MENU

समाज

ujyaalo forign call inside

गोरखाको उत्तरी क्षेत्रमा खाद्यन्न संकट

किरण लोहनी/उज्यालो । 

गोरखा, असोज १० – मनासलु पदमार्ग अवरुद्ध भएपछि गोरखाको उत्तरी क्षेत्रका गाविसमा खाद्यान्नको अभाव भएको छ । गएको वर्षको भूकम्पका कारण अवरुद्ध पैदलमार्ग मर्मत हुन नसक्दा त्यस क्षेत्रमा खाद्यान्न ढुवानी हुन नसकेको हो । 

खाद्य संस्थान मार्फत त्यसक्षेत्रका १२ गाविसलाई लक्षित गरी खाद्यान्न ढुवानी हुँदै आएको थियो । तर गएको आर्थिक वर्ष स्वीकृत पाँच हजार क्विन्टल मध्ये झण्डै १८ सय क्विन्टल चामल मात्रै ढुवानी हुन सकेको हो । 

ढुवानी गरिएको चामल गुम्दाको माछाखोला र सिर्दिवास गाविसको फिलिमस्थित डिपोबाट बिक्री हुँदै आएको छ । गएको वर्ष सिर्दिवासका लागि तीन हजार र माछाखोला डिपोमा दुई हजार क्विन्टल चामल पुर्‍याउनु पर्ने भएपनि निकै कम चामल मात्रै ढुवानी भएको हो । सिर्दिवासमा ९ सय ७६ र माछाखोलामा ८ सय ४२ क्विन्टल चामल मात्रै ढुवानी हुन सकेको खाद्य संस्थानको सदरमुकामस्थित शाखा कार्यालयले जनाएको छ । 

गएको जेठसम्म मात्रै चामल ढुवानी भएको थियो । त्यतिबेला पुर्‍याइएको चामल बिक्री भइसकेको तर नयाँ चामल ढुवानी भैनसकेकाले उत्तरी गाविसमा चामलको अभाव भएको हो । चामल ढुवानीको ठेक्का पाएको प्रगति निर्माण सेवाले खराब बाटोका कारण स्वीकृत कोटाको सबै चामल सम्बन्धित डिपोमा पुर्‍याउन नसकिएको जनाएको छ । 

गएको वर्षको भूकम्पका कारण मनासलु पदमार्ग अन्तर्गत उत्तरी क्षेत्र जाने एकमात्रै बाटोको ठाउँठाउँमा पहिरो गएको छ । पहिरो पन्छाएर बाटोको सामान्य मर्मत गरिएपनि ठाउँठाउँमा अझै सुख्खा पहिरो खस्ने क्रम रोकिएको छैन । गएको बिहिबार मात्रै केरौंजा गाविसको दोभान भन्ने ठाउँमा खसेको पहिरोमा पुरिएर एक विदेशी पर्यटकसहित चारजनाको ज्यान गएको थियो । 

मोटरबाटोले नछोएको ति गाविसमा सामान ढुवानीको एकमात्रै साधन खच्चड हो । खच्चड मार्फत बोकाएर लगिएको चामल माछिखोलामा एक किलोको ४२ रुपैयाँ ५० पैसा र सिर्दिवासमा ४७ रुपैयाँमा बिक्री हुने गरेको खाद्य संस्थानको सदरमुकामस्थित शाखा कार्यालयका प्रमुख टेकप्रसाद रेग्मीले बताउनुभयो । बाटो असजिलो भएका कारण पर्याप्त चामल ढुवानी हुन नसकेपछि दुर्गमका ति दुवै गोदाम रित्तिएका छन् । 

सरकारी सहुलियतको सोना मनसुली चामलको अभाव भएपछि त्यस क्षेत्रका बासिन्दा व्यवसायीहरुले लगेको चामल महँगो मूल्यमा किनेर खान बाध्य भएका छन् । सिर्दिवासमा एक किलो चामल एक सय ४० रुपैयाँमा किनेर खानु परेको स्थानीय दिपेन्द्र गुरुङले बताउनुभयो । व्यवसायीहरुले जोखिम उठाएरै भएपनि मुस्किलले चामल ढुवानी गरेका हुन् ।

खाद्य संस्थानको माछाखोला र सिर्दिवासको डिपो रित्तिएपनि सदरमुकामस्थित गोदाममा भने पर्याप्त चामल सञ्चित छ । सदरमुकाममा तीन हजार ८ सय पाँच क्विन्टल चामल सञ्चित छ । 

गएको आर्थिक वर्षको स्वीकृत कोटाबाट ढुवानी हुन नसकेको चामल यो वर्ष ढुवानी गर्नका लागि संस्थानले बल्ल प्रक्रिया अघि बढाएको छ । टेण्डर प्रक्रिया सकेर चामल ढुवानी सुरु हुन कम्तिमा डेढ महिना लाग्ने शाखा प्रमुख रेग्मीले बताउनुभयो । 

मनासलु पदमार्गको निर्माण तत्काल नथाल्ने हो भने त्यतिबेला पनि चामल ढुवानी गर्न समस्या पर्ने यसअघि चामल ढुवानीको ठेक्का लिएका धनकुमार गुरुङले बताउनुभयो । सदरमुकाममा थन्किएको चामल हेलिकप्टर मार्फत ढुवानी गर्ने वा मनासलु पदमार्गलाई जतिसक्दो छिटो व्यवस्थित नगर्ने हो भने गोरखाको उत्तरी क्षेत्रका १२ गाविसमा खाद्यान्नको संकट हुने भन्दै स्थानीय चिन्तित भएका छन् । 

चामलसँगै त्यहाँ अरु दैनिक उपभोग्य वस्तुको पनि अभाव हुन थालेको छ । उपलब्ध सामग्री पनि निकै चर्को मूल्यमा किन्नु पर्ने बाध्यता रहेको बिही गाविसकी लुना गुरुङले बताउनुभयो । जिल्लाको दुर्गम उत्तरी गाविसहरु कम्तिमा २२ कोषदेखि ५२ कोषसम्म टाढा छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया