MENU

समाज

ujyaalo forign call inside

गोरखाका ४३ गाविसमा अनुदान सम्झौता, १४ हजार गुनासो

गोरखा, असार १३ – भूकम्प पीडितसँग आवास पुनर्निर्माणका लागि गोरखामा अहिलेसम्म ४३ गाविस र एक नगरपालिकामा अनुदान सम्झौता सकिएको छ ।

असारभित्र सबै गाविस र नगरपालिकामा सम्झौता सक्ने लक्ष्यसहित काम भइरहेको पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयले जनाएको छ । जिल्लाको पालुङटार नगरपालिकासहित ४३ गाविसमा अनुदान सम्झौता सकिएको उपक्षेत्रीय कार्यालयले जनाएको छ ।

४३ गाविस र एक नगरपालिकाका ३८ हजार ९ सय १५ लाभग्राहीसँग अनुदान सम्झौता गरिएको उपक्षेत्रीय कार्यालयका अधिकृत गुणराज भट्टराईले बताउनुभयो । ५८ हजार पाँच सय तीन घरधुरी मध्ये अन्य घरधुरीसँग क्रमशः अनुदान सम्झौता चल्ने भट्टराईले बताउनुभयो ।  

जिल्लाको हिमाली गाविस सामागाउँ, ल्हो, प्रोक, चुम्चेत र छेकम्पारमा अनुदान सम्झौता सुरु भएको छैन । बिही गाविसको भने एक सय ७० घरधुरीले अनुदान सम्झौता गरिसकेका छन् । यस्तै घ्याल्चोक, श्रीनाथकोट, बक्राङ, तान्द्राङ, धावा र खोप्लाङ गाविसमा पनि अनुदान सम्झौता हुन सकेको छैन ।

अनुदान सम्झौता सकिएका गाविसबाट लाभग्राहिको सूचीमा आफ्नो नाम छुटेको भन्दै उजुरी गर्ने क्रम बढेको छ । हालसम्म १४ हजार तीन सय ३५ जनाले उजुरी दिएका छन् । अनुदान सम्झौता सकिएका गाविसका सचिव पनि गुनासो फाराम के गर्ने भन्ने अन्यौलमा परेका छन् ।

सेवाग्राहीले गुनासोको छिटो सुनुवाई गर्न दवाव दिएपनि उनीहरुको चित्त बुझाउन नसकिएको भूकम्पको केन्द्रविन्दु बारपाक गाविसका सचिव चेतप्रसाद अंगाईले बताउनुभयो ।

पुनर्निर्माण चाँडो सुरु गर्न जिल्लाभर नै अनुदान सम्झौता टोलीसँगै पीडितको गुनासो संकलन गर्ने टोली परिचालन गरिएको छ । नक्कली पीडितले लाभग्राही सूचीमा नामावली भएको तर सक्कली पीडित छुटेकाका कारण गाविसमा काम गर्न गाह्रो भएको अधिकांश सचिवको भनाई छ ।

गुनासो सुनुवाईको प्रक्रिया लम्बिँदै जाँदा वास्तविक पीडित पहिचान गर्न समेत गाह्रो हुन सक्ने केराबारी गाविसका सचिव रामप्रकाश चौधरीले बताउनुभयो ।

गाविस सचिवमार्फत वितरण गरिएको रातो कार्ड नक्कली पीडितले पनि पाएको बताउँदै निजी घर क्षतिको लगत संकलन गर्न गैरसरकारी संस्थाका इन्जिनियर परिचालन गरिएको थियो । उनीहरूले संकलन गरेको तथ्यांकमा पनि प्रशस्तै त्रुटी भेटिएको पीडितको गुनासो छ ।

इन्जिनियरहरूले जिल्लाभर ५८ हजार पाँच सय तीन निजी घरको अनुदान पाउन योग्य भनेर सूची तयार पारेका थिए । तर गाविसमार्फत ६६ हजार एक सय ४४ पीडितले रातो कार्ड पाएका थिए । गुनासो सुनुवाई गर्नका लागि कार्यविधि बनिरहेको पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया