MENU

समाज

ujyaalo forign call inside

पैसा त कति कमायौँ कति पुगेन, ज्यानको त ख्याल गर्नुपर्‍यो नि

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, मंसिर ७ – दोलखा भिमेश्वर नगरपालिका–५ कोलेका मुक्तिनाथ चौलागाईं उमेरले ६५ वर्ष पुग्नुभयो । बितेका २० बर्षमा उहाँ घर बनाउने काममै लाग्नुभयो । भूकम्प नआउँदै एक तले, दुई तले, तीन तले साना ठूला कति घर बनाइयो भन्ने उहाँलाई हेक्कासम्म छैन । तर आफै डकर्मी भएर बनाएको आफ्नै घर पनि भूकम्पले सग्लो राखेन । 

घर गुमाए पनि उहाँको ज्याने बच्यो । पुरानो सीपले बलियो र सुरक्षित घर बन्न सक्दैन भन्ने बुझेका उहाँले अहिले सुरक्षित घर बनाउने तालिम लिनुभएको छ । ‘अहिलेसम्म कति घर बनाए, कति पैसा कमाए, पुग्यो भन्ने त दिनै आएन, भूकम्पले ज्यान त लगेन अव जसरी भएनि सुरक्षित बास बनाउनुपर्छ’ चौलागाईँ भन्नुहुन्छ ‘पैसा त कति कमायौ कति पुगेन, ज्यानको त ख्याल गर्नुपर्‍यो नि ।’

सुरक्षित घर बनाउने तालिममा युवाभन्दा बुढापाका धेरै

पोहोर वैशाख १२ गते र २९ गतेका भूकम्पको बेला कतिपय घर एक धक्कामै भत्किए । पहिलो धक्कामा नभत्किएका घर पनि लगातारका परकम्पले भत्किए । आफैले बनाएका घर भूकम्पले भत्काएपछि अहिले सिकर्मी डकर्मीलाई सुरक्षित घरबारे चासो बढेको छ । घर कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने तालिममा सहभागीहुनेहरु त झन् युवा भन्दा पाका उमेरका बढी छन् । गाउँमा युवाको अभाव त छँदैछ भएकालाई पनि घर बनाउने काममा त्यति चासो छैन । त्यसैले पनि पहिलादेखि नै काम गर्दै आएका बुढापाकाले तालिममा धेरै चासो लिएका हुन् ।

भूकम्प प्रभावितले अनुदान किस्ता लिन र भविष्यको जोखिम कम गर्न पनि अब बन्ने घर सुरक्षित बनाउनुपर्छ भन्ने डकर्मीहरुलाई राम्रोसँग थाहा छ । प्रभावितले पनि तालिम प्राप्त र सीपयूक्त डकर्मी नै खोज्न थालेका छन् । प्राविधिकबाट पहिलो पटक यसरी तालिम लिएका डकर्मी सिकर्मीलाई घरको जग राख्नेदेखि कसरी बलियो हुन्छ भन्नेसम्म सिकाइएको छ ।

तालिम प्राप्त सिकर्मीको अनुभव 

भिमेश्वर नगरपालिका ६ क्यादिछापका अर्का डकर्मी इराज भण्डारीले पनि सुरक्षित घर बनाउने तालिम लिनुभएको छ । पहिलेदेखि नै बाँस, निगालो र काठको काम गर्दै आएका उहाँले यसपालीबाट सुरक्षित घर बनाउन थाल्नुभएको हो । उहाँ आफै पनि भूकम्प प्रभावित हो । तालिममा यसअघि घर किन भत्कियो ? के के कमजोरी हुँदा घर कमजोर हुन्छ भनेर ज्ञान पाएको भण्डारीले बताउनुभयो । ‘गल्ती कमजोरी हुने ठाउँ बुझेका छाँ, अवदेखि धेरै झ्याल राख्दैनौँ, ठाउँ ठाउँमा जडान÷बन्धन राख्छौ’ प्रतिवद्धता जनाउँदै उहाँले भन्नुभयो ‘सानो कुरा पनि बिर्सिदैनौ, भैहाल्छ नि, चलिहाल्छ नि भनेर हतार हतार गरेर घर बनाउँदैनौं ।’

पहिला सानो होचो घरलाई हेरेर दुखी गरिबको घर रैछ भन्ने अनुमान लगाउने चलन थियो भूकम्पले ठूला, अग्ला घर गर्ल्यामगुर्लुम ढले । ‘च्यापिएर कति मरे । हामीले राम्रो अग्लो ठुलो हैन की आफैलाई ज्यान लिने धराप बनाका रहेछौं’ उहाँले भन्नुभयो ‘अब त यस्तो गल्ती पक्कै गर्नुहुन्न ।’

तालिम लिएकालाई घर बनाउन भ्याइनभ्याई

सानो गल्तीले पनि घर कमजोर हुन सक्छ भन्ने तालिमप्राप्त सिकर्मी÷डकर्मीले ज्ञान पाएका छन् । कतिपयले त तालिम लिएर नयाँ घरसमेत बनाइसकेका छन् । अहिले उनीहरुलाई घर बनाउन भ्याइनभ्याई छ । तालिमपछि त झन् घर बनाउने पुरानो तरिकामा बलियो बनाउने केही सीप पनि थपथाप भएको छ भन्नुहुन्छ दोलखाकै फस्कु गाविस ५ का ६१ वर्षका पदमबहादुर कार्की । तालिमपछि जग कसरी हाल्नुपर्ने रहेछ, कुनाको, झ्याल ढोकाको बन्धन कसरी गर्नुपर्ने रहेछ, छाना कसरी छाउँदा बलियो हुने रहेछ भन्ने कुरा सिकेको उहाँ बताउनुहुन्छ । पहिलेदेखि नै डकर्मी काम गर्दै आएका कार्कीले गएको महिना गाउँमै तालिम लिनुभएको हो । तालिम लिएको एक हप्ता नबित्दै उहाँले घर बनाउने जिम्मा लिएर एउटा घर सकिसक्नुभएको छ । उहाँको टोलीले अहिले दोस्रो घरको जगसमेत बसालिसकेको छ । 

घरको जगमाथि बालुवा सिमेन्ट लगाएर चारकुना विचमा बाँसको ढुग्रोले छेकेर फलामको रड राखिएको छ । अब बिस्तारै माटो र ढुङ्गा राख्दै सुरक्षित घर बनाउने तयारी छ । ‘हामीले पहिले त घर बनाउन नै जानेका रहेनछौं, त्यसैले पो भूकम्पले यति धेरै घर भत्काएको रहेछ’ झण्डै २० वर्षदेखि घर बनाउने काम गर्दै आएका कार्कीले भन्नुभयो । तालिमपछि आफूले सिकेको सीपको सदुपयोग मात्रै भएको छैन, आयआर्जनको माध्यम बनेको छ ।’

सीपयुक्त जनशक्ति खाली बस्नु पर्दैन

भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिएका सिकर्मी/डकर्मी खाली बस्नुपर्ने स्थिति पनि छैन । तालिममा अधिकांश पहिलेदेखि नै गाउँघरमा काम गर्दै आएका बुढापाका सिकर्मी/डकर्मीको सहभागिता छ । अनुदान लिएका झण्डै ४ लाख ५० हजार लाभग्राहीका घर बनाउनुपर्ने छ । यसका लागि तालिमप्राप्त डकर्मीको माग पनि उत्तिकै बढेको छ । तालिमप्राप्त जनशक्तिले दिनको कम्तिमा एक हजार रुपैयाँ ज्याला लिने गरेका छन् ।

निर्माणकर्मी उत्पादनका लागि अभियान

सरकार र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको प्राविधिक सहयोगमा अहिले भूकम्प प्रतिरोधी घर निर्माणका लागि भूकम्प प्रभावित जिल्लामा तालिम सञ्चालन भएको छ । ६० हजार निर्माणकर्मी उत्पादन गर्ने लक्ष्यसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चरणबद्ध अभियान सुरु गरेको छ । 

  • पहिलो चरण–मंसिर मसान्तसम्म २० हजार निर्माणकर्मी उत्पादन गर्ने 
  • दोस्रो चरण– माघभित्र थप १० हजार निर्माणकर्मी उत्पादन गर्ने
  • तेस्रो चरण–फागुन मसान्त सम्म थप ३० हजार निर्माणकर्मी उत्पादन गर्ने 

प्राविधिक इन्जिनियर, सिकर्मी/डकर्मीलाई तालिम र भूकम्प प्रभावित घरधनी आफैको सहकार्यमा अबको पुनर्निर्माण अगाडि बढाउने योजना अनुसार काम सुरु भएको प्राधिकरणले जनाएको छ । पुनर्निर्माणमा महिलालाई पनि सहभागी बनाउने प्राधिकरणको तयारी छ । इन्जिनियरको सल्लाह र सरकारको मापदण्ड पूरा गरेर बनेका घर प्रमाणित भएपछि अनुदानको तीन लाख रुपैयाँ पाइने पनि पुनर्निर्माण प्राधिकरणले स्पष्ट पारेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया