MENU

समाज

ujyaalo forign call inside

​विपदपछिको उद्धारका लागि १० वटा केन्द्र

किरण लोहनी/उज्यालो ।

गोरखा, असार १४ – भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेको गोरखामा विपदपछिको उद्धार र राहतका लागि १० वटा केन्द्र मार्फत काम गर्ने गरी तयारी थालिएको छ ।

सकेसम्म नागरिक विपदको मारमा नपरुन् भनेर सचेतना लगायतका काम गर्ने र अप्ठ्यारो परिहालेमा ति केन्द्रहरु मार्फत उद्धार र राहतको काम गर्ने जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ ।

जिल्लाको लापू, लाप्राक, केरौंजा र काशिगाउँ गाविस पहिरोको उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाएको छ । त्यसबाहेक गएको वर्षको वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाक लगायतका गाविसका २२ भन्दा बढी बस्ती पनि पहिरोको जोखिममा छन् ।

पहिरोको उच्च जोखिममा रहेका र अन्य विपदको सम्भावना देखिएका ठाउँलाई आधार बनाएर केन्द्र बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । जिल्ला दैवि प्रकोप उद्धार समितिले शर्माकै नेतृत्वमा ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ ।

जोखिमपछिको उद्धारका लागि माछाखोला, सिर्दिवास, आर्खेत, घ्याम्पेशाल, घैरुङ, मनकामना, वारपाक, भच्चेक, हर्मी, सिम्जुङ, सौरपानी र पालुङटारमा केन्द्र बनाइने शर्माले जानकारी दिनुभयो । 

यस्ता केन्द्रमा सावेल, गल, लाइफ ज्याकेट, हेलमेट लगायत उद्धार सामग्री संकलन गरेर राखिने छ । यस्तै निर्माण व्यवसायी संघसँगको सहकार्यमा डोजर, स्काभेटर लगायत सामग्री पनि सकेसम्म केन्द्र आसपासबाट सहजै उपलब्ध हुने गरी व्यवस्थापन गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

जिल्ला विकास समिति, रेडक्रस लगायतसँग भएका उद्धार सामग्रीको आँकलन गरी थप चाहिने सामग्रीको विवरण १४ दिनभित्र तयार पारिने छ । यस्तै सुरक्षा निकायसँग भएका सामग्री पनि १० वटै केन्द्रमा केन्द्रित गर्ने र नपुग सामग्रीका लागि केन्द्रमा पत्राचार गरिने शर्माको भनाई छ ।  जिल्ला सदरमुकामबाट १० वटै केन्द्रसम्म पुग्ने मोटरबाटो गाडी चल्न योग्य बनाइराख्न जिल्ला विकास समिति र सडक कार्यालयले काम गर्ने भएका छन् । 

यस्तै सबै गाविसमा गाविस स्तरको उद्धार समिति गठन गर्ने र उनीहरुलाई पनि उद्धार सामग्री उपलब्ध गराइने जिल्ला दैवि प्रकोप उद्धार समितिको तयारी छ । उनीहरुलाई आवश्यक तालिम दिनका लागि जिल्लामा कार्यरत गैरसरकारी संस्थालाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

जिल्ला दैवि प्रकोप उद्धार समिति ठूलो संख्याको हुने र विपद भइहालेमा तत्काल उद्धारको काम थाल्न अलमल हुने भएकाले समिति अन्तर्गत छुट्टै ¥यापिड रेस्पोन्स टिम बनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । टिममा तीनवटै सुरक्षा निकायका प्रतिनिधि, केही सरकारी कार्यालय, रेडक्रस, पत्रकार लगायत रहेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया