• सुझाव प्रतिक्रिया पठाउनुहोस

    तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

  • देशमा रोजगारीको अवसर भए हामीले अर्काको देशमा गाली खान पर्दैन थियो होला। रोजगारको सिलसिलामा कतिपय नेपाली लास बनेर नेपाल फर्कन्छन । तर सरकारलाई यस्ता विषयमा चासो छैन। म जस्ता हजारौ युवा  रोजगारी खोज्दै खाडीका देशहरुमा छौं। मरुभुमिको तातो घाममा काम गर्नुपर्दा कुन जुनिको पाप भोक्दै छु जस्ते लाग्छ। समयले मलाई धोका दियो। 

    मातृका चाम्लिङ/ मलेसिया

  • मैले दुवईमा फाइभ स्टार होटलमा काम पाएर पनि दूतावासको लापरबाहीका कारण श्रम स्वीकृति गरेर  जान सकिन। र दुई महिने इन्ट्री  भिसा रद्द भयो। मैले लगभग ६० हजार जति खर्च गरें। तर पनि मेरो श्रम स्वीकृति हुन सकेन। चाहिने जति सबै डकुमेन्ट आबुधाबी स्थित नेपाली दूतावासबाट प्रमाणित गरेर मगाए तर एउटा डकुमेन्टमा  दूतावासले छाप चाहिन्न हामीले यसमा कसैको पनि छाप लगाएको छैन, तपाईंको यति भए पुग्छ भन्यो। तर जब डकुमेन्ट नेपाल  आयो श्रमले यसमा पनि छाप लगाएर ल्याउनुस नत्र हुदैन भन्यो। यति हुँदा हुदै मेरो भिसाको मिति सकियो। यस्तो दु:ख कसैलाई नपरोस। सम्बन्धित निकायको ध्यान जाओस।

    वालिका कुँवर

  • विदेशमा आफ्नो ज्यान भन्दा पैसा ठूलो ठानेर गधा जस्तो दु:ख गरेर कमाएको पैसाले फर्किदा आफ्नो घर परिवार आफन्तलाई घरायसी/ व्यक्तिगत प्रयोजनको सामान ल्याउदा सरकारले यसरी पैसा लिँदा कुन नेपाली दाजुभाइलाई राम्रो लाग्छ ?  रातारात भन्सार छलेर सामान ल्याउने व्यापारीहरूलाई चाहि वास्ता नगर्ने ?

     

     

  • नेपाल सरकारले इजरायलको काम किन ठप्प पारी बसेको होला। एक बर्ष बितिसक्दा पनी मान्छेलाई अल्झाउने काम मात्र किन गरेको होला। छिटो रोजगारी खुलाउने ब्यबस्था गरे पनी त हुन्थ्यो। 

  • म एउटा प्लास्टिकको सामान बनाउने कम्पनीमा काम गरिरहेको छु। यो कम्पनी केलाङ मेरु सेलेङ्गरमा पर्छ। कामदारले काम अनुसारको दाम पाउँदैनन। कम्पनीमा खाना बनाउन दिँदैन । बाहिरबाट किनेर खानु पर्छ। त्यै पनि कहिलेकाहि खाना किन्न लगेको पैसा तामिलले लुटिदिन्छ । लुटे मात्रै हुन्थ्यो नि, कुटपिट पनि गर्छ। होस्टेलमा नुहाउन धेरै असुविधा छ। मेडिकल जाँच भनेर पैसा काट्छ । तर बिरामी हुँदा उपचार गर्दैन। काममा जान सकिएन भने सेलराबाट पैसा काटिदिन्छ। नेपालमा म्यानपावरका मान्छेले के काम हो, के सुविधा छ भन्ने कुरा नढाँटी भनिदिने हो भने हामीहरु यसरी रुँदै काम गर्नु पर्ने थिएन।

    राजेश रिमाल, मलेसिया

  • युएईमा पिएसबिडि सेक्युरीटि गार्डको नयाँ भिसामा आउन लाग्नु भएका साथीहरु सजक रहनु होला। अहिले यहाँ नियम परिवर्तन भएको छ। पहिला जस्तो सजिलो छैन परिक्षा पास गर्न। नेपालमा म्यानपावरले भने जति रकम नदिनु होला। अहिले एनएसआईको ट्रेनिङ एकदम गार्‍हो भएको छ।

    युवराज श्रीस /युएई

  • कल्पनाको सागरमा डुबीरहन्छ परदेशी, मुटुभरी देशको माया अनि, आँखा भरि सुनौलो सपना !!

    धन कमाउन हिडेको परदेशीको मन भित्र सधै यस्तै-यस्तै कल्पना !!!

    मरुभूमिको गर्मि अनि यहाको दैनिकी , भनेर कहाँ साध्य छ !!

    अफ्नाहरुसंग टाढा रहेर ,पराइहरुसंग हातेमालो गर्न बाध्य छ !!!

    आमाको न्यानो काख अनि , बुबाको अटुट मायाले झस्काईदिन्छ !!

    आफ्नै पाखा अनि भीरहरुमा घास, दाउरा अनि मेलापात गरेको आभास भैदिन्छ !!! 

    राजेन्द्र चन्द /मटेला ४ सुर्खेत (हाल मलेसिया)

  • सरकारले फ्रि भिसा फ्रि टिकट निति ल्याएको छ। यो निकै महत्वपूर्ण निति हो। तर म्यानपावर कम्पनीले कार्यान्वयन नगरिरहेको कुरा प्रति सरकारले कति जनालाई कार्वाहि गरेको छ ? सरकार आफैले ल्याएको निति निर्देशनलाई आफैले रक्षा गर्न सक्नुपर्‍यो। नभए म्यानपावर कम्पनीहरुले भने जस्तै एक महिना बराबरको तलवमा सहमति गरेर नगद रकम बुझाउनुपर्ने बाध्यात्मक परिस्थिति बाट बच्न सकिन्थ्यो कि ?

    विनायक नेपाली/ दाङ

  • मेरो घर  कपिलबस्तु वुद्ध बाटीका १४ हो। म स्कुलमा अध्यनरत थिए। संगै पढ्ने साथिहरु विदेश गएर पैसा पठाएको देखे पछि मलाई विदेश जान मन लाग्यो। पासपोर्ट बनाएर काठमाडौं गए। जब स्पोट म्यानपावरबाट इलेक्ट्रिक हेल्पर कामको लागि राम्रो पैसा छ भनेर मार्च १६ मा मलेसिया उडें। मलेसियाको एयरपोर्टमा १२ घण्टा कुरे पछि बल्ल कम्पनीको मान्छे लिन आयो। इलेक्ट्रिक हेल्पर भनेर मलाई लेवरको काम दियो। म अहिले किहिङ् इलेक्ट्रिक (Kee Hing Electric) कम्पनीमा कन्सट्रक्सन वर्करको रुपमा काम गरीरहेको छु।

    माधव अधिकारी/ कपिलबस्तु (हाल मलेसिया)

  • मेरो भोगाइमा  साउथ कोरियामा  काम गर्न त्यती सजिलो छैन। अरु मुलुक जस्तो  काम गरे बापतको पैसा नपाउने त हुदैन।  तर सबै अधिकारहरु साहुलाई मात्रै हुने भएकोले काम गर्दा  साहुले कुटपिट गर्ने देखी लिएर मानसिक  तनाव दिने काम पनि कोरियामा ब्याप्त नै छ।   अहिले सम्म भएका  आत्महत्याका केसहरुमा  केहि कारण साहुले गर्दा पनि हो।  राम्रै कमाई हुने कोरियामा  बाहिरी बातावरण र   सुरक्षा  राम्रै भए पनि  कार्यस्थलमा हुने मानशिक र शारिरिक यातनाले गर्दा हामीहरु पीडित छौं।  नेपाली दूतावासले  हाम्रो मर्म बुझी दिएर उचित सहयोग गरेको खण्डमा यस्ता घटनाहरु स्वत कम हुने थिए कि? 

    मधुसुदन ओझा / दार्चुला (हाल साउथ कोरिया)

  • रहरले भन्दा नि बाध्यताले नै धकेल्ने गर्छ विदेशमा युवालाई। नेपाल सरकारले फ्रि टिकट, फ्रि भिसाको राम्रोसँग कार्यान्वयन गरेर पठाउनु पर्छ। नेपालका म्यानपावरले गलत तरिकाले पठाएको पाइए कडा कारवाई गर्नुपर्छ। श्रम बनाउने ठाउँमा पनि युवा पीडित भएकाछन्। भाषा अधिकृतको हस्ताक्षर लिने र छाप लगाउने ठाँउमा ७/८ सयको दरले रकम बुझाए काम छिटो हुने र लाइन बस्न नपर्ने भन्दै त्याहाँको कर्मचारी र दलालको मिलोमतोमा धेरै युवा ठगिएका छन्। 

    नारायण प्रसाद

  • सन् २००७ को फेब्रुवरीमा झोला बोकेर दुवई हानिए टन्नै सम्पती कमाएर ल्याउने र एउटा घर बनाइ व्यवसाय गरेर बस्ने लक्ष्य बोकेर। तर उता कमाएको पैसाले कति नै पुग्थ्यो र? बसुन्जेल र सकुन्जेल त कमाइएला तर शरिरले साथ छोडेपछी र घर फर्किए पछि गर्ने के त भन्ने समस्याले सताइ रहन्थ्यो। ६ महिनाको छोरो छोडेर विदेश गएको म। तीन बर्ष पछि छुट्टी आउदा अलि अलि बोल्न थालेको थियो र भन्थ्यो "ठूलो भएर म पनि विदेश जान्छु।" मलाई छोराको यो बोलिले ज्यादै प्रभाव पार्यो। ठूलो भए पछि चाहिँ विदेश जानै पर्ने रहेछ भन्ने छाप उसमा परेको देखेर मैले तत्काल सोचमा परिबर्तन गरे। मरो साथी प्रकाश पौडेलले बाटो देखाउनु भयो। उहाँकै साथमा लागेर काठमान्डौंको न्युरोडमा जुत्ता चप्पलको होलसेल गर्न लागेँ। अहिले यहि पसलले नै मेरो परिवार खुशीले पालेको छ। न कसैले केही भन्ला भन्ने डर न परिवारसँग बिछोडिनुकै पिर । हृदय देखि नै धन्यबाद छ मेरा आँखा खुलाइदिने प्रकाश पौडेललाई !

    महेश भट्टराई/ जमुना गाबिस, इलाम

  • म यहाँ आएको २० महिना भयो। यो २० महिनाको अन्तरालमा जति पनि नेपाली साथीहरुसँग भेट भयो सबैजसो साथीहरुले भन्ने गर्छन नेपालको सम्झौता पत्र अनुसार तलब पाको  छैन। अब घर फर्कु भने पनि कसरी फर्कनु  ७०/८० हजार ऋण लगाएर आएको छु ।

    राज कुमार चौधरी/ दोहा, कतार

  • विदेशमा त पैसा रुखमै फल्छ ,रुखबाट टिप्ने हो भन्ने सोच बोकेका हामीले विदेश जानुपूर्ब धेरै सपना देखेका हुन्छौ। तर विदेश पुगेपछी कडा मेहनत गरि अर्काको भुमिमा जति पसिना बगाएपनी भने जस्तो तलव पाइदैन। त्यसमा पनि नेपालीलाई लुट्ने, ठक्ने धेरै भएकाले सपना सपनामै सिमित हुन्छन।

  • मेरो घर नुवाकोटको ककनी हो। अहिले म काठमाडौंमा छु। म सानै उमेर देखी दु:ख भोगेको मान्छे। धेरै पढ्न सकिएन। अहिले काठमाडौंमा मजदुरी गर्दै छु। घर बनाउने काम गर्दै छु। हाम्रो कामलाई सबैले हेला गर्छन्। तर जे भए पनि म आफ्नो काम प्रति खुशी छु। हामी नेपाली विदेश गएर जे काम पनि गर्छौं। तर अफ्नो देशमा मजदुरी गर्न लजाउछौं। म आनन्दले मासिक ३० हजार रुपैयाँ कमाउछु। ओभर टाइम गर्यो भने मासिक ४५ हजार हुन्छ। मैले यो काम गरेको सात वर्ष भयो। सबै राम्रो छ। घर परिवार धानेकै छु। म सन्तुष्ट छु मेरो कामबाट।

    सूर्य तामाङ/ ककनी

  • दलाललाई विश्वास गरेर होइन जान लागेको कम्पनीको बारेमा आफैले बुझेर जानुपर्छ। आफ्नो सिप र क्षमताको विश्वास गर्नुपर्ने हुन्छ। दलालले भनेकै आधारमा निर्णय गर्नु हुँदैन। उदाहरण म आफै हुँ। नौ सय ५० रिंगिटको कागज गरेर आएको थिएँ। अहिले दुई हजार भन्दा बढी तलब छ। 

    दिपक रिजाल/ मलेसिया

  • मेरो नाम कृष्ण हो। मेरो घर पर्वत देवीस्थान हो। मैले आइ कम पास गरेको छु। म कतार आएको आठ बर्ष पुग्यो। म लेबर भिसामा आएको हुँ। पहिला यहाँको काम, दाम र बसाई देखेर निकै अत्यार लाग्थ्यो। अहिले सबै राम्रो छ। क्याम्पको इन्चार्ज छु। मैले विदेशमा बेच्ने भनेको इमानदारिता नै हो। अहिले खर्च कटाएर मासिक सत्तरी हजार बचत हुन्छ। पैसाले त कहिल्यै पुग्दैन तर सन्तोष छ। सक्रिय हुन सके अरु पनि आम्दानीका स्रोत छन्। प्राय कम्पनीमा इमानदारी र धैर्य भएर काम गरे तलब वृद्धि हुन्छ। सबै आफूमा भर पर्छ। 

    कृष्ण/ देबिस्थान, पर्वत

  • म १४ महिना देखि कतारको एउटा सेक्युरिटी कम्पनीमा 'डेटा एनलिस्ट'को काम गर्छु। सामान्यतया यो काम गर्ने हरेकको तलब कतारी रियाल पाँच हजारसम्म हुन्छ। म सँगै काम गर्ने अरु देशका साथीहरुको तलब पनि चार हजार भन्दा माथि छ। समान काम गरेर पनि मेरो तलब, कम्पनीले अरुको तुलनामा आधा मात्र दिएको छ। अनि तलबको कुरा गर्यो भने कम्पनीले बाहिर घाममा काम गर्न पठाउन सक्छ। म यहाँ सुरक्षा गार्डको भिसामा आएको हुँ। तर मेरो कम्प्युटर सम्बन्धी ज्ञानले गर्दा काम गर्न सक्छु भनेर अन्तरवार्ता दिएर अहिलेको काम पाएको हुँ। काम सजिलो भएपनि जिम्मेवारी धेरै हुन्छ। अनि समान काममा असमान व्यवहार भैरहेको छ। तेरो देशको दूतावासले केहि गर्न सक्दैन भनेर हामी नेपालीलाई असमान व्यवहार गरिन्छ। असमान तलबको कारण अब आफ्नै देश फर्किने बारे सोच्दैछु। नेपालमा हाम्रो लागी कामको वातावरण कहिले बनाईदिने सरकार ?

    आकाश मोक्तान/ कतार (इमेल)

  • काठमाडौंको तिनकुनेमा रहेको स्पेल्नडिड  र त्रिपुरेश्वरमा रहेको अल जाफर म्यानपावरले झुठो आश्वासन देखाएर साउदी अरब पठाउने गरेको छ। मलाई पनि स्पेल्नडिड म्यानपावरले कफी सपमा काम हो भनेर पठाएको हो। तलब १२ सय ५० रियाल र दैनिक १० घण्टा काम भनेको थियो। साउदी आए पछि थाहा भयो कि म आएको कम्पनीले कामदार सप्लाई गर्दो रहेछ। काम चाहिँ बाहिर घाममा फलाम उचाल्ने रैछ। यसरी नै अल जाफर म्यानपावरले ३५ जना नेपाली दाजुभाइलाई पठाएको रहेछ। हामीले नेपाली दूतावास र म्यानपावरमा फोन गर्यौ। आफूहरु काम गर्न नसक्ने र नेपाल फिर्ता गर्न अनुरोध गर्यौ। हाम्रो कुरै सुनेन। उल्टै मरे मर नेपाल फिर्ता गर्न सक्दिन भन्यो। हामीले ६ महिना बाध्यताले काम गर्यौ। तलब पनि पाएनौं। म्यानपावरमा हामी सबैले एक लाख १५ हजार रुपैयाँ भन्दा माथि तिरेको छौं। तलबै नपाएपछि कम्पनी  छोडेर भाग्नु पर्यो।

  • पुरा हुनै सक्दैनन् परदेशिका सपनाहरु। कैले महिना मर्छ यो महिनाको तलबले यो किन्छु त्यो किन्छु भनेर सपना बुन्यो, महिना मर्नै नपाई घरबाट फोन आऊँछ। कैले के समस्या कैले के, यस्तै समस्याहरु टार्दा टार्दै महिना बर्ष गर्दै परदेशमै आधा उमेर बित्छ। घर फर्किने दिन आउछ। तर कैले पुरा नहुने रहेछ दुखि परदेशिको सपना।

    तेज प्रकाश काफ्ले/इलाम (हाल युएई)

समाचार

View more

Radio Programs More