MENU

समाज

ujyaalo forign call inside

ट्याक्सी दर्ताको गोलाप्रथा दुई महिनापछि

काठमाडौं, भदौ ९ – भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ । गएको साउन २ देखि भदौ ५ गतेसम्म दर्ता भएका निवेदनको जाँच गरी तीनपुस्तेसहितको सूची प्रकाशनको प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने भएकाले त्यसपछि मात्र गोलाप्रथाबाट छनौटको प्रक्रिया सुरु हुने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले राससलाई बताउनुभयो ।

‘सोचेभन्दा धेरै बढीले आवेदन दर्ता गराएकाले यसको जाँचका लागि पनि समय लाग्नेछ, जाँचपछि भूकम्पपीडित नभए तिनको आवेदन खारेज हुन्छ, पीडितले पनि एकभन्दा बढी निवेदन दर्ता गराए त्यो पनि खारेज गरिनेछ’ उहाँले भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार साउन ५ गतेदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पपीडितले दर्ता गर्न पाउने गरी विसं २०७२ जेठ २८ र त्यही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको मन्त्रालयले जनाएको छ ।

ट्याक्सी दर्ताका लागि साउन ५ देखि भदौ २ गतेसम्मको समय तोकिएको थियो । भदौ २ गते र त्यसपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले आइतबार आवेदन दिने अन्तिम मिति थपिएको थियो । भूकम्पपीडित परिचयपत्र पाएकालाई अहिलेको भन्दा गुणस्तर र क्षमता कम नहुने गरी एक हजार ५ सय ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन विभागले आवेदन खुलाएको हो ।

भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, ललितपुर र भक्तपुरका भूकम्पपीडित परिचयपत्र पाएकाले आवेदन दर्ता गराएका हुन् ।

निवेदन दर्ताको अन्तिम मिति आइतबारसम्म एक लाख ४७ हजार १ सय ६९ ले आवेदन दर्ता गराएको यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी, बाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिनुभयो । आवेदनका लागि प्रत्येक आवेदकबाट एक सय रुपैयाँका दरले एक करोड ४७ लाख १६ हजार ९ सय राजस्व उठेको कार्यालयले जनाएको छ । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया