ऋण खोजेर व्यवस्थापन गर्ने उनीहरुको तयारी छ । तर ऋण र त्यसको चर्को ब्याज तिर्ने बाटो भनेको ज्याला मजदुरी नै हो । त्यसबाट जुट्ने पैसाले घर खर्च कटाएर ऋण र ब्याज तिर्न कति वर्ष लाग्छ भन्ने कुनै टुंगो छैन ।
माझी बस्तीमा भूकम्पपछिको पुननिर्माण त ढिलोचाँडो सकिएला तर त्यसको ऋणले उनीहरुका बाँकी धेरै हिउँद बर्षा सकसको चाङले थिलथिलो हुने भने निश्चित जस्तै छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...