MENU

समाज

ujyaalo forign call inside

गोरखामा प्रक्रिया पूरा गरेका सबै प्रभावितको खातामा राहत रकम

किरण लोहनी/उज्यालो ।

गोरखा, भदौ २१ – गोरखाका सबै भूकम्प प्रभावितको खातामा पहिलो किस्ताको अनुदान रकम पुगेको छ । लाभग्राहीको सूचीमा परेका मध्ये प्रक्रिया पूरा भएका सबै प्रभावितको खातामा पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ जम्मा गरिएको जिल्ला विकास समितिले जनाएको छ ।

जिल्लामा लाभग्राहीको सूचीमा ५८ हजार ३ सय २४ को नाम समावेश थियो । ति मध्ये ४९ हजार ७ सय ६८ जनाले अनुदान सम्झौता गरेका थिए । सम्झौता गरेका मध्ये सबै प्रक्रिया पूरा गरेका ४८ हजार ६ सय ५८ जनाको खातामा पहिलो किस्ता बापतको रकम जम्मा गरिएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत सतिशकुमार भट्टराईले बताउनुभयो ।

५० हजार रुपैयाँका दरले पहिलो किस्ताको अनुदान बापतको दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँ जम्मा गरिएको उहाँको भनाई छ । सम्झौता गरेका मध्ये ११ सय १० जनाको केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रकम जम्मा गर्न नसकिएको भट्टराईको भनाई छ । जिविसको खातामा रकम मौज्दात रहेकाले बाँकी काम पूरा गरेपछि उनीहरुको खातामा पनि रकम जम्मा गरिने उहाँले बताउनुभयो ।

५८ हजार ३ सय २४ जनाले सम्झौता गरेको भएपनि बुढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दा र लाप्राकवासीसँग अनुदान सम्झौता नगरिएको जिविसले जनाएको छ । लाप्राकमा गैरआवासीय नेपाली संघले व्यक्तिगत आवास निर्माणका लागि सरकारसँग सम्झौता गरिसकेको छ ।

बुढीगण्डकी प्रभावितसँग सम्झौता हुन सकेको छैन । लाप्राकमा ५ सय ७३ भूकम्पपीडितको नाम लाभग्राहीको सूचीमा छन् । बुढीगण्डकी प्रभावित क्षेत्र अन्तर्गत गोरखाका १४ गाविसका प्रभावितसँग तत्काल सम्झौता हुने नहुने बारे टुंगो नलागेकाले जिल्लामा अनुदान सम्झौता र पहिलो किस्ताको रकम निकासाको काम सकिएको स्थानीय विकास अधिकारी नारायण आचार्यले बताउनुभयो ।

पहिलो किस्ताको अनुदान रकम निकासा भएपनि रकम निकालेर व्यक्तिगत आवास बनाउने क्रम भने सुरु भएको छैन । धेरैजसोले खातामा जम्मा भएको रकमनै ननिकालेको जिविसले जनाएको छ । जिल्लामा १५ वटा बैङ्कले खाता खोल्ने प्रक्रियामा सघाइरहेका छन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया