MENU

समाज

ujyaalo forign call inside

कहिलेसम्म गैरहला परकम्प ?

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, मंसिर १४ – बतास चलेजस्तै गरी हुँई आवाज र थर्रथर्र कमाउने कम्पनले अझै छाडेको छैन । भूकम्पले हल्लाएका हामी पनि साना तिना परकम्पका बेला पनि अतालिन्छाैं । कतिपय त चिच्याउँदै हतार हतार घर बाहिर अथवा खाली ठाउँ खोज्दै दर्गुछौ । सोमबार बिहान पनि धेरैले यसै गरे । 

५ दशमलव ६ रेक्टर स्केलको परकम्पले फेरि एकपटक धेरैलाई झस्काएको छ । रामेछाप र सोलुखुम्बुको सिमाना केन्द्रविन्दु भएर सोमबार बिहान परकम्प गएको थियो । काठमाडौं उपत्यकासहित भूकम्प प्रभावित जिल्ला र साथै पूर्वमा पनि यसको धक्का अनुभव गरिएको छ ।

यो परकम्पबारे नेपाली र भारतीय सञ्चारमाध्यमले समेत लामो समयपछि भूकम्पको अनुभव भनेर चर्चा गरे । फेसबुक र ट्वीटरमा पनि परकम्पबारे निकै चर्चा भयो । यो परकम्पले बिर्सदै गएको गोरखा भूकम्पलाई फेरि सम्झाएको छ ।

परकम्प आउने क्रम जारी

गोरखाको बारपाक केन्द्र बनाएर भूकम्प गएको २० महिना भइसकेको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दामाथिका ४ सय ७५ परकम्प गएका छन् । 

यसअघि गएको कात्तिक १ गते नुवाकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको थियो । झण्डै डेढ महिनापछि परकम्पको धक्का महसुस भएको हो । साना ठूला परकम्प भने अझै जान छाडेका छैनन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साना ठूला परकम्प लगातार जसो गइरहेका छन् । धेरै परकम्प भने भूकम्प प्रभावित जिल्लामै गएका छन् । 

के हो परकम्प ?

ठूलो भूकम्प गइसकेपछि त्यसले असर गरेको क्षेत्र र आसपासमा जाने मुख्य भूकम्प भन्दा साना धक्का परकम्प हुन् । तर गोरखा भूकम्पको जत्रै ठूलो परकम्प भने विरलै हुने गर्छ । गोरखा भूकम्पपछि भूकम्पको गहिराई यसले गर्ने क्षति र परकम्पबारे अध्ययन अनुसन्धानका लागि नयाँ विषय पनि बनेका छन् ।

यसअघिका अध्ययनले देखाएको कुरा उदाहरणसहित भन्दा जसरी पिङ्ग मच्चाएर छोडियो भने टपक्कै रोकिन्न विस्तारै विस्तारै कम कम हुँदै शून्यमा जान्छ, त्यसैगरी भूकम्पपछिका परकम्प पनि त्यसैगरी रोकिने हुन् ।

‘गोरखाको बारपाक केन्द्र भएर गएको भूकम्पले हल्लाएको जमिनलाई पिङ्गको मच्चाई मान्ने हो भने जसरी रोकिने क्रम रहन्छ ति परकम्प हुन्’ भन्नुहुन्छ, खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटा । उहाँका अनुसार भूकम्पपछिका परकम्प लामो समयसम्म आउँन पनि सक्छन् । दुई परकम्प बिचको समयमा अन्तर हुन सक्छ तर ६ महिना, एक वर्ष जति लामो समय भएपनि परकम्प भने आइरहन्छ । 

कहिलेसम्म आइरहन्छ ?

भूकम्प लगत्तै जमिनमुनि रहेको धेरै शक्ति बाहिर निस्कने र चट्टानमा ठूलो दरार पैदा हुने गर्छ । यसरी पैदा भएको दरारले चट्टानलाई कमजोर पारिदिन्छ । कमजोर चट्टानमा साना साना चिरा पर्ने क्रम सुरु हुन्छ ।

गोरखा भूकम्पपछि परकम्प आइरहनु जमिनमुनि रहेका इन्डियन र तिब्बतीयन प्लेटको मुख्य दरार चलाएमान भइरहनु हो । त्यसैले सामान्य झड्का महसुस हुनु ठूलो भूकम्पपछि एउटा सामान्य प्रक्रिया नै मानिन्छ ।

चिरा पर्दै गर्दा आउने यस्ता परकम्पले नागरिकलाई त्रसित बनाइरहेका छन् । सापकोटाका अनुसार ठ्याक्कै यो महिना वा वर्ष भित्र परकम्प सकिन्छ भनेर किटान गर्न नसकिने अहिलेको अवस्था हो । तर गोरखा केन्द्र भएर गएको भूकम्पको परकम्प भने अझै केही वर्ष आइरहन्छ । 

असर के हुन्छ ?

परकम्पको असर त्यस ठाउँमा हुने कम्पनमा भर पर्छ । परकम्प जाने केन्द्रको नजिक कम्पनको मात्रा धेरै हुन्छ भने टाढा हुँदै जाँदा घट्दै जाने गर्छ । ठाउँ अनुसार त्यहाँको भौगोलिक बनावटका आधारमा पनि फरक पर्ने हुन्छ ।

केन्द्रविन्दुबाट जति टाढा गयो, क्षति त्यति नै कम हुँदै जान्छ र सम्बन्धित स्थानको भौगर्भिक अवस्था वा माटो अनुसार केन्द्रबिन्दुबाट टाढा रहेको स्थानमा पनि साना कम्पन बढ्न गई ठूलो क्षति हुन पनि सक्छ । परकम्प पनि मुख्य भूकम्पले जस्तै असर गर्न सक्ने पनि हुन्छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ठूलो भूकम्पपछि लामो समयसम्म परकम्प आइरहने भएकाले नआत्तिन तर सावधानी अपनाउन आग्रह गर्दै आएको छ । ‘परकम्प कहिले रोकिने हुन् ठ्याक्कै भन्न नसकिने हुँदा कसरी सुरक्षित हुने भन्ने उपायबारे ध्यान दिनु महत्वपूर्ण हो’ भन्नुहुन्छ भूगर्भ विभागका उपमहानिर्देशक सापकोटा । 

परकम्पका बेला के गर्ने ?

ठूलो भूकम्पको धक्कापछि अहिले साना परकम्प जाँदा पनि मानिसहरु आत्तिने, भाग्ने, हामफाल्ने क्रम रोकिएको छैन । पहिलेको जस्तै तर्सिएर, आत्तिएर होईन कसरी सुरक्षित हुन सकिन्छ भनेर ध्यान दिनुपर्ने बेला आएको छ । परकम्प आउँदा मुख्य भूकम्पले कमजोर बनाएका घर संरचनालाई थप क्षति गर्न सक्छ ।

सापकोटा भन्नुहुन्छ, 'हामीले घर आफ्नै सुरक्षाका लागि भनेर बनाएका हौं त्यसैले घरको सुरक्षित क्षेत्र पहिल्लै तय गरौ, परकम्पका बेला खस्न सक्ने सामानलाई बलियो गरी सुरक्षित ठाउँमा राखौ, भत्कन सक्ने घर या अन्य संरचनाबाट टाढै बसौं अनि आत्तिने नगरौं।'

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया