MENU

समाज

ujyaalo forign call inside

गोरखामा भूकम्पपीडितका लागि सेनाले बनायो २० दिनमा ५ सामूहिक आवासगृह

किरण लोहनी/उज्यालो ।

गोरखा, असार १० – नेपाली सेनाले गोरखामा भूकम्पपीडितका लागि ५ वटा सामूहिक आवासगृह बनाएको छ । नेपाली सेनाले ५ गाविसमा ५६ परिवारका लागि आवास गृह बनाएको हो । भूकम्पपीडितका लागि बनाइने १० वटा सामूहिक आवास भवनमध्ये ५ वटाको काम सकिएको सेनाको रणसिंदल गणले जनाएको छ । 

केरौंजा, स्वाँरा, खरिबोट, मुच्चोक र थूमी गाविसमा सामूहिक आवास निर्माण सकिएको रणसिंदलका गणपति पर्वतराज गिरीले बताउनुभयो । रक्षा मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयबिच भएको सम्झौता अनुसार सेना सामूहिक आवास निर्माणमा खटिएको उहाँको भनाई छ ।

केरौंजा गाविसमा निर्माण गरिएको सामूहिक आवासगृहमा ८ परिवार र अरु ४ गाविसमा १२/१२ परिवार बस्न मिल्ने गिरीले बताउनुभयो । ‘आवासगृहमै प्रत्येक परिवारलाई छुट्टाछुट्टै भान्छा र चार परिवार बराबर एउटा शौचालय बनाइएको छ’ उहाँले भन्नुभयो, ‘बाहिरी गाह्रोको सट्टा जस्तापाताले बारिएको छ भने भित्र प्लाइउडको पार्टेशन गरेर छुट्टाछुट्टै कोठा बनाइएको छ ।’

सबै आवासगृह बनाउन १ करोड ७० लाख ७१ हजार २ सय १८ रुपैयाँ खर्च भएको गणपति गिरीले जानकारी दिनुभयो । जेठ २० गतेबाट काम थालेको सेनाले २० दिनमा निर्माण सकेर भवनहरुको साँचो जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको छ । 

यसअघि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ५ र नेपाली सेनाले ५ वटा आवासगृह बनाउने तयारी गरिएको थियो । तर भवन डिभिजन कार्यालयले टेण्डर आब्हान गरेपनि कसैले इच्छा नदेखाएपछि सबै आवास गृह बनाउने जिम्मा सेनालाई दिइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।  

जिल्ला दैवी प्रकोप उद्धार समिति र जिल्ला विकास समितिको समन्वयमा अब सेनाले  वारपाक, लाप्राक, गुम्दा, सौरपानी र घ्याच्चोकमा सामूहिक आवास निर्माण गर्न गर्ने भएको हो । कुनै ठाउँमा जग्गाको ब्यवस्था नभए मान्बु, श्रीनाथकोट, धावा र उहीयामा पनि सामूहिक आवास निर्माण गर्न सकिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

उनीहरुका लागि छुट्टाछुट्टै कोठाको ब्यवस्था र शौचालय, सोलार, खानेपानी लगायतको पनि ब्यवस्था गरिने प्रजिअ भट्टले बताउनुभयो ।  वर्षायाममा आफ्नो टहरो नभएका कारण बिचल्लीमा पर्न सक्ने परिवारलाई राख्नका लागि यस्तो घर बनाउन लागिएको हो । त्यहाँ बस्ने आश्रित परिवारले नयाँ घर बनाइसकेपछि सामूहिक आवास गृहलाई सामुदायिक हीतको अन्य काममा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी भट्टले बताउनुभयो । असार भित्रै १० वटा सामूहिक आवास बनाइसक्ने भनिएपनि अरु ५ वटाको निर्माण कहिलेदेखि सुरु हुन्छ भन्ने विषय टुंगो लागेको छैन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया