MENU

समाज

ujyaalo forign call inside

रातैभरि हल्ली र खल्ली, भूकम्पले पार्दियो बिचल्ली

श्यामशितल परियार/उज्यालो ।  

लमजुङ, पुस ७ – सारङ्गीले सामान्यतया विरहका धुन निकाल्छ । अनि त्यही धुनमा गाइने दाइहरु आफ्नो श्वर भर्छन् । जसभित्र सुख, ख्यालठट्टा र हासिमजाकका कम तर दुःख बेदना र सन्देशका भाव धेरै हुन्छन् । नेपालको मौलिक बाजा सारंगीसँगै गाइने अर्थात गन्दर्भ जातिको जीविकोपार्जन र पहिचानपनि जोडिएको छ । यो समुदायका धेरैजसोले सारंगी रेटेर र त्यसमा भाका मिलाएर साँझ बिहानको गर्जो टारिरहेका छन् । 

यस्तै मध्येका एक हुनुहुन्छ लमजुङको तार्कुघाटका सीताराम गन्धर्व । सारङ्गी बजाउँदै देशका धेरै ठाउँ पुग्न पाएका सीताराम त्यसमा दङ्ग पनि हुनुहुन्छ । सारङ्गी रेट्दै र गीत गाउँदै पश्चिमका धेरै गाउँ पुगेका सीताराम लमजुङ बाहिर जाँदा परिवारलाई पनि सँगै लिएर जानुहुन्छ ।

सीतारामको रेटाइमा निस्कने सारङ्गीको मधुर धुनमा श्रीमती च्यापुराले पनि भाका खाप्नुहुन्छ । त्यसैबाट हुने कमाइले उहाँको जीवन चलाउने एकमात्र आधार हो । 

सीतारामले १२ वर्षको हुँदादेखि नै सारङ्गी रेट्न थाल्नुभएको हो । अशिक्षा र गरिबीमा पिल्सिएको परिवारमा पढ्नलेख्न नपाएपछि जीवन चलाउन पनि पुर्खाको बिँडो धान्न बाध्य हुनुपरेको उहाँ बताउनुहुन्छ । ‘पढ्नेलेख्ने मन त किन थिएन र तर गरिब परिवारमा जन्म भयो, पढ्नेलेख्ने कुरै भएन,’ उहाँ भन्नुहुन्छ, ‘बाउबाजेले गरिआएको यहि सारङ्गी रेट्ने काम गर्नुको विकल्पै भएन ।’ 

बाँचुञ्चेल सारङ्गी रेट्छु    

सारङ्गी बजाएर र गाएर उहाँले दिनको हजार बाह्र सय कमाइ हुने गरेको छ । अब त सारङ्गी बजाउने पेसालाई नै निरन्तरता दिने उहाँको सोचाई छ । यसै पेशाबाट जीवन चलाउन सजिलो भएको उहाँ बताउनुहुन्छ । ‘खेतीपातीका लागि जग्गा जमिन छैन सीताराम भन्नुहुन्छ पढ्न सकिएन जानेको यही पेशा पनि छोडेर त के गरिखानु र ? दुईमुठी सास चलुञ्जेल  यही सारङ्गी हो सहारा ।’ 

गन्धर्व समुदायका युवा पुस्ताले चासो नदिँदा पुर्ख्यौली पेसा संकटमा पर्दै गएकोमा उहाँले दुःख  पोख्नुभयो । ‘गीत गाउनु, सारङ्गी बजाउनु गन्धर्व जातिको पुख्र्यौली पेसा हो, तर युवाले खासै चासो दिएका छैनन्, त्यसैले सारङ्गी कै पहिचान संकटमा पर्ला जस्तो लाग्न थालेको छ ।’

सारङ्गी बजाउन नसकेका दिन अगेनोमा आगो नबल्ला कि !    

सारङ्गी बजाउँदै गाउँशहर डुल्न सकुन्जेल त ठीकै छ तर हिँड्न नसकेपछि के गति होला ? उहाँलाई चिन्ता लाग्न छोडेको छ । ‘अहिले त बुढाबुढीलाई खान समस्या छैन तर सँधै यसरि नै हिँडडुल गर्न सकिँदैन नि’ ६१ वर्ष पुगेका सीतारामले आडैमा रहेकी श्रीमतीतिर हेर्दै भन्नुभयो त्यो बेला कसरी गर्जो टार्ने होला भन्ने सम्झिँदा औडाहा लाग्छ ।’ 

सम्पत्तिको नाउँमा रहेको एउटा घरपनि भूकम्पले भत्काएपछि सीताराम दम्पत्ति पालमा बसिरहेको उहाँले बताउनुभयो । लमजुङको हर्राबोटमा भेटिएका गन्धर्व दम्पत्तिले वैशाख १२ को भुकम्पलाई सम्झिँदै एउटा गीत पनि सुनाईहाले, ‘रातैभरि हल्ली र खल्ली, भूकम्पले पार्दियो बिचल्ली ......’

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया