MENU

समाज

ujyaalo forign call inside

पानी घट्टले चलेको गुजारा

हिमनाथ देवकोटा/उज्यालो ।

रसुवा, जेठ १८ – रसुवाका सदरमुकाम धुन्चेबाट ७ किलोमिटर उत्तरमा पर्ने भार्खुमा बाटो केहीमाथि एउटा जस्ताको टहरा देखिन्छ । टहरामुनिबाट पानी बगेको छ । त्यही टहरा भित्र पाको उमेरका व्यक्ति बसेका छन् । ती वृद्धको यो घर नभई बिहान बेलुकाको छाक जुटाउने थलो, पानी घट्ट हो ।

टहरोमा बसेका ७० वर्षका छिरिङ नुर्पु तामाङको अनुहार चाउरी परेको छ । कपडा तथा अनुहार भरी पिठो लागेको छ । छिरिङको हात घट्टका सोलीसँगै चलायमान छन् । घट्ट एकनासले घुमिरहेको छ । सोलीमा रहेको मकै बिस्तारै झरिरहेको छ । केही मानिस मकै तथा गहुँ पिस्न लागि पालो कुरेर बसेका छन् । गएको २० वर्षदेखि तामाङ दम्पतीले घट्ट चलाएर जीविकोपार्जन गरिरहेका छन् । पुस्तादेखि चल्दै आएको पेशा थाम्नका लागि छिरिङले घट्ट चलाउन थालेका हुन् । युवा अवस्थादेखि नै घट्ट चलाउन सुरू गरेका छिरिङको उमेर ढल्कियो तर पेशा भने उस्तै छ । छोराछोरी छुट्टिएर बसेका छन् । तामाङ दम्पतीका लागि बुढेसकालको सहारा भनेकै घट्टबाट भएको आम्दानी हो ।

छिरिङले मुस्कुराउँदै भन्नुभयो ‘अब त धान कुटाउने मिल पनि आएको छ, यसलाई बिजुली जोडेर सञ्चालन गर्नुछ ।’ छिरिङको पुरानो घट्ट गएको वर्षको भूकम्पले भत्काएपछि अहिले आधुनिक घट्ट बताउनुभएको छ । गैरसरकारी संस्थाले दुई लाख ६७ हजारको लागतमा आधुनिक घट्ट निमार्णका साथै धान कुट्ने मिलको व्यवस्था गरिदिएपछि छिरिङको दुई जनाको परिवारलाई सजिलो भएको छ । छिरिङले एक पाथी मकै पिसेको आधा मानाको दरले ज्याला लिने गुर्नभएको छ । ‘बर्खाको समयमा त एक दिनकै मुरी जती पिस्ने गरेको छु, हिउँदमा भने पानी कम आउने हुँदा दश पाथीसम्म पिसिन्छ ।’ उहाँले भन्नुभयो ।

घट्ट चलाएरै बुढाबुढीको गुजार चलेकाले खुसी रहेको छिरिङले बताउनुभयो । ठूलोभार्खुका बासिन्दा उँहाको घट्टमा अन्न पिस्न आउने गरेका छन् । सानोभार्खुकाका केही बासिन्दा पनि अन्न पिस्न उहाँकै घट्ट आउँछन् ।

‘परम्परागत घट्टलाई सुधार गरेर आधुनिक तरिकाले सञ्चालन गर्दा छोटो समयमा नै धेरै काम गर्न सकिने रहेछ पहिला यस्तो थाहा थिएन ।’ तामाङले भन्नुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया