MENU

राजनीति

ujyaalo forign call inside

नवनियुक्त मन्त्रीहरु कसले के भने ?

काठमाडाैं, चैत २ - शुक्रबार पदभार ग्रहण गरेका मन्त्रीहरुले भावी कार्यक्रम र योजनाहरु सार्वजानिक गरेका छन् । समग्रमा उनीहरुले विकास र समृद्धिलाई उच्च प्राथमिकता दिएका छन् । नीतिनियममा देखिएका केही समस्यालाई सुधार गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न सबै मन्त्रीहरुले प्रतिवद्धता जनाएका छन् । त्यसका लागि चुस्त र दुरुस्त भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली 

नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकी देशसँग नेपालले सन्तुलन सम्बन्ध कायम गर्ने बताउनु भएको छ । परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ज्ञवालीले भारत र चीनसँग नेपालको सम्बन्ध सुमधुर रहने बताउनु भयो ।
उहाँले दुबै छिमेकीलाई राम्रो र सन्तुलित सम्बन्धका लागि नेपालले आश्वस्त तुल्याउनुपर्ने बताउनु भएको छ । उहाँले राजनीतिक स्थायित्व र तीव्र आर्थिक विकासमार्फत सम्वृद्धि हासिल गर्ने सरकारको उच्च प्राथमिकता रहेको भन्दै परराष्ट्र मन्त्रालयले चाल्ने कदम, बनाउने नीति र कार्ययोजनालाई पनि त्यसले निर्देशित गर्ने बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले सार्क सहितका क्षेत्रीय संगठनहरुलाई प्रभावकारी बनाइने पनि बताउनुभयो ।
 

पर्यटनमन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिने बताउनु भएको छ ।
 
देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएकाले र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने उहाँले बताउनुभयो । यस्तै सन् २०२० मा १५ लाख पर्यटक पुर्‍याउने बताउनु भएको छ । सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए ।
 

उर्जा मन्त्री पुन

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले निर्माणाधीन आयोजना पूरा गर्ने कार्यमा आफ्नो उच्च प्राथमकिता रहने बताउनु भएको छ । 
शुक्रबारै पदभार सम्हालेका मन्त्री पुनले कुलेखानी तेस्रो वर्षौअघि देखि निर्माण सुरु भएपनि अहिलेसम्म नसकिएको उदाहरण प्रस्तुत गर्दै त्यस्ता आयोजनाको तत्काल निर्माण सम्पन्न गर्ने बताउनुभयो ।
 
नेपालले जलविद्युतलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले पूर्ण रुपमा उर्जामा आत्मनिर्भर हुनका लागि विद्युत नै भरपर्दाे माध्यम भएको बताउनुभयो ।उर्जा मन्त्रीको पदबहाली गरेलगत्तै उहाँले भेरी बबई डाइभर्सनको लागि जग्गा प्राप्तिको फाइल अघि बढाउनु भएको छ ।
 

शिक्षा मन्त्री पोखरेल

शिक्षा र विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ट्रेड युनियनको नाममा शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन चेतावनी दिनु भएको छ । शिक्षकको व्यक्तिगत स्वतन्त्रताको सम्मान राज्यले गर्ने बताउँदै उहाँले ट्रेड युनियनको नाममा राजनीति गर्दै हिँड्ने प्रवृत्तिको अब अन्त्य गर्ने बताउनुभयो ।
 
उहाँले  सामुदायिक शिक्षाको गुणस्तर खस्किँदै गएको भन्दै शिक्षकले जागिर मात्र खाएर जिम्मेवारी पूरा नहुने बताउनु भएको छ । ३० प्रतिशत सैद्दान्तिक र ७० प्रतिशत प्राविधि शिक्षा दिने चुनावी प्रतिवद्धता अनुसार वाम सरकारले कामकारवाही अगाडि बढाउने उहाँले बताउनुभयो । 
 

श्रम मन्त्री विष्ट

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने नेपालीको हितका लागि सरकारले प्रभावकारी कदम चाल्ने बताउनु भएको छ । शपथ लगतै मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका विष्टले स्वदेशमै रोजगारी सिर्जना गर्न कार्ययोजना बनाउने र श्रमिकको हक हितको लागि सामाजिक कल्याणको योजना पनि ल्याउने बताउनु भएको छ । 
 

वातावरणमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन तथा वातावरण बिग्रन नदिन आफ्नो कार्यकालको पहिलो प्राथमिकता रहने बताउनुभयो । यसका लागि उहाँले राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई कारबाही गरिने बताउनुभयो ।
 

कानून मन्त्री तामाङ

कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संविधानको मर्मअनुसार बनाउनु पर्ने कामलाई पहिलो प्राथमिकता दिने बताउनु भएको छ ।
उहाँले कानूनी क्षेत्रमा देखिएको बेथितिलाई प्रणालीगत सुधार गरेर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
 

यातायातमन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले थोरै समयमा परिणाममुखी काम गरेर देखाउनुपर्नेमा जोड दिनु भएको छ । शपथ लगतै मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्री महासेठले देश र जनतोको हितमा काम गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले आउँदो ५ वर्षभित्रमा विकास र समृद्धिका विषयमा नागरिकसामु गरेको वाचा पूरा गर्ने ढंगले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।
 

खानेपानीमन्त्री बीना मगर

खानेपानीमन्त्री बीना मगरले नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।  उहाँले मन्त्रालयमा देखिएका समस्या समाधानका लागि सामुहिक कार्यको आवश्यकता पर्ने बताउनुभयो ।
 

कृषिमन्त्री खनाल

कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणी खनालले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताउनु भएको छ । जैविक विविधताले भरिपूर्ण देश नेपालमा कृषिको प्रचुर सम्भावना रहेको भन्दै उहाँले आत्मनिर्भरमुखी कृषि योजना ल्याउने बताउनुभयो ।
 
विज्ञहरुसँग सुझाव लिएर केही वर्षभित्र कृषि उत्पादनलाई निर्यातमुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नेपाल कृषि प्रधान देश भए पनि कृषि क्षेत्रको समुचित विकास हुन नसक्दा कृषिजन्य सामाग्रीको आयातका लागि ठूलो धनराशि विदेशिने गरेको उहाँको भनाई थियो ।
 

खेलकुद मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि कुने कसर बाँकी नराख्ने बताउनु भएको छ ।
अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने क्षेत्र खेलकुद भएका भन्दै खेलक्षेत्रको विकास तथा विस्तारका लागि उपयुक्त कदम चाल्ने प्रतिबद्धता जनाउनु भएको हो ।
 

सञ्चार राज्यमन्त्री बास्कोटा

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले नगरिकलाई गुणस्तरीय सूचनाको पहुँच पुर्याउने बताउनु भएको छ ।  गुणस्तरीय सूचनामा सबैको सुलभ पहुँच पुर्‍याउनका लागि आफूले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।उहाँले  मिडियामा लगानीकर्ताका र कामदारका आ–आफ्नै समस्या रहेको बताउनुभयो । 
निजी क्षेत्रमा फस्टाइरहेको सञ्चार क्षेत्र र सरकारले गर्नुपर्ने विषयमा हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । उहाँले सरकारी सञ्चार क्षेत्रमा पनि केही सुधारको अवश्यकता रहेको बताउनुभयो । 
 
तस्बिर : रासस
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया