MENU

समाज

ujyaalo forign call inside

‘त्रासै त्रासमा कसरी बस्ने ?’

शिव ढुंगाना/उज्यालो ।

ओखलढुंगा, माघ १९– भूकम्पले चिरा चिरा पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको भवन र अधिकृत आवाश पुनर्निर्माण हुन सकेको छैन । कार्यालय तथा आबाश भवन पुनर्निर्माण नहुँदा जीर्ण भवनमा कार्यालय संचालन गरिएको छ । यस्तै आधा भत्किएका भवनमा प्रहरी अधिकृत आवाश छ । ‘सानो तिनो भूकम्प गएन भने यो हिउँदसम्म त ठिकै होला आउने वर्षामा चाँही यो भवन पक्कै भत्किन्छ’ क्वाटर देखाउँदै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक टीका कार्कीले भन्नुभयो ‘आफ्नै आत्मबल कमजोर पारेर एउटा प्रहरीले अरुको सुरक्षामा बलियो भएर कसरी खट्न सकिन्छ र ?’ 

४० वर्ष भन्दा पुरानो जिल्ला प्रहरीको कार्यालय भवन जीर्ण बनेको छ भने अधिकृत आवाश भएको घरको गाह्रो बाहिरबाट आधा भत्किएको छ । यसैलाई प्लाष्टिक हालेर हावा छेकिएको छ । ‘अरुलाई सुरक्षा दिने निकाय नै असुरक्षित भएपछि कसरी काम गर्ने ?’

यहाँको जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आउने प्रहरी अधिकृतको एउटै प्रश्न हुन्छ । भूकम्प प्रभावित १४ जिल्ला मध्येमा पर्ने ओखलढुंगा प्रहरीको भौतिक संरचना यति बेहाल छ कि प्रहरी निरिक्षक समेत आनन्दले निदाउन सक्दैनन् । ‘भूकम्प आउने होकी भनेर निदाउनै मुस्किल पर्छ, बाहिरबाट आधा भत्किएको घरमा रात काट्न मुस्किल छ । प्रहरी निरीक्षक कार्कीले गुनासो गर्नुभयो ।  

कार्यालय भवन ढुंगा र माटोले बनेकाले भूकम्पले चिरा चिरा परेको छ ।  काठहरु मकिन थालिसकेका छन् । डिएसपीको कार्यकक्ष नै सुरक्षित छैन । आवश्यक सामग्री राखिने जिन्सी शाखा चित्रा र जस्तापाताले बेरेर राखिएको छ । अधिकांश शाखाहरु कोठा अभाव र असुरक्षाका कारण संयुक्त रुपमा राखिएको प्रहरी नायव उपरिक्षक मिलन केसीले बताउनुभयो । 

‘यस्तो अवस्थाका बारेमा धेरैपटक पत्राचार गरियो, मौखिक अनुरोध पनि गरेको छु, सुनुवाई भएन’ केसीले भन्नुभयो । देशभरिका मात्र नभएर जिल्लाकै इलाका प्रहरीको नयाँ भवन बनाउन समेत ठेक्क लागे पनि जिल्ला प्रहरीको लागि माथिल्लो निकायले सुनुवाई गरेको छैन । 

जीर्ण भवनमा हिरासत कक्ष साँगुरो र जोखिमपूर्ण छ । महिला ब्यारेक नहुँदा बजारमा महंगोमा कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता रहेको महिला प्रहरीले गुनासो गरे । प्रहरीको महत्वपूर्ण संचार शाखा सबैभन्दा जोखिममा छ । 

भूकम्प प्रभावित जिल्लाको रुपमा विदेशी सहयोग मार्फत पाएको टेन्टमा कतिपय प्रहरी सुत्दै आएका छन् । चारवर्ष अघि तत्कालीन डिएसपी सुदमकुमार सिजापतिले डिएसपी निवास भने निर्माण गरेकोले केही भरपर्दो अवस्थामा छ । ‘हामीलाई सबै सुविधा सम्पन्न भवन भन्दा पनि कम्तिमा हामी सुरक्षित छौँ भन्ने आभाष गराउने भवन त चाहियो नि ।’ एक जुनियर प्रहरी अधिकृतले भने ‘त्रासै त्रासमा कसरी बस्ने ?’

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया