MENU

समाज

ujyaalo forign call inside

सुध्रिएन सार्वजनिक संस्थानको अवस्था : कुन संस्थानको अवस्था के ?

काठमाडौं जेठ १४ – नेपालमा ३७ वटा संस्थानहरु सरकारको प्रत्यक्ष लगानीमा सञ्चालित छन् । तीमध्ये ११ वटा संस्थान वर्षौँदेखि घाटामा छन् ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आइतबार संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण प्रतिवेदनका अनुसार सरकारले यस्ता सार्वजनिक सस्थानमा आर्थिक वर्ष २०७३/७४ मा  ३ खर्ब १२ अर्ब लगानी गरेको छ । तर प्रतिफल भने पाउन सकेको छैन ।

अघिल्लो आर्थिक वर्षमा १३ वटा संस्थान घाटामा थिए । त्यसबेला ३५ वटा संस्थान सञ्चालनमा थिए । २०७४ सालको जेठमा राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र विद्युत उत्पादन कम्पनी गरि दुईवटा सार्वजनिक संस्थान थपिएसँगै संस्थानको संख्या ३७ पुगेको हो । 

यस्तै गएको वर्ष १७ वटा संस्थानले सञ्चित नोक्सानी व्यहोरेका थिए, यसपटक यो संख्या बढेर १९ वटा पुगेको छ । 

जनक शिक्षा चरम घाटामा 

सरकारी विद्यालयका पाठ्यपुस्तक छपाइ र आपूर्ति गर्ने मुख्य जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको हो । यसले अन्य विभिन्न विधाका पुस्तक पनि छपाइ र विक्रि पनि गर्दै आएको छ ।

तर यो संस्था सधैँजसो घाटामा छ । नोक्सानीका हिसाबले यो संस्था सबैभन्दा बढी घाटामा चलिरहेको छ ।

चालू आर्थिक वर्षको सर्वेक्षणअनुसार जनक शिक्षा सामाग्रीको घाटा ३१ करोड ६२ लाख पुगेको छ । आर्थिक सुशासन र व्यवस्थापकीय स्थिति चुस्त नहुँदा यो संस्थान हरेक वर्ष घाटामा गइरहेको हो । यो बाहेक दुग्ध विकास संस्थान, खानेपानी संस्थान, नेपाल औषधी लिमिटेड र नेपाल ओरियण्ट म्याग्नेसाइट लिमिटेड सबैभन्दा बढी घाटामा छन् । दुग्ध विकास संस्थानको नोक्सानी २१ करोड ३९ लाख छ भने नेपाल खानेपानी संस्थानको २० करोड ७९ लाख रुपैयाँ घाटा छ ।

त्यसैगरी नेपाल औषधी लिमिटेड १३ करोड ८७ लाख घाटामा छ । नेपाल ओरियण्ट म्याग्नेसाइट लिमिटेड यो वर्ष ११ करोड ९५ लाख घाटामा देखिन्छ । यी पाँचवटा संस्थानको मात्रै चालू आर्थिक वर्षमा ९९ करोड ६२ लाख घाटामा रहेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

सञ्चित नोक्सानीका हिसाबले नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालिको घाटाको अवस्था अग्रस्थानमा छ । चालु आर्थिक वर्षसम्ममा यसको सञ्चित नोक्सानी ४ अर्ब ४२ करोड ७२ लाख पुगे सर्वेक्षणले देखाएको छ ।

२०५८ सालदेखि खरिढुंगा उत्खननको काम बन्द भएपछि यो कम्पनीले कुनै व्यवसायिक उत्पादन गरेको छैन ।

जनक शिक्षाको सञ्चित नोक्सानी २ अर्ब ७ करोड ७४ लाख पुगेको छ । त्यसैगरी दूग्ध विकास सस्थानको खुद नोक्सानी ५४ करोड ९९ लाख पुगेको छ । खानेपानी संस्थानको सञ्चिती नोक्सानी १ अर्ब २० करोड लाख रहेको सरकारले जनाएको छ ।

नेपाल औषधि लिमिटेडको सञ्चित नोक्सानी १ अर्ब ४४ करोड ९९ लाख रहेको छ । चालु आर्थिक वर्षमा यसको सञ्चालन आय १५ लाख मात्रै छ । सरकारको प्रत्यक्ष लगानीमा सञ्चालित यस्ता संस्थानहरु निरन्तर घाटामा जाँदा सरकारलाई दोहोरो आर्थिक भार परेको छ ।

टेलिकम सहित २६ संस्थान र कम्पनी नाफामा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल आयल निगम, नेपाल बैंक लिमिटेडलगायत २६ वटा सरकारी संस्थान र कम्पनी भने नाफामा चलिरहेका छन् । गत आर्थिक वर्ष २०७३÷०७४ मा २३ वटा संस्थान नाफामा थिए भने यसपाली बढेर २६ वटा संस्थानहरु नाफामा गएको सर्वेक्षणले देखाएको छ । 

यसवर्ष नेपाल दूरसञ्चार कम्पनी अर्थात नेपाल टेकिलम खुद नाफा गर्ने संस्थानको अग्रस्थानमा छ । टेलिकमले चालु आर्थिक वर्षमा १५ अर्ब ३७ करोड २८ लाख खुद मुनाफा कमाउन सफल भएको छ । यसको सञ्चित नाफा भने ७६ अर्ब ३३ करोड रहेको छ ।

२०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा स्थापना भएको यो संस्था २०६० माघ २२ गतेबाट नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएर सञ्चालनमा रहेको हो । २०६१ सालको बैशाखदेखि यसलाई नेपाल टेलिकम भन्न थालिएको हो । यसले देशभर पिएसटीएन, सिडीएमए लगायत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्दै आइरहेको छ । साथै यसले इन्टरनेट सेवा पनि प्रदान गर्दै आइरहेको छ । 

उच्च नाफा गर्ने संस्थानमा दुरसञ्चारसँगै, नेपाल आयल निगम, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक छन् । नेपाल आयल निगम लिमिटेडले चालु आर्थिक वर्षमा १० अर्ब ४१ करोड मुनाफा कमाएको छ भने अहिलेसम्म यसको सञ्चित मुनाफा १० अर्ब ८८ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७२÷०७३ मा सञ्चालनमा रहेको ३५ संस्थानमध्ये १२ वटा घाटामा थिए । आर्थिक सर्वेक्षणअनुसार सस्थानहरुको सञ्चालन आय गत आर्थिक वष २०७२÷०७३ को तुलनामा ३३.९ प्रतिशतले वृद्धि भएको छ । संस्थानहरुको खुद नाफामा भने गत आर्थिक वर्षको तुलनामा १८.५ प्रतिशतले वृद्धि भएको सर्वेक्षणमा देखाइएको छ ।

किन घाटामा ?

वि.सं १९९३ मा सार्वजनिक संस्थानको रूपमा नेपाल बैक लिमिटेडको स्थापना भएको हो । यसको आगमनसँगै २०४९ सालसम्म यस्ता संस्थानको संख्या ६६ पुग्यो । तर सबैले आफूलाई नाफामा राख्न सकेनन् । नेपालमा संस्थान ऐन भने वि.सं. २०२१ सालमा आएको हो ।

सरकारको संरक्षणवादी नीति र अनुदानको भरपर्ने परिस्थितिका कारण संस्थानहरु घाटामा जान थाले । सोही कारण २०४६ सालको राजनीतिक परिवर्तनसँगै सुरु भएको खुलाबजारमुखी अर्थव्यवस्थाका कारण ३० वटा संस्थान नीजिकरण भए । निजीकरण गरिएका संस्थान कहाँ पुगे त्यसको तथ्यांक अहिले कसैसँग छैन ।

सरकारको स्वामित्वमा रहेका संस्थान पनि निरन्तर घाटामा जाँदै अहिले केही बन्द हुने अवस्थामा पुगेका छन् । निरन्तरको घाटाकै कारण नेशनल ट्रेडिङ लिमिटेड केही समय अघि मात्रै बन्द गरियो । संस्थानलाई पारदर्शी बनाउन २०६८ मा सार्वजनिक संस्थान निर्देशक बोर्ड गठन गरिए पनि त्यो पनि नाममा मात्रै सीमित बनेको छ ।  

यस्ता छन् अहिले सञ्चालित संस्थानहरु

औद्योगिक क्षेत्रका – ७ वटा

१. दुग्ध विकास संस्थान(  कृषि विकास मन्त्रालय
२. जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड – वन तथा भू(संरक्षण मन्त्रालय
३. हेटौंडा सिमेन्ट लिमिटेड – उद्योग मन्त्रालय
४. उदयपुर सिमेन्ट उद्योग लिमिटेड – उद्योग मन्त्रालय
५. नेपाल औषधी लिमिटेड – उद्योग मन्त्रालय
६. जनकपुर चुरोट कारखाना लिमिटेड – उद्योग मन्त्रालय
७. नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि – उद्योग मन्त्रालय

सेवा क्षेत्रका – ७ वटा

८. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड – उद्योग मन्त्रालय
९. नेशनल कन्स्ट्रक्सन कम्पनी लिमिटेड – भौतिक पुर्वाधार तथा यातायत मन्त्रालय
१०. नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड – वाणिज्य तथा आपूर्ति मन्त्रालय
११. नेपाल वायु सेवा निगम – संस्कृति, पर्यटन ताथ नागरिक उड्डयन मन्त्रालय
१२. नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेड – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
१३. राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र – उद्योग मन्त्रालय
१४. नागरिक उड्डयन प्राधिकरण – संस्कृति, पर्यटन ताथ नागरिक उड्डयन मन्त्रालय

वित्तीय क्षेत्रका – ९ वटा

१५. राष्ट्रिय वाणिज्य बैंक – अर्थ मन्त्रालय
१६. कृषि विकास मन्त्रालय – अर्थ मन्त्रालय
१७. राष्ट्रिय बिमा संस्थान – अर्थ मन्त्रालय
१८. नेपाल औद्योगिक विकास निगम – उद्योग मन्त्रालय
१९. नेपाल आवास विकास वित्त कम्पनी लिमिटेड – भौतिक पुर्वाधार तथा यातायत मन्त्रालय
२०. नेपाल धितोपत्र विनियमय बजार लिमिटेड – अर्थ मन्त्रालय
२१. नागरिक लगानी कोष – अर्थ मन्त्रालय
२२. एनआइडिसी डेभलपमेन्ट बैंक लिमिटेड८ – अर्थ मन्त्रालय
२३. निक्षेप तथा कर्जा सुरक्षण निगम लिमिटेड८ – अर्थ मन्त्रालय

व्यापारिक क्षेत्रका – ६ वटा

२४. कृषि सामाग्री कम्पनी – कृषि विकास मन्त्रालय
२५. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड – कृषि विकास मन्त्रालय
२६. नेशनल कम्पनी लिमिटेड – वाणिज्य तथा आपूर्ति मन्त्रालय
२७. नेपाल खाद्य संस्थान – वाणिज्य तथा आपूर्ति मन्त्रालय
२८. नेपाल आयल निगम लिमिटेड – वाणिज्य तथा आपूर्ति मन्त्रालय
२९. दि टिम्बर कर्पोरेसन – वन तथा भू–संरक्षण मन्त्रालय

सामाजिक क्षेत्रका – ५ वटा

३०. सांस्कृतिक संस्थान – संस्कृति, पर्यटन ताथ नागरिक उड्डयन मन्त्रालय
३१. गोरखापत्र संस्थान – सूचना तथा सञ्चार मन्त्रालय
३२. जनक शिक्षा सामाग्री कम्पनी लिमिटेड – शिक्षा मन्त्रालय
३३. नेपाल टेलिभिजन – सूचना तथा सञ्चार मन्त्रालय
३४. ग्रामीण आवास कम्पनी लिमिटेड – सहरी विकास मन्त्रालय

जन–उपयोगी क्षेत्रका – ३ वटा

३५. नेपाल खानेपानी संस्थान – सहरी विकास मन्त्रालय
३६. नेपाल विद्युत प्राधिकरण – उर्जा मन्त्रालय
३७. नेपाल दूरसंचार कम्पनी लिमिटेड – सूचना तथा सञ्चार मन्त्रालय

          

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया