MENU

समाज

ujyaalo forign call inside

अहिले छ्या! बागमती, दुई वर्षपछि वाह! बागमती

काठमाडौं, वैशाख ८ – ‘छ्या कस्तो फोहोर’ बागमती नदी देख्ने बित्तिकै धेरैले नाकमुख थुन्छन् । हिन्दु धर्मशास्त्रमै उल्लेख गरिएको तथा काठमाडौं उपत्यकाको सभ्यता रहेकाे बागमती नदी बहनै नसक्ने गरि फोहोरले भरिएपछि यसलाई पुरानै अवस्थामा फर्काउन अभियान नै चलिरहेको छ । जसअन्तर्गत हरेक हप्ता नदी सफाईलगायत चेतनामुलक कार्यक्रम भैरहेका छन् ।

अहिलेसम्मका प्रयासले बाग्मतीलाई थोरै भए पनि सङ्ल्याएको छ । दुई वर्षभित्र बागमती नदीको रुप साँच्चै फेर्ने गरि धमाधम काम भैरहेको छ । बाग्मतीको पानी स्वच्छ र सफा बनाउने अनि नदी किनार रमणीय बनाउने योजना छ ।

बागमती क्षेत्र भौतिक पूर्वाधार आयोजना र एसियाली विकास बैङक (एडीबी) ले बागमती सुधारको लागि काम गरिरहेका छन् ।

बागमती नदीका सहायक सातवटा नदीमासमेत काम भैरहेकाले दुई वर्षभित्र बागमतीलाई स्वच्छ बनाउने अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिका उप आयोजना प्रमुख योगेन्द्र चित्रकारले बताउनुभयो । ‘काम धमाधम भइरहेको छ उपआयोजना प्रमुख चित्रकारले भन्नुभयो, ‘सन् २०१९ को अन्त्यसम्ममा काम सकिन्छ ।’

कहाँ कहाँ काम भइरहेको छ ?

बागमती, विष्णुमती र धोविखोलामा नदी छेउछेउमा ढल बनाउने र अहिले सिधै नदीमा मिसाइएको ढलको फोहोर रोक्ने, नदी छेउमा पर्खाल लगाउने र भत्किएका सडक निर्माण गर्ने काम भइरहेको छ । बागमती क्षेत्र भौतिक पूर्वाधार आयोजना अन्तर्गत निर्माण भइरहेको काममा सुन्दरिजलदेखि सुन्दरीघाटसम्म काम भइरहेको छ ।

धोविखोला बागमती दोभानदेखि चावहिलको गोपिकृष्ण हलसम्म पनि काम भइरहेको छ । यस्तै, विष्णुमती बागमती दोभानदेखि महादेवखोला दोभानमाथि ७ सय मिटर क्षेत्रमा पनि काम भइरहेको छ । 

लागत कति ?

यो आयोजना सन २०१४ मा अर्थ मन्त्रालयसँग ऋण सम्झौता गरि पाँच वर्षमा सम्पन्न गर्ने गरि काम सुरु भएको हो । एसियाली विकास बैङक एडीबीसँग भएको सम्झौतामा ३ करोड ६० लाख अमेरिकी डलर बजेटमा यो काम सक्ने उल्लेख छ ।

जसमध्ये ३ करोड डलर एडीबीको हो । दुई करोड ५५ लाख डलर ऋण सहयोग हो भने चार करोड ५० लाख अनुदान हो । ६० लाख नेपाल सरकारले म्याचिङ फण्ड अन्तर्गत राख्नुपर्ने छ ।

दुईवटा नेपाली कम्पनी र चीनको एउटा कम्पनीले संयुक्त रुपमा काम गरिरहेको छ । इन्टरनेशनल कन्ट्र्याक बिलिङ अन्तर्गत एडीबी आफैँले ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । कालिकाले एक अर्ब ६० करोडमा काम सम्पन्न गर्ने गरि ठेक्का लिएको हो ।

कसरी भइरहेको छ काम ?

बागमती सुधार आयोजना अन्तर्गत नेपाल सरकारका तीनवटा निकाय सिंचाई विभाग, जल तथा ऊर्जा आयोग र अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले काम गरिरहेका छन् । सिंचाई विभागले बागमतीको मुहान क्षेत्रमा काम गरिरहेको छ । मुहान क्षेत्रमा वर्षातको पानी संकलन गर्ने गरि बाँध निर्माण भइरहेको छ । हिउँदमा नदीमा पानीको बहाव कम हुन नदिन बाँध निर्माण गर्न लागिएको हो । बागमतीमा बग्ने पानीको वहाव क्षमता प्रतिसेकेण्ड ४० लिटर रहनेछ ।

जल तथा ऊर्जा आयोगले बागमती नदीमा बाढीबाट क्षति हुन नदिन पूर्वानुमान संयन्त्रको जडान गर्ने काम गरिरहेको छ । संयन्त्र उपत्यकादेखि यसको निकास भारतको सीमा क्षेत्रसम्मको क्षेत्रमा रहनेछ ।

अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले भने बागमतीको दायाँबायाँ क्षेत्रको भौतिक संरचनाको काम गर्नेछ । नदी छेउमा पर्खाल निर्माण गर्ने, रेलिङ, फुटपाथ, साईक्लिङ रुट तथा पार्क निर्माण हुनेछ । साथै बागमती क्षेत्रमा ११ वटा घाट र पुल निर्माण गरिनेछ । आवश्यक स्थानमा पौराणिक तथा पुरातात्विक महत्वका सम्पदासमेत निर्माण गरिनेछ । जुन काम समिति मातहतमा भइरहेको छ ।

बागमती सफाईका लागि भएका प्रयास

काठमाडौं उपत्यकाको सभ्यताको परिचायक तथा हिन्दु धर्मावलम्बीको आस्थासँग पनि जोडिएको बागमती नदी २०४६ साल पनि फोहोर हुन थालेको हो । उपत्यकामा जनसंख्या बढेसँगै बढेको फोहोरले बागमती धमिलिएन मात्र यसको अस्तित्व नै खतरामा पर्यो । घरघरको ढल मिसाउनाले बागमती बग्नै नसक्ने फोहोर र लेदोले भरियो । 

बागमतीलाई सफा र स्वच्छ बनाउन २०५१ चैत्र २८ गते पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको थियो । २०५२ सालको मंसिरमा अधिकार सम्पन्न बागमती क्षेत्र ढल निर्माण तथा सुधार आयोजना कार्यन्वयन तथा अनुगमन समिति बनाइयो । अहिले त्यहि समिति अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति का रुपमा रुपान्तरण गरिएको छ ।

पशुपति क्षेत्रलाई व्यवस्थापन गर्नेगरि गठन गरिएको समितिले २०६५ सालबाट भने काठमाडौं उपत्यकाभरि वहने बागमती नदीलाई सफा र स्वच्छ बनाउने गरि काम गर्न थालेको हो ।

साप्ताहिक बागमती सफाई अभियान

२०७० जेठ ५ गतेबाट तत्कालीन प्रधानमन्त्री बावुराम भट्टराईले साप्ताहिक रुपमा बागमती सफाई अभियान उद्घाटन गर्नुभएको थियो । यसमा तत्कालीन मुख्य सचिव लीलामणी पौडेलको अग्रसरता तथा अरु धेरै लब्ध प्रतिष्ठित व्यक्ति र संस्था तथा आम नागरिकको सहभागिताले पनि महत्वपूर्ण काम गरेको थियो ।

अहिले पनि साप्ताहिक रुपमा बागमती सफाई अभियान नियमित रुपमा गरिँदै आएको छ ।

अभियानका क्रममा बागमती किनारका ठाउँठाउँमा बगैचा निर्माण, रुख रोप्ने, ध्यान तथा योग गर्ने ठाउँ बनाउनेलगायत काम पनि भएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता अहिले पनि उस्तै सक्रिय रहेको अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया