MENU

समाज

ujyaalo forign call inside

घर बनाउने समय सीमा तोकिँदै, अनुदान लिने तर घर नबनाउनेलाई कारवाही

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, माघ १५ – भूकम्पले भत्केका घर बनाउने काम धमाधम हुनुपर्ने बेला पनि अपेक्षा अनुसार घर बन्न सकेका छैनन् । पुनर्निर्माणका लागि सरकारले वितरण गरेको अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेर पनि धेरै प्रभावितले घर बनाएका छैनन् । 

समय सीमा तोक्ने तयारी 

घर बनाउने गति न्यून भएपछि प्राधिकरणले समय सीमा नै तोक्ने भएको छ । अनुदानको पहिलो किस्ता बुझेका प्रभावितले रकम सदुपयोग गरुन् भन्ने उदेश्यले समय नै तोक्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता भिष्मकुमार भुषालले बताउनुभयो ।

‘राज्यले अनुदानका नाममा चन्दा दिएको हैन’ भुषालले भन्नुभयो ‘अब समय सीमा नै तोक्छौं, यसले विभिन्न अलमल र बाधाका बिच रुमलिएको पुनर्निर्माणलाई गति दिनेछ ।’ आउने बर्खा अगाडि नै सबै प्रभावितलाई छानोमुनि ल्याउने प्राधिकरणको लक्ष्य छ ।

तर अनुदान सम्झौताका आधारमा हेर्दा घर बनाउनेको संख्या न्यून छ । घर बनाउन भनेर सरकारले घोषणा गरेको तीन लाख रुपैयाँ भूकम्प प्रभावितले तीन किस्तामा पाउँछन् । ५ लाख ५ हजार २ सय ७२ घरधुरीले पहिलो किस्तामा ५० हजार रुपैयाँ बुझेका छन् ।

कुन जिल्लामा कति ?

  • सिन्धुपाल्चोक  - ७४,९१२
  • ओखलढुङ्गा  - १८,३०१
  • नुवाकोट  - ६०,४७४
  • रामेछाप  - ३९,७५९
  • दोलखा  - ४७,०७९
  • गोरखा  - ५२,६७५
  • काभ्रेपालाञ्चोक  - ५९,७५१
  • रसुवा  - ८,८४८
  • सिन्धुली  - २६,१६२
  • धादिङ्ग  - ५२,९१७
  • मकवानपुर  - १९,००९

भूकम्प प्रभावित ११ जिल्लामा ४ लाख ५९ हजार ८ सय ८७ घरधुरीले अनुदान बुझेका छन् । काठमाडौं उपत्यकामा ९४ हजार ७२ पहिचान भएका प्रभावित छन् । पहिचान भएका सबै प्रभावितले अझै अनुदानको पहिलो किस्ता पाएका छैनन् । अहिलेसम्म ४५ हजार ३ सय ८५ प्रभावितको बैङ्क खातामा पहिलो किस्ता पुगेको छ ।

  • काठमाडौंमा -१९,४९९
  • ललितपुरमा -७,८८६
  • भक्तपुरमा -१८,०००

भूकम्पले १४ जिल्लासहित प्रभावित जिल्लामा ८ लाख घरमा क्षति गरेको छ । तर भूकम्पपछिका २१ महिनामा घर भने एक लाख पनि बन्न सकेका छैनन् । त्यसमा पनि घरको जग राखेर दोस्रो किस्ता लिनेको संख्या अहिलेसम्म ७ सय ७६ मात्रै छ ।

दोस्रो किस्ता लिने जम्मा ७ सय ७६

प्राधिकरणको बिहीबार दिउँसोसम्मको तथ्याङ्क अनुसार नुवाकोटमा ६, गोरखामा ४१, सिन्धुलीमा ७३ र मकवानपुरमा ६ सयले दोस्रो किस्ता बुझेका छन् । तथ्याङ्क बाहेक पनि ५६ जनाले दोस्रो किस्ता बुझेका प्राधिकरणका सहप्रवक्ता भुषालले जानकारी दिनुभयो ।

प्रभावितले दोस्रो किस्तामा डेढ लाख रुपैयाँ पाउँछन् । अहिलेसम्म दोस्रो किस्तामा ११ करोड ६४ लाख रुपैयाँ वितरण भएको छ । अहिलेसम्म दोस्रो किस्ता पाउनेलाई भूकम्प प्रभावित जिल्लामा खटिएका गैर सरकारी संस्था÷साझेदार संस्थाबाट अनुदान दिएको प्राधिकरणले जनाएको छ । 

११ अर्ब ७५ करोडको अख्तियारी 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागि ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ वितरण गर्न अख्तियारी दिएको छ ।

प्राधिकरणले अघिल्लो हप्ताबाट पहिलो किस्ताको ५० हजार रुपैयाँले आधारभुत तह घरको जग निर्माण सकेका प्रभावितलाई दोस्रो किस्ताको अनुदान रकम वितरण थालेको हो । घर पूर्ण रुपमा बनाइसकेका प्रभावितले भने प्राविधिकको जाँचपासका आधारमा एकमुष्ट अनुदान पाउने व्यवस्था छ । 

घर नबने कारवाही

सम्झौता अनुसार सबैले घर बनाएका छैनन् । घर बनाउँदै गरेका कतिपयको पनि मापदण्ड पुगेको छैन । पहिलो किस्ता लिएका सबैलाई दोस्रो किस्ताको लागि सिफारिस गर्न सक्ने अवस्था छैन । गाविसमा खटिएका प्राविधिकले जाँचपास गरेर दोस्रो किस्ताका लागि सिफारिस गर्न सक्छन् ।

तर घरको जग पनि नराख्ने अनि अनुदान पनि हिनामिना गरे कारवाही हुने प्राधिकरणले जनाएको छ । जुन कामका लागि अनुदान लिएको हो त्यो बाचा पूरा नगरे अनुदानको रकम सरकारी ढुकुटीमै फिर्ता हुने सहप्रवक्ता भुषालले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया