MENU

समाज

ujyaalo forign call inside

भूकम्पमा हराएको छोराको पर्खाइमा वर्ष बित्यो, खबर नआउँदा परेला अझै ओभाएनन्

सुजाता खत्री/उज्यालाे ।

भक्तपुर, वैशाख ११ – ‘उ सधैं मेरो सपनामा आउँछ, हामी यहि घर बनाउनुपर्छ आमा, यहि ठाउँ राम्रो छ भन्छ’ कापेको स्वरमा उहाँ भन्नुहुन्छ, ‘मरेको भए किन यस्तो भन्नेथियो होला र !’ अनन्तलिंगेश्वर नगरपालिका-१० दधिकोटकी ४८ वर्षे मञ्जु खड्कालाई लाग्छ भूकम्पमा हराएका उहाँको छोरा सबिन खड्का फर्केर आउँछन् । सपनामा आफ्नो छोरा घर आएको देखेर मञ्जुले विपनामा छोरो घर आउने बाटोमा आँखा तन्काएको एक वर्ष भयो । तर अहिलेसम्म न त सबिन घर आएका छन् न त उनको कुनै खबर नै । 

गएको वर्ष भूकम्प आउँदा नेपाली सेनाका सहसेनानी सबिन खड्का रसुवाको लाङ्टाङ्मा ड्युटीमा खटिएका थिए । भूकम्पले लाङ्टाङ्मा हिमपहिरो आएपछि खड्काको अत्तोपत्तो छैन । हिम पहिरोले सेना बस्ने ठाउँ नै बगाएको थियो । जहाँ सबिनसहित १० जना सैनिक हराइरहेका छन् । 

‘खाना त रुच्दैन तरपनि म कर बलले खान्छु, छोरा फर्केर आउने बेलासम्म म बाँच्नु पर्छ’  मञ्जु भन्नुहुन्छ, ‘चिना देखाउँदा ज्योतिषीले उसलाई केहि भएको छैन, त्यहाँबाट बाहिर निस्केर अन्त पुगेको छ भनेका छन्,  उ जुन घरबाट गएको हो, त्यहिँ आउछ भनेका छन् ।’

झण्डै २ सय जना ज्योतिषीसँग पुगेकी मञ्जुलाई तिनै ज्योतिषीले बताएको भविष्य नै बाँच्ने आधार बनेको छ । आमा मञ्जुलाई ज्योतिषीले छोरा उत्तरी क्षेत्रमा पुगेको छ भनेकोले खोज्न पाए भेटिन्थ्यो जस्तो लाग्छ । तर खोजी गर्ने निकायले आज, भोलि भन्दा भन्दै एक वर्ष वितिसकेपछि उहाँलाई सार्है चित्त दुखेको छ । 

आफूहरुका एक मात्र सन्तान सबिन हराएपछि मञ्जुमात्र होइन, उहाँका श्रीमान देवराज खड्का पनि पीडामा हुनुहुन्छ । आफ्नो क्षमताले भ्याएको जति प्रयास गर्दा पनि छोराको खबर नपाएपछि निराश भएका देवराजलाई मञ्जु हिम्मत दिँदै सम्झाउनु पनि हुन्छ । 

‘मेरो सहारा भनेको नै त्यहि एउटा छोरा हो, अर्को सन्तान भएको भएपनि म चित्त बुझाउँथे होला ।’ गालामा बगिरहेको आँसुलाई चोलाको बाहुलाले पुछ्दै मञ्जुले भन्नुभयो ‘भगवानले हामीलाई साथ दिएर नै छोराको राम्रो भएको थियो, मैंले अझै आशा मारेकी छैन ।’ 

सबिन २०७२ को शिवरात्रीमा घरबाट निस्केका थिए । मञ्जुले छोरासँग अन्तिम पटक वैशाख ७ गते कुराकानी गर्नुभएको थियो, त्यसपछि मञ्जुले छोराको आवाज सुन्न पाउनु भएको छैन । ‘टावर ढलेको छ ममी, मेरो मोबाइल पनि बिग्रेको छ भनेको थियो’ एक वर्षअघि छोरासँग भएको फोन संवाद सम्झिँदा उहाँको गला अवरुद्ध भयो ।

छोरासँग अन्तिम पटक कुरा गर्दा देवराज खड्कालाई ज्वरो आएको थियो । छोराको काममा बाधा पार्नु हुन्न भनेर देवराजले पनि बिरामी भएको कुरा छोरालाई भन्न चाहनु भएन । बुबा विरामी भएको खबर छोरालाई नसुनाएकोमा मञ्जुलाई पछुतो छ ‘त्यतिखेर बुवा बिरामी छन् भनेको भएपनि छुट्टि लिएर आउथ्यो होला तर भनिन, यस्तो होला भनेर मलाई के थाहा ?’  छोरासँग कुरा भएको ५ दिन पछि गएको भूकम्पले मञ्जु र देवराज बस्दै आएको घर भत्कियो । आर्मी आएर घर पन्छाइदिए । ‘सबैको यस्तै हो, अरुका छोरा आएर हाम्रो उद्धार गरे, हाम्रो छोरा पनि कसैको उद्धारमा होला भन्ने ठानेर हामीले छोरालाई फोन पनि गरेनौं’ देवराज भन्नुहुन्छ, ‘हामीले हाम्रो छोरा हराएको त १५ गतेमात्र थाहा पायौं ।’

छोरा हराएको थाहा पाउने वित्तिकै बिरामी देवराज सैनिक हेडक्वाटर जानुभयो । त्यहाँ गएर बुझ्दा लाङटाङमा खटिएका कसैसँग पनि सम्पर्क नभएको थाहा पाएपछि देवराज छोरा खोज्न आफैं लाङटाङ हानिनुभयो । डाँडा नै खसेको त्यो गाउँमा जाने बाटो नै नभएपछि उहाँ फर्कनुभयो ।

‘मलाई भीर काटेर जान दिएनन्, अक्सिजन पुग्दैन भने, जिद्दी गरेर जान खोजेको तर भीर कटेर जाने कुनै बाटो नै भेटिँन’ छोराको खोजीका लागि ५ पटक रसुवा पुगेका देवराजले भन्नुभयो ‘आर्मीले राम्ररी खोजेनन् कतै ढुंगाको च्यापमा पो बसेको छ कि, झाडीमुनि पो बसेको छ कि जस्तो लाग्छ ।’ सेनाले हेलिकप्टरमा राखेर पनि उहाँलाई छोरा खोज्न लगेको थियो । तर पनि उहाँलाई छोराको खोजीमा चासो नै दिएका छैनन् कि जस्तो लाग्छ ।

मुना मदनको सम्झना

मुनामदनको कथामा भोटबाट कमाएर फर्किएका मदन बाटोमा नै विरामी पर्छन् । विरामी मदनलाई एक जना भोटेले घर लगेर उपचार गर्छन् र पछि निको भएर मदन घर फर्किन्छन् । सबिन पनि मदनकै हालतमा पो छन् कि भन्ने लाग्छ फुपु दिदी बाटुली थापालाई । ‘दिमाखमा चोट लागेर सबै भुल्यो कि ?’ उहाँ भन्नुहुन्छ, ‘खोजी राम्ररी गरेको भए भेटिन्थ्यो होला ।’

सबिनको छिमेकमा रहेकी फुपू दिदी बाटुलीलाई भाइ र बुहारी अवस्थाले मुटु पोलेर आउँछ, । ‘बिहान बेलुकी जहिले पनि दुवै रोएर बसेका हुन्छन्’ थापा प्रश्न गर्नुहुन्छ ‘मैले के भनेर सम्झाउनु ?’ 

क्यानडाको भिसा नलागेपछि सेनाको जागिर 

लाङटाङमा हराउने सबिन खड्काले क्यानडाको भिसा नलागेपछि नेपाली सेनाको उप सेनानीमा नाम निकालेका थिए ।खड्काले विरेन्द्र सैनिक आवासीय विद्यालयबाट एसएलसी दिएर शंखरदय कलेजमा स्नातक तहसम्म अध्ययन गरेका छन् । छोराको प्रगति देखेर रमाएका बावुआमाले छोरा वेपत्ता होला भन्ने कहिल्यै सोचेका पनि थिएनन् । नसोचेको विपत्तिमा परेका खड्का दम्पत्तिलाई पहिला पहिला सैनिक मुख्यालयबाट आउने फोनले आड भरोसा थियो । ‘पहिले पहिले त ब्यारेकबाट के छ ? कसो छ ? भनी सोधखोज गर्थे’ देवराज भन्नुहुन्छ ‘तर हिजोआज कसैले फोन नि गर्दैनन् ।’ 

आफन्तले पनि अहिले चासो दिन छाडेका छन् । पहिला पहिला दैनिक भेट्न आउने र सोधखोज गर्ने नातेदार अहिले पातलिएका छन् । जसले उहाँहरुलाई विरक्त बनाएको छ । खड्का दम्पत्ति एक स्वरले भन्नुहुन्छ ‘छोरा हुन्जेल सबै थिए, अब कोहि छैनन् ।’ 

सबिनसँग कुरा गर्ने मञ्जुको सिडिएमए मोबाइल फोन बिग्रिएको छ । धेरै प्रयास गर्दा पनि फोन बनेन । उहाँलाई छोराले त्यहि नम्बरमा फोन गर्‍यो होला जस्तो लाग्छ । आफ्नो छोराको प्रतिक्षामा बसेकी मञ्जु भन्नुहुन्छ ‘उसको निधार ठूलो छ, गालामा खत छ, बिरामी भेटेर कसैले पालेको भए, हामीसम्म ल्याइदिनुस न है ।’

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया