MENU

समाज

ujyaalo forign call inside

लाख कमाउन युएई गएका नेपालीको करोडौंको लगानी (भिडियो)

मोहन पौडेल/उज्यालो । 

चैत ३० – काठमाडौंमा पाएको काममा कमाइ भन्दा घुमाइ धेरै थियो । त्यसैले उमेशकुमार न्यौपाने राम्रो विकल्प पाए सोच्न विचार गर्दै हुनुहुन्थ्यो ।

त्यतिबेलै युएईमा राम्रो सेवा सुविधासहितको विज्ञापन देखेपछि अन्तर्वार्ता दिनुभयो । ‘सात हजार दिर्हाम तलब भनेको थियो अनि परिवार पनि लान पाइने भनेपछि जाउँ न त भन्ने लाग्यो ।’ उमेश भन्नुहुन्छ । 

 

कामको अनुभव नभएपनि अङ्गे्रजीमा राम्रो भएकाले उहाँले युएई छिर्ने अवसर पाउनुभयो । त्यतिबेलै त श्रीमती र परिवार लान पाउनुभएन । एक्लै जानुपर्दा केही छटपटी त पक्कै थियो तर पुगेको १५ दिनमै पाएको अवसरले उहाँलाई हौस्यायो । ‘म भन्दा माथिल्लो पोष्टको व्यक्तिले हरहिसाब बिगारेकाले उसलाई निकाल्ने भए त्यसपछि मलाई कम्पनीले नै कामको अफर गर्यो ।’ उमेश भन्नुहुन्छ ।

पुगेको १५/२० दिनमै तलब ३ हजार बढ्यो । उमेश काम गर्ने ठाउँबाट काम दिने ठाउँमा पुग्नुभयो । ८ महिनापछि त श्रीमती र बुवाआमालाई पनि युएई लानुभयो । युएई पुग्दा परिवार सँगै हुन पाए भन्ने थियो । परिवारसँगै भएपछि सबैले के गर्ने भन्ने भयो । 

त्यो बाटो पनि उमेशले पत्ता लगाइसक्नुभएको थियो । ‘हामीले मेन्टिनेन्स कम्पनी खोल्यौं । कम्पनीका सामान बिग्रिन्थे, तिनै सामान बनाउँदा नै कम्पनी चल्ने देखेपछि बुवा र उनको  (श्रीमतीको) नाममा कम्पनी खोलें’ उमेशले भन्नुभयो । 

त्यहीँबाटै कामदारमा गएका उमेशको परिवार व्यावसायीको परिवार बन्यो । ‘हामीलाई त कामको आइडिया थिएन तर उहाँले सिकाउनुभयो ।’ श्रीमती सरला तिवारी न्यौपानेले थप्नुभयो । 

तर उमेशको उद्देश्य खर्च मात्रै धान्नु थिएन । उहाँ व्यापार बढाउँदै जाने सोचमा हुनुहुन्थ्यो । त्यसैले चल्दै गरेको कम्पनी बुवालाई जिम्मा लगाएर उमेशले श्रीमतीको नाममा अर्को कम्पनी खोल्नुभयो । 

जागिर खाँदा खाँदै आफ्नो कम्पनी खोल्न नपाइने । आफूले कम्पनी चलाएको कुरा उमेशले लुकाउन पनि सक्नुभएन् । त्यसैले जागिर छोड्नुभयो । जागिर छोडे पनि व्यापार बढाउने काइदा सहितका कुरा बुझेर छोड्नुभयो ।

‘मेरै लेबरमा साहुकै सिस्टर हुनुहुन्थ्यो उहाँले नै मलाई बाटो देखाइदिनुभयो । त्यतिबेला त ओहो ! विदेशमा पनि यस्ता मान्छे हुँदा रहेछन भन्ने लाग्यो ।’ उमेशले खुशी साट्नुभयो । 

उमेशले दुवईमा अमेरिकाबाट मासु आयात गरेर बेच्न थाल्नुभयो । त्यसले लगानी मात्रै बढेन त्यै अनुसारको कमाई पनि हुन थाल्यो । १० लाख दिर्हामबाट सुरु गरेका उमेशको लगानी दिनदिनै बढ्दै गयो । 

उहाँ रेड प्वाइन्ट जनरल ट्रेडिङ एलएलसी र युआरएस जनरल ट्रेडिङको साहुजी हुनुभयो । कामका लागि युएई छिरेका उमेश ब्राजिल, अष्ट्रेलिया, अमेरिका, भियतनाम, चीन र भारतबाट सामान ल्याउनुुहुन्छ अनि युएईमा सामान बेच्नुहुन्छ । 

कामदारबाट साहुजी हुनु सजिलो पक्कै छैन । ‘तर पैसा भन्दा पनि अनुभवसँगै हिम्मत भयो भने त्यो असम्भव पनि छैन’ उमेश भन्नुुहुन्छ । कम्पनीको सङ्ख्या मात्रै बढेको थिएन । लगानीमा पनि बढेको थियो । कुनै समय एक लाख ३५ हजार रुपैयाँको तलबमा काम गर्न गएका उमेशको कमाई पनि गज्जबसँगै बढ्दै गयो । 

व्यापार गर्दै जाँदा काइदा पनि सिक्दै जानुभयो । त्यही क्रममा नेपालीको जमघट धेरै हुने बरदुवईमा भारतीय नागरिकले चलाइरहेको रेष्टुरेन्ट किन्नुभयो । रेष्टुरेन्ट सुरु गरेको एक वर्ष मात्रै भयो । तर यसको व्यापार पनि कम गज्जबको छैन । 

यही गज्जबको व्यापारले कुनै समय डेढ लाख रुपैयाँ कमाउने उमेशलाई अहिले युएईमै करोडौं लगानी गर्ने लगानीकर्ता बनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया