Total Hits: 20.9 K

​परदेशीका श्रीमतीलाई दोषी देख्ने कहिलेसम्म ?

रामकुमार थापा/धादिङ ।

एक महिलालाई कुटपिट भयो । घरबाट निकालियो । दुव्र्यवहार भयो । घरमा सम्मान पाइनन् भन्ने सुन्नुभयो भने तपाईं के सोच्नुहुन्छ ? धेरैलाई लाग्न सक्छ महिला नै गलत हुन् ।

अझ अहिले सामाजिक सञ्जालमा श्रीमान विदेशमा यता श्रीमतीले रमाइलो गरिन, दोस्रो बिहे गर्ने बढे भन्ने जस्ता अनेक समाचारका शिर्षक भेटिन्छन् । महिलाहरुकै कारणले समस्या निम्तियो, उनीहरु त्यस्तै हुन्छन् भन्ने सोच आज हैन समाजमा  हिजैदेखिको हो । 

श्रीमान् परदेश गएपछी श्रीमतीलाइ हेर्ने दृष्टिकोण फरक भइहाल्छ । जाने बुझेका मान्छेले नै फरक व्यवहार गर्न थाल्छन् । यस्तै कारणले पनि हिजोआज विदेश जानेका घरमा मनमुटाव भएको देखिन्छ । कारण जे होस् तर दोषी महिलालाई नै देखाउने चलन जस्तै भएको छ । 

यस्तै कारणले कति महिलाहरुले आत्महत्या गरेका छन् । कति महिलाहरु घरबाट निकालिएका छन् । हत्या भएको छ । कतिले मानसिक सन्तुलन गुमाएका छन् ।
मनोसामाजिक परामर्शकर्ताको रुपमा धादिङमा रहेर काम गरिरहँदा मैले यस्ता समस्याहरु धेरैको घरमा भेटेको छु । ‘महिलाले यति त सहनु पर्‍यो, यस्तै हुन्छन, उस्तै हुन्छन’ भन्नेहरु धेरै भेटेको छु ।

सबैले समस्यामा परेकी महिलालाई गरेको व्यवहार देख्दा मनमा प्रश्न उब्जिन्छ ‘के प्रत्येक समस्याको कारण महिला मात्र हुन् ?’

घरमुली पराइदेशमा हुँदा घर सम्हाल्न गति गाह्रो होला ? एकातिर समाज र आफन्तकै व्यवहार अर्कातिर घरव्यवहार । सुखदुःखमा साथ दिने श्रीमान् परदेश हुँदा महिलालाई भावनात्मक रुपमा कति असजिलो हुन्छ होला ? त्यसमाथि घर परिवार र समाजले अनेकाै बाहाना र लान्छनाले अप्ठेरो बनाउने गर्छन् । 

एकैछिन महिला भएर सोचौं त ? सबैकुरा उनीहरु कसरी सहन्छन् होला ? हामीले सुनेजस्तो महिलाको सहने शक्ति बढी भएर हैन बध्यताले सहेका हुन् । र, सहन बाध्य बनाइएको हो ।

आफन्तसँग टाढा हुँदा घरका मानिसदेखि विदेशमा हुनेहरु समेत मिलेर काम गर्नुपर्छ । भावना बुझ्नुपर्छ । भावनात्मक सहयोग गर्नुको सट्टा सबैले महिलालाई नकारात्मक दृष्टिकोणले हेर्दा तनाव बढी हुन्छ । 

कतिपयले त महिलालाई दबाएर नराखे मातिन्छन भनेर पनि अनेक व्यवहार गरेको देखिन्छ । अहिले त समय परिवर्तन भइसक्यो । पहिलेको जस्तो समय त छैन् । तर पुरुष मनोविज्ञान जति परिवर्तन हुनुपर्ने हो त्यो परिवर्तन भएको छैन । समयसँगै रहनसहन, चालचलन त फेरिए तर हाम्रा सोच त्यसरी फेरिएको छैन । 

महिला र पुरुष दुवैको भावना एउटै हो । पुरुषलाई जे गर्न मन लाग्छ, महिलाई पनि लाग्न सक्छ । त्यसैले विदेशमा श्रीमान् भएका महिला हुन् वा श्रीमानसँगै भएका महिला हुन्, उनीहरुलाई हेर्ने दृष्ट्रिकोण फेर्नु पर्छ । गाउँघरमा सामान्यतया घरझगडा हुँदा सासु बुहारीबिच जति नराम्रो हुन्छ त्यती ससुरासँग भएको पाइँदैन ।

 त्यसैले महिलाले महिलालाई सहयोग गर्ने बानीको विकास गर्नुपर्छ । सुखदुःख साट्ने मान्छे नहुँदा सबैभन्दा गाह्रो हुन्छ । त्यसैले महिलाले महिलालाई सहयोग, माया र हौसला दिन  आवश्यकता छ । विदेशमा हुनेका श्रीमतीमात्र सधै दोषी हुन्छन् भन्ने हुँदैन् । महिलाका बारेमा सोच्ने तरिकामा परिवर्तन गरौं ।

(रामकुमार थापा, चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनामा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ ।)

  • आफ्नो कथा, तस्बिर र भिडियोहरु पठाउनुहोस्

    तपाईं कामका सिलसिलामा नेपाल बाहिर हुनुहुन्छ वा विदेशमा काम गरी फर्किनु भएको हो भने तपाईंको परदेश बसाईको अनुभव पठाउन आग्रह गर्दछौं । तपाईंले आफ्नो तस्बिर सहित पठाउनु भएका सामग्री हामी यहाँ राख्छौं । यसैगरी तपाईंले खिचेका सुन्दर र रोचक तस्बिरहरु तथा भिडियो पनि [email protected] मा इमेल गर्नुहोला । तस्बिर तथा भिडियो पठाउँदा आफ्नो नाम, हाल तपाईं बस्नुभएको ठाउँ, नेपालको ठेगाना र तस्बिर वा भिडियो कहिले, कहाँ खिच्नु भएको हो भन्ने जानकारी सहित पठाउनु होला । 

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More