अन्तर्वार्ता
काठमाडौंका मेयर शाक्य भन्छन्, ‘धेरै कुरामा कायापलट भइसक्यो, कर्मचारीमा उत्साह थप्दैछौँ’
- Monday, May 14, 2018
- 09:47 AM ( 2 years ago )
- Total Views: 4.8 K
काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको चुनाव भएको सोमबार एक वर्ष पुगेको छ । पोहोर वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा चुनाव भएको थियो । तीमध्ये काठमाडौं, ललितपुर र पोखरा तीन महानगरपालिका पनि थिए ।
काठमाडौं महानगरपालिका देशकै सबैैभन्दा पुरानो र राजधानी रहेको जिल्लाको महानगरपालिका हो । विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएपछिको एक वर्षमा काठमाडौं महानगरपालिकाले के काम गर्याे त भन्ने चासो धेरैलाई छ ।
जेठ १७ गते पदभार ग्रहण गर्नुभएका मेयर शाक्य जनप्रतिनिधिलाई मोवाइल र आफैँलाई गाडी किन्ने निर्णयका कारण आलोचित हुनुभयो । मेयर शाक्यले भदौ २२ गते सय दिनमा गरेका ८६ कामको सूची सार्वजनिक गर्नुभएको थियो । धेरै काम अगाडि बढेको उहाँको दाबी छ । काठमाडौं महानगरपालिकाले एक वर्षमा देखिनेगरी घर–दैलोमै स्वास्थ्य उपचार, क्लीन काठमाडौं अभियान, भूकम्प प्रभावितलाई घर निर्माण गर्दा निःशुल्क नक्सा पास, सौर्यबत्ती जडान, केही ठाउँमा फ्रि–वाइफाई जडान जस्ता सामान्य काम मात्र भएका छन् । आफ्नै प्रतिबद्धता अनुसार आफैँले तयार गरेको सय दिनमा गर्ने एक सय एक काम सबै पूरा भएनन् ।
महानगरपालिकाको नीति तथा कार्यक्रमको दस्तावेजमा उल्लेख गरिएका तथा मेयर भएलगत्तै एक सय एक दिनमा गर्छु भनेका धेरै काम अहिले पनि अलपत्रै छन् । चुनावका बेला शाक्यले धुलोधुवाँ खाल्डाखुल्डी, सडकमा हुने जाममुक्त महानगर बनाउने, मोनोरेल, मेट्रोरेल, सहज खानेपानीको व्यवस्था जस्ता अनेकौं घोषणा गर्नुभएको थियो । वर्षदिन भैसक्दा पनि काठमाडौंको अवस्था फेरिन नसकेको काठमाडौंको मटबहालकी पूर्णिमा घले बताउनुहुन्छ ।
नागरिकको चासो र जिज्ञासाबारे बुझ्न झण्डै एक हप्ताको प्रयासपछि काठमाडौंका मेयर शाक्यलाई भेट्ने मौका मिल्यो । मेयर विद्यासुन्दर शाक्यसँग मदन पौड्यालले गर्नुभएको कुराकानी :
स्थानीय तहको चुनाव भएको सोमबार एक वर्ष पुग्यो, तपाईँको अनुभव के छ ?
चुनाव भएको एक वर्ष भए पनि मैले मेयरको जिम्मेवारी लिएको जेठ १७ गते हो । मैले घोषणा गरेका धेरै काम पनि गरिसकेको छु । बाँकी काम र थप काम पनि कार्यान्वयन गर्ने गरी हामी अगाडि बढिरहेका छौँ । जग बसाल्ने काममा बढी केन्द्रित भएर काम गरेका छौँ धेरै क्षेत्रमा कायापलट नै भइसकेको छ ।
जग बसाल्ने गरि भएका केही कामको उदाहरण दिन सक्नुहुन्छ ?
धेरै काम भैसकेका छन् नि । अहिले तपाईँ हेर्नुस् हाम्रो महानगरपालिकाको जिम्मेवारीमा रहेका धेरै सडक पुनर्निर्माण गरिसकेका छौ । सरसफाईमा हिजोभन्दा धेरै प्रगति भैसकेको छ । यस्तै, हरियाली हेर्नुस्, पहिले भन्दा बढेको छ । प्रसाशनिक संरचनामा पनि परिवर्तन भैसकेको छ । रानीपोखरी पुनर्निर्माण जेठबाट सुरु हुँदैछ। काष्ठमण्डपका लागि काठ छनोट गर्ने काम सुरु भैसकेको छ ।
त्यसैगरी धरहराको काम यो आर्थिक वर्षभित्र सुरु गर्नेगरी सबै तयारी भैसकेको छ । तपाईँले सोध्नुहोला मै भन्छु, मोनोरेलको काम पनि भैरहेको छ र काठमाडौं महानगरपालिकाको आफ्नै भवन बनाउने कामका लागि पनि प्रकृया अगाडि बढेको छ । काम धेरै भएको छ ।
यो एक वर्षको कामको प्रगति पर्याप्त हो र ?
हुन त आफैँ पनि त्यति पूर्ण सन्तुष्ट चाहिँ हैन । हामी काम गर्छौँ भनेर नै आएका हौँ । काम गर्दा ‘इफ अदर थिङ रिमेनिङ कन्स्ट्यान्ट’ अर्थात् अरु चिज स्थीर रहे भने भन्ने शर्त हुन्छ यदि हामीले बाटो बनाउँदै जादाँ अरुले खन्दै नजाने हो भने काठमाडौंमा खाल्डाखुल्डी कहीँकतै हुँदैनथ्यो होला । तर पुर्ने काम पनि भैरहेको छ, खन्ने काम पनि जारी छ ।
त्यसकारण कतै सडक धुलाम्मे छ । हामी निरन्तर सफा गरिरहेका छौँ । नागरिक घर बनाउँदैछन् त्यसैले सडकमा निर्माण सामग्री थुपारिएको छ । त्यसैले हामी जुन रुपमा सफल हुनुपर्ने हो त्यो देखिएको छैन तर गरिरहेका छौ, गरेर देखाउँछौँ । केही केही विवाद र कानुनी अड्चनका कारण ढिला भएको हो । बाँकी त अहिले हेर्ने हो भने नै आमुल परिर्वतन भइसकेको छ ।
गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा अघि सारिएको छ तर सिंहदरबारको सबैभन्दा नजिक रहेको स्थानीय तहमा पनि विवाद र अलमल त सुहाउँछ र ?
त्यस्तो अलमल त छैन ।
तपाईँले भन्नुभएको विवाद के हो त ?
कुरै नबुझि लेखिदिएर मिडियाले मेयर र उपमेयरको विवाद भएको भने । यो बीचमा मिडियाले दूरी कम गर्ने भन्दा पनि बढाउने काम गरे । झगडा गराउने काम भयो मिलाउने काम भएन । त्यसले गर्दा महानगरपालिकामा के–के नै भयो जस्तो देखियो त्यस्तो विवाद र कामै नभएको अवस्था होइन ।
तपाईँ नेतृत्वको महानगरपालिका देशकै सबैभन्दा पुरानो महानगरपालिका हो । यहाँको काम त अरु स्थानीय तहलाई पनि मार्गदर्शक पो हुनुपर्ने होइन र ?
हामीले गरिरहेकै छौँ नि । अरु, ७ सय ५२ वटा स्थानीय तह भन्दा यो निक्कै फरक छ । देशको राजधानी भएकाले उहाँ मतदाता पनि र गैर मतदाता पनि हुनुहुन्छ । यो कुरालाई भ्रम फैलाउने र अपव्याख्या गर्ने नगर्नुहोला, यहाँ महानगरपालिकाकै मतदाता पनि हुनुहुन्छ, अवसरका लागि विभिन्न ठाउँबाट आउनेहरु पनि हुनुहुन्छ । मतदाताले हिजो काम गरेकै कारण मत दिएर जिताउनुभएको हो । उहाँहरुलाई अरु बढी बोल्छन् विद्यासुन्दर कम बोल्छन् तर काम गर्छन् भन्ने नै छ ।
गुनासा केही मतदाताको र केही गैरमतदाताको पनि हुन सक्छ । मेयर हुँदाहुँदै पनि म पनि नागरिक नै हुँ । अहिले नै निराश हुनुपर्ने अवस्था छैन । कुनै गाउँपालिका वा नगरपालिकाले आफ्ना मतदातालाई मात्रै हेरेर योजना बनाए पुग्छ तर हामीले त्यसो गर्न सक्दैनौँ र गर्नु पनि हुँदैन ।
यहाँ फोहोर हेर्ने हो भने बाहिरबाट आउने गाडीले धुलो बोकेर ल्याउँछन् यहाँ खसालेर जान्छन् । हामी त टिप्दै गइरहेका छौँ । फेरि पनि समस्या थुप्रै छन् त्यसका बीचमा पनि हामीले धेरै काम गर्दै गएका छौँ । उत्साहित भएर लागिरहेका छौँ । कर्मचारीमा त्यति उत्साह थपिएको छैन । उनीहरुमा जाँगर थप्दै व्यवस्थापन गर्दै अगाडि बढेका छौँ ।
मतदाता र नागरिकका गुनासाबारे के भन्नुहुन्छ ?
म नागरिकका गुनासालाई गुनासो भन्दिनँ । जसले बढी माया गर्छ उसैले बढी सचेत बनाउँछ । आमाबुवाले आफ्नै छोराछोरीलाई धेरै गाली गर्छन् । मलाई पनि ढिला होला है छिटो गर भनेको माया नै गरेर हो । जसले मेरा बारेमा कमेण्ट गर्छन् उहाँहरुले पनि विद्या जी तपाईँले हिजो बोलेका कुरा गर्नुपर्ने, तपाईँले राम्रो काम गरे हाम्रो पनि शिर उँचो हुन्छ तपाईँले राम्रो गर्नुस् भनेर सचेत गराएको हो ।
महानगरवासीलाई तपाईँको आग्रह के छ त ?
मेरो अनुरोध छ, राम्रा काम गर्न सबैले सघाउनुपर्यो । सबै कामका लागि कानुन नै लगाउन पर्छ र ? फोहोर उठाउन, महानगर सफा राख्न कसैसँग गुनासो गरिराख्न पर्छ र ? महानगरबासी आफैँ सचेत हुनुहुन्छ ।
अरुलाई यसो नगर भन्नेले आफैँ पनि नराम्रो नगरे पुगिहाल्यो नी । सडक फोहोर नगर्ने, निर्माण सामग्री जथाभावी नराख्ने, फुटपाथमा पसल नराख्ने भएका कानुन नियमलाई पालना गरौ त्यति हो अहिलेलाई मेरो भन्नु ।
सम्बन्धित सामग्रीहरु
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
-
क्यान्सर के हो, कसरी बच्ने ?
क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन् । समयमै ख्याल गरेन भनेर क्यान्सर फैलंदै गएर अकालमा ज्यान पनि जान सक्ने भएकाले यो डरलाग्दो रोग नै हो ।
-
यातायात व्यवसायीको गुनासो, यो लोकतन्त्र हो कि तानाशाही शासन हो ?
यसअघिका सरकारले सिन्डिकेट तोड्ने घोषणा गरेर अन्तिममा घुँडा टेके पनि यसपटक भने यातायात क्षेत्रको सिन्डिकेट तोडिने संकेत देखिएको छ ।
-
जीवन गुजार्न यता उता गर्नु नपरे खेलाडीले राम्रो खेल्छन् : कप्तान पारस
नेपालले क्रिकेटमा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि यति बेला विश्वभर नै नेपाली क्रिकेटको प्रशंशा भैरहेको छ । डिभिजन टुमा क्यानडा माथिको नाटकीय जितसँगै विश्वकप छनौटमा पुगेको नेपाल सुपर सिक्समा त पुग्न सकेन ।
-
पराजुलीले पदमा रहँदा गरेका काम अवैध भन्न मिल्दैन : अधिवक्ता भट्टराई
काठमाडौं, फागुन ३० – न्यायपरिषदको सचिवस्तरीय निर्णयले प्रधानन्यायाधीशलाई पदमुक्त गरेपछि धेरैथरी प्रश्न उठेका छन् । पहिलो, नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ वैधानिक कि अवैधानिक ?
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस