MENU

समाज

ujyaalo forign call inside

किन सुरु हुन सकेन धरहरा पुनर्निर्माणको काम ?

अर्जुन पोख्रेल/उज्यालो । 

काठमाडौं, कात्तिक २३ – पोहोरसालको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको लागि धेरैपटक धेरै सम्झौता र तयारी भए पनि अहिलेसम्म पुनर्निर्माणको काम सुरु हुन सकेको छैन् । नेपालीकै लगानीमा धरहराको पुनर्निर्माण गर्ने भनिए पनि कोषमा थोरै मात्र रकम जम्मा भएको छ भने ठेक्कापट्टालगायतको कामले पनि धरहराको पुनर्निर्माण तत्कालै सुरु नहुने भएको छ । धरहराको पुनर्निर्माण किन ढिलाइ भइरहेको छ त ? यसको पहिलो कारण हो गोश्वरा हुलाक भवन अनि, दोस्रो कारण हो रकम नजुट्नु । 

गोश्वरा हुलाकका कारण यसरी ढिलाइ हुँदैछ धरहरा पुनर्निर्माणको काम

तत्कालिन सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले धरहरा पुनर्निर्माणको काम थाल्न निर्देशन दिएसँगै साउन महिनामा डिजाइनको काम सुरु भयो । सरकारले सुरुमा धरहराको अहिलेकै जग्गामा मात्र नयाँ धरहरा बनाउने भनेपछि १६ लाख रुपैयाँ खर्च गरेर डिजाइन तयार पार्‍यो ।

भूकम्प प्रतिरोधी, फराकिलो ठाउँ र सानो बँगैचासहितको डिजाइन तयार भैसकेपछि धरहरा वरपर धेरै खाली ठाउँ राख्नुपर्ने भन्दै पुरानो डिजाइन खारेज भयो । अहिलेको धरहराको उत्तरपूर्वी भागमा रहेका गोश्वरा हुलाक कार्यालय, टक्सारको भवनलगायतका कार्यालयलाई अन्तै सारेर ४२ रोपनीको क्षेत्रफलमा धरहरा बनाउने प्रस्ताव पारित भएपछि फेरि डिजाइनको काम सुरु भएको छ । थप ६७ लाख रुपैयाँको लागतमा  पुनर्निर्माणको पहिले डिजाइन गरेकै कम्पनी केजे कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले डिजाइनको काम थालेको छ । 

हुलाक कार्यालय र टक्सारको कार्यालय नसारेसम्म धरहरा निर्माणको काम सुरु हुँदैन । २ वटा कार्यालय चारखाल डिल्लीबजारमा सार्न १३ रोपनी जग्गाको बन्दोबस्त भैसके पनि त्यसका लागि लामो प्रक्रिया पुर्‍याउनुपर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताउनुहुन्छ ।

‘टक्सार र हुलाक स्थानान्तरणको लागि भेरियसन फाइल मन्त्रालयमा पठाउने, मन्त्रालयले मन्त्रीपरिषद्मा पठाउने र स्विकृती भएपछि मात्रै नयाँ डिजाइनको काम सुरु हुन्छ, त्यसै कारणले यो लम्बिने देखिन्छ’ उहाँले भन्नुभयो,‘ विभिन्न समिती गठन गरेर सबैको सहमतीमा काम गर्नुपर्ने भएकाले लामो समय लागेको हो ।’

ठूलो खाली ठाउँ र विभिन्न सुविधासम्पन्न परिसर सहितको धरहराको डिजाइनकै लागि पनि सबैभन्दा पहिले टक्सार र हुलाकका कार्यालय समस्या बनेका छन् । 

रकम अभाव अर्को समस्या

गत फागुन ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको थालनी गर्नुभएको थियो । ठुलै उत्साहका साथ सुरु भएको अभियानमा  सबै मन्त्रीले एक महिनाको तलव दिने घोषणा गरेका थिए । त्यसपछि नेपाल पुनर्विमा समितिले १ करोड रुपैयाँ जम्मा गरेको थियो । तर अन्य संस्था र ब्यक्तिले कोषमा रकम जम्मा नगरेपछि सरकारको योजना असफल हुने डर बढेको छ । नेपाली सेनाले धरहरा पुनर्निर्माण कोषमा सोमबार ६ करोड  १७  लाख रुपैयाँ जम्मा गरेको छ ।

३ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य लिइएको आधुनिक धरहरा बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ  । मेरो धरहरा मै बनाउँछु अभियानमा सेनाले दिएकोसमेत जोड्दा झण्डै ९ करोड रुपैयाँ मात्र जम्मा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निित योजना तथा विकास समन्वय महाशाखाका सहसचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । 

तर नेपाल टेलिकम एक्लैले २ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेकोले अनुमानित लागतमध्ये अब ९० करोड रुपैयाँ मात्र अपुग हुने देखिन्छ । रकम नजुट्ने देखेपछि सरकारले नेपाल टेलिकमलाई नै धरहरा बनाउने जिम्मा दिन पनि सक्ने थपलियाले जानकारी दिनुभयो । 

मौलिकता जोगाउँदै आधुनिक धरहरा बन्नेछ

भिमसेन थापाले १७७२ सालमा बनाएको ११ तले धरहरा १९९० सालको भूकम्पमा भत्किएपछि जुद्धशमशेरले ९ तले बनाएका थिए । तर पोहोरसालको भूकम्पमा धरहरा जरैदेखि भत्किएपछि सरकारले ११ तले बनाउने तयारी गरेको छ । २ सय ४५ फिट अग्लो धरहरा पुरानै ढाँचामा बनाइने भए पनि भूकम्प प्रतिरोधी र आकर्षक बनाइने छ ।

पुरानो धरहरामा काँचो इट्टा, गाइको गोवर, घिउ मासको दाललगायतका सामाग्री प्रयोग गरिएको थियो । अहिले ती सामग्रीको प्रयोग गरेर धरहरा बनाउन सम्भव छैन । तर सरकारले देख्दा उस्तै देखिने गरी ११ तले धरहरा बनाउने तयारी गरेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताउनुहुन्छ ।

४२ रोपनी जग्गामा बन्ने धरहराको वरिपरी बगैँचा, पानीका फोहरा, फोटो खिच्ने ठाउँ, सुन्धारालगायतका ठाउँ हुनेछन् । धरहरा भित्रै थियटर पनि बन्नेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नीति योजना तथा विकास समन्वय महाशाखाका सहसचिव थपलिया अब बन्ने धरहरा कसैले कल्पना नै नगरेको हुने बताउनुहुन्छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया