Total Hits: 2.2 K

​लगानी गर्न लगन कुर्नु पर्दैन

सनत प्रसाद सापकोटा ।

सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन भने केहीले सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन । सम्पन्नता प्राप्त गर्नका लागि धेरै कुराले प्रभाव पार्दछ । 

ती धेरै कुराहरु मध्ये व्यक्तिको सोच र लगानीको शुरुवात पनि महत्वपूर्ण हुन्छ । व्यवसायिक लगानीको शुरुवात गर्नका लागि बचत, जोखिम र यसका आयामहरुलाई बुझ्ने क्षमताले सफलता निर्धारण गर्न सहयोग पुर्‍याउँछ । त्यस्ता सोचहरुलाई यहाँ केलाउने प्रयास गरिएको छ । 

मानिसका खर्च गर्ने व्यवहार फरक फरक हुने गर्दछ । कोही भविष्यको बारेमा केही पनि सोच्दैनन र आम्दानी भए जत्ति वा ऋण गरेर भए पनि खर्च गर्दछन । अर्काथरी व्यक्तिहरु आम्दानी भन्दा खर्च कम गर्छन र बाँकी भएको रकम बचत गर्छन । तेस्रो प्रकारका मानिसहरु आफूसँग भएको पूँजी वा कुनै माध्यमबाट पूँजी जम्मा परेर सानो वा ठूलो लगानी गरिरहन्छ । 

पहिलो प्रकारका मानिसहरु जसले आम्दानी भन्दा खर्च धेरै गर्छन । क्षणिक रमाईलो त पाउँछन नै तर धेरैको भविष्य अन्धकार हुन्छ किनकी आर्थिक श्रोत भनेको सँधै जुट्दैन । मानिसमा सँधै त्यो शक्ति रहँदैन जसले गर्दा उसले कमाएर खर्च गरिरहन सकोस । पैतृक सम्पत्तिको दोहन गर्नेहरुको कथा भने फरक होला । 

धनलाई हातको मयल मानिन्छ । यो कुन बेला आउँछ र कुन बेला जान्छ यसको ठेगान हुँदैन । अर्कोथरी मानिसहरु पैसा पाउने वित्तिकै बचत गरिरहन्छन् ।  कमाउनु भन्दा पैसा जोगाउनु ठुलो हो भनेर जानेका हुन्छन । सानै उमेरदेखि पैसा बचाउनु पर्छ भनेर सिकाइएको हुन्छ । यिनीहरु कमाउनु र बचत गर्नु फरक कुरा रहेछ भन्ने कुरा बुझेका हुन्छन । 

खर्च गर्न र लगानी गर्न कन्जुस्यार्इँ गर्ने प्रकारका बचतकर्ताहरु भविष्यको अन्तरालमा बचत गर्ने मानिस पनि गरिब पनि हुन सक्छ । बचत गर्ने मानिस त धनी बन्नुपर्ने हो तर कसरी गरिब भयो त ? बचत गर्नु मात्र पर्याप्त हुँदैन किन भने बचत रकममा प्राप्त हुने ब्याजको रकम वार्षिक मुद्रास्फ्रिती दर भन्दा कम भयो भने पैसाले आफ्नो मूल्य गुमाउँछ । 

साधारणतया नेपालको परिप्रेक्ष्यमा हेर्दा बचत गर्दा प्राप्त हुने ब्याज वार्षिक मुद्रास्फ्रिती दर भन्दा कम हुन्छ । जसले गर्दा पैसाको मूल्य अर्को वर्ष त्यत्ति नै रहँदैन । त्यसकारण बचत भनेको छोटो समयको लागि र आपतकालिन अवस्थाको लागि मात्र गर्नु पर्छ । त्यसो भए के बचत गर्नु हुँदैन भन्न खोजिएको हो त ? अवश्य पनि होइन बचत गर्नु पर्छ बचतलाई लगानीको रुपमा प्रयोग गर्नु पर्छ । तुलनात्मक फाइदालाई मूल्यांकन गरी बचतलाई लगानी गर्नु पर्दछ । लगानीबाट मात्रै समृद्धि सफल हुन्छ । 

बचत गर्नु भनेको पैसालाई बचाउनु हो, सुरक्षित राख्नु हो । पैसालाई बचाउने मात्र होइन यसलाई बढाउने पनि गर्नु र्छ । बढाउनका लागि लगानी गर्नुपर्छ । लगानी गर्नु भनेको बचत वा पूँजीलाई कुशलतापूर्वक परिचालन गर्नु हो । 

हामी धेरैजसो पैसाको लागि काम गर्छौ । हाम्रो सम्पूर्ण शक्ति पैसा प्राप्त गर्ने हुन्छ । तर हामीले पैसालाई हाम्रो काम गर्ने जिम्मा दिन सकेको अवस्थामा हाम्रो बोझ हलुका हुन्छ । त्यो तब मात्र सम्भव छ जब हामीले लगानी गर्ने सोच विकास गर्छौ । बचत भनेको बीऊ हो । लगानी भनेको यसको खेती गर्नु हो । 

एकथरी मानिसहरु पैसा भएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोच आफै आउँछ भन्ने कुरामा विश्वास गर्छन । तर सत्य त्यो होइन । जसले पैसा नहुँदा नै यदि मसँग पैसा भएको अवस्थामा यसरी खर्च, बचत र लगानी गर्छु भनेर योजना बनाएको हुन्छ सोही अनुसार पैसाले पाइला चाल्छ नत्र भने पैसाले कुनबेला पखेटा हाल्छ थाहा हुँदैन ।  

सबै व्यक्तिहरु आर्थिक रुपले स्वतन्त्र हुन चाहन्छन् अर्थात जीवनको कुनै अवस्थामा काम गर्न नसकिने अवस्था आएमा वा काम नगरे पनि आम्दानी भने भइरहोस् । जसरी पैसाको लागि जीवन बन्दगीमा थियो त्यो मुक्त भएर पैसाले आफ्नो लागि काम गरोस् । 

त्यो कुरा बचतबाट पनि सम्भव छ । तर बचत सकिने दर बढी हुन्छ । सावाँमा नै चोट लाग्न थालेपछि प्रतिफल कमजोर हुन्छ । मानिसले वित्तीय स्वतन्त्रता पाउन चाहन्छ भने उसले आर्थिक लगानीलाई बढाउनु पर्दछ । लगानी भए पछि पैसाले काम गर्न थाल्छ तब हामी वित्तीय रुपमा स्वतन्त्र हुन सक्छौं ।

लगानी गर्ने सोच आउनु भन्दा अगाडि हामीमा थुप्रै अन्य सोचहरुले पनि जरा गाडीसकेको हुन्छ । जस्तै देशमा लगानी वातावरण बनोस अनि लगानी गरौंला, अलि ठुलो पूँजी होस् अनि लगानी गरौंला । धेरै नाफा दिने काम पत्ता लागोस अनि लगानी गरौंला ।

सानै उमेरमा लगानी गर्न हुँदैन, सानो व्यक्तिले लगानी गर्न सक्दैन त्यसकारण उमेर ठुलो भएपछि लगानी गरौंला । जागीर खाँदा लगानी गर्न फुर्सद छैन जागीरबाट बाहिर आएपछि लगानी गर्न शुरु गरौंला । राज्यले छुट दिन्छ अनि व्यवसाय गरौंला । गरीब छु गरीबले कसरी लगानी गर्न सक्छ ? त्यसकारण धनी हुन्छु अनि लगानी गरौंला, एक्लैले लगानी गर्न सकिँदैन साथी खोज्छु अनि लगानी गरौंला । मलाई लगानी फाप्दैन, यो वर्ष साइत छैन अर्को वर्ष गरौंला, धन भनेको भाग्यमा लेखेको हुन्छ । 

धनी हुनु छ भने जसरी पनि धनी भइन्छ भन्ने सोचहरुको प्रभावले हामीहरु लगानी गर्दैनौं । लगानी गर्नका लागि कुनै साइत, लगन, समय र अवसरको प्रतिक्षामा बसिरहन्छौं । 

अहिले जोखिम बढी छ, पछि जोखिम कम हुन्छ अहिले पर्खिने हो भन्ने जस्ता विभिन्न सोचहरुले लगानी गर्नका लागि पाइला चाल्न रोकेको हुन्छ । कुनै व्यवसायमा साच्चिकै जोखिम पनि हुन्छन तर धेरै जसो व्यवसायहरु शुरु नहुनुमा वातावारण र जोखिम भन्दा पनि सकारात्मक सोचको कमी कै कारणले व्यवसायहरु सुरुवात हुन सकिरहेको हुँदैन ।

यसको अर्थ जोखिमलाई वेवास्ता गर्ने भन्ने होइन । जोखिम तथा वातावरणलाई नबुझी लगानी गर्ने भन्ने पनि होइन । जोखिम रहित अवस्था सायदै कुनै पनि समयमा होला । जोखिम जहिले पनि छ । जोखिमलाई कसरी सामना गर्ने वा जोखिम सामना गर्ने क्षमता हुनु आवश्यक छ ।

पानीमा जहिले पनि जोखिम छ किनकी यसले डुबाउँछ । तर जो पानी माथी तैरिन जान्दछ उसले त्यसको मज्जा लिन्छ । उसका लागि त्यो अर्को किनारमा पुग्ने माध्यम बन्छ र त्यो अवसर बन्छ । लगनशिल भएर कुनै व्यवसायमा लगानी गर्ने वा व्यवसाय संचालन गर्ने सोच राखेमा अवश्य सफल भइन्छ । चुनौती आउन सक्छन, जोखिम आउन सक्छ । तर ती चुनौती तथा जोखिमहरुले राम्रो ज्ञान तथा सीप प्रदान गर्छन जसबाट भविष्यमा अझ बलियो रुपमा  व्यवसायमा टिकिरहन सक्षम बनाउँछ । 

जुन विरुवा हावा आउँदा पनि अडिन्छ त्यसको जरा झन मजबुद हुन्छ । व्यवसाय गर्दा प्राप्त हुने सिकाइ नै सबभन्दा ठुलो गुरु मन्त्र हो । अरुको नक्कल र सिद्धान्त र सफलताको कथा त्यो समयको सन्दर्भमा ठीक हुन्छ तर हाम्रो व्यवहारिक सिकाइ बढी यथार्थपरक हुन्छ । 

सिकाईको निरन्तरताका लागि व्यवसायमा आवश्यकता अनुसारको परिमार्जन सहित अनवरत सहभागिताको आवश्यकता हुन्छ । जसले खेलको मैदान छोड्दैन उसको मात्र खेल जित्ने सम्भावना बाँकी रहन्छ । सिकाइबाट प्राप्त उपलब्धीहरु वा उपायहरुलाई अबलम्बन गर्दै निरन्तरता प्रदान गरेमा व्यवसायिक सफलता प्राप्त हुने सम्भावना अधिक हुन्छ । 

जोखिमको सामना गरेपछि मात्र जोखिमको अवस्था थाहा हुन्छ र त्यसलाई पराजित गर्न सकिन्छ । यदि डोरीलाई नै सर्प मानेर डराइरहेमा त्यसले हामीलाई कमजोर बनाउँछ । तर नजिक गएर हेर्‍यौं भने त्यो सर्प नभई डोरी पनि हुनसक्छ । यदि सर्प नै रहेछ भने पनि मरेको हुन सक्छ वा विष नभएको सर्प हुन सक्छ । 

विषालु सर्प रहेछ भने जोखिमको स्तर थाहा हुन्छ त्यसप्रति झन सतर्क बनाइराख्छ । जोखिम र यसको असरको अनुभव जसले भोग्यो उसलाई मात्र थाहा हुन्छ । यसकारण जोखिमदेखि डराउने होइन । जोखिमलाई सामना गर्दै पूर्ण तयारीका साथ व्यवसायिक लगानी गर्नका लागि अगाडि बढ्नुपर्दछ । 

कर्म र व्यवहारबाट आफैं अनुभुत नगरी अरुले भनेका कुराहरुमा विश्वास गर्न सिकाइएको छ । जस्तै  सानो उमेरदेखि नै हामीलाई भाग्यमा विश्वास गर्न सिकाईको छ । भाग्य कसैले लेखिदिन्छ र सोही अनुसार जीवन चल्छ भन्ने कुरा बुझाइएको छ । हामी त्यो कुरालाई हुर्काउँदै जीवन बिताइरहेका छौं । त्यसकारण हामी हाम्रो आफ्नो प्रयास भन्दा पनि कहिँकतैबाट कुनै चमत्कार हुने आशमा छौं । चमत्कारिक रुपमा भविष्यमा धनि हुने आशमा वर्तमानलाई गुमाईरहेका छौं । 

हामी बिउ नरोपी फल फल्ने आशमा छौं । धेरै जसो व्यक्तिलाई कामै नगरी पैसा आओस् भन्ने अपेक्षा पनि छ । तर वास्तविकता लगानी नगरी प्रतिफल प्राप्त हुँदैन । हामी समयलाई पर्खिरहन्छौं तर समयले हामीलाई पर्खिदैन । समयले हामीलाई अवसर प्रदान गरिरहेको हुन्छ तर त्यको भाषा बुझ्ने क्षमता हामीमा हुँदैन । समयले प्रदान गर्ने व्यवसायिक अवसरको भाषा बुझ्नका लागि सबै व्यक्ति वित्तीय साक्षर हुनु र वित्तिय रुपमा सजग हुनु जरुरी हुन्छ ।

वैदेशिक रोजगारीमा गएका कामदारहरुले पठाउने रकम उच्च भएको अहिलेको अवस्थामा उपभोग तथा सुविधाहरुको खपत अत्याधिक छ । उत्पादन एक दम कम छ । वैदेशिक आयात एकदम बढी छ । तसर्थ सोझै भन्न सकिन्छ की व्यापार फस्टाउने अवसर धेरै छ । तर हामी व्यवसाय सुरु गर्नका लागि कुनै लगन कुरेर बसीरहेका छौं । लगानी गर्नका लागि लगन नकुरौं लगनशिल भएर लगानी गरौं ।

(सापकोटा सुरक्षित आप्रवासन परियोजना सामीमा वरिष्ठ तालिम अधिकृत तथा वित्तीय साक्षरता फोकल पर्सनका रुपमा कार्यरत हुनुहुन्छ ।)

  • आफ्नो कथा, तस्बिर र भिडियोहरु पठाउनुहोस्

    तपाईं कामका सिलसिलामा नेपाल बाहिर हुनुहुन्छ वा विदेशमा काम गरी फर्किनु भएको हो भने तपाईंको परदेश बसाईको अनुभव पठाउन आग्रह गर्दछौं । तपाईंले आफ्नो तस्बिर सहित पठाउनु भएका सामग्री हामी यहाँ राख्छौं । यसैगरी तपाईंले खिचेका सुन्दर र रोचक तस्बिरहरु तथा भिडियो पनि desh@unn.com.np मा इमेल गर्नुहोला । तस्बिर तथा भिडियो पठाउँदा आफ्नो नाम, हाल तपाईं बस्नुभएको ठाउँ, नेपालको ठेगाना र तस्बिर वा भिडियो कहिले, कहाँ खिच्नु भएको हो भन्ने जानकारी सहित पठाउनु होला । 

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More