Total Hits: 5.8 K

छोरा विदेश पठाए साहु धनी, गाउँघरमै दुःख गरे आफैं धनी

गीता आचार्य/खोटाङ, आचार्यगाउँ ।

मेरा चार जना छोराछोरी छन् । छोरी अहिले १० कक्षामा पढ्छिन् । तीन छोराले चाहिँ पढ्न भन्दा पनि कमाउन तिर ध्यान दिए । त्यसैले ऋण काढेर तीन जनालाई नै विदेश पठाएँ । छोरा मेरा तर उनीहरुले विदेशमा गरेकाे दु:खले साहु धनी भए । 

सय कडा तीनको ऋण तिर्दा तिर्दै छोराहरु फर्किने बेला भैहाल्ने । घर त जस्ताको तस्तै । विदेशको कमाइ खहरे खोलाको भेल जस्तै हुने रहेछ । 

केही समयअघि हाम्रो गाउँमा एउटा कक्षा हुने भयो । बुढेसकालमा हामीजस्तालाई पढाउने कक्षा कस्तो होला भन्ने लाग्यो सुरुमा सुन्दा त । छोराहरुलाई पढाउन त्यस्तै भयो मै भएपनि पढेर केही सिक्नु पर्‍यो भन्ठानेर म त्यो कक्षामा बस्न थालें । 

कक्षामा त काइदाको कुरा पो पढाइदो रहेछ । हुन त मैले त्यो कक्षामा छोराहरु विदेशमा भएकै कारण हो बस्न पाएको । छोराले विदेशमा कमाएको पैसा कसरी जोगाउने भन्ने त सिकें नै त्यो भन्दा बढी त मैले आफैले कमाउने बाटो समाएँ । 

तीन छोराले विदेशमा कमाएर नसुध्रिएको व्यवहार हिजोआज म आफैले मिलाउन थालेको छु । सिजन अनुसारको तरकारी रोप्छु, दूध, दही र घ्यु बेच्छु ।  पहिला पहिला समस्या पर्दा १० रुपैयाँ पनि नपत्याउने साहुहरु हिजोआज मैले आम्दानीको बाटो गरेको देखेपछि ऋण पनि पत्याउछन् । 

तर खेतबारी, बाख्रा, कुखुरा र गाइभैसी पालेर गरेको आम्दानीले नुनतेल धानेको छ । अनि, थेरथोर बचत पनि गर्न थालेको छु । अहिले त मलाई समस्या पर्दा १० हजार रुपैयाँसम्मको जोहो गर्न साहुको मुख ताक्न पर्दैन । 

म खेतबारी र डटेर कुटोकोदालो गर्न सक्दिन् । बिमारले थलिएको ज्यान भएपनि तगडा मनले काम गर्छु । श्रीमानले पनि सघाउनुहुन्छ । मिलेर काम गर्दा सजिलो पनि भएको छ । 

गाउँघरमै पनि आम्दानी गर्ने बाटो प्रसस्तै रहेछन् भन्ने जानेदेखि मलाई विदेश ठीक लाग्दैन । जेठोलाई विदेश पठाएँ, कमाएको ऋण तिर्दै ठिक्क । माइलोलाई कान्छोलाई पठाएँ ठ्याक्कै त्यस्तै । अनि साहु धनी बनाउन आफ्ना छोराको ज्यान किन घोटाउनु जस्तो लाग्छ । 

अर्कातिर पराइ देश पुगेका सन्तानलाई भवितव्य परिहाल्ने हो कि भन्ने चिन्ता । विदेशमा कमाइ होला भन्दा ऋणले आच्छु आच्छु बनायो । अहिले धेरथोर आफैले गर्दा आनन्दले नुनतेल किन्न पुगेको छ । बचत गरेको पैसाले समस्या पनि टरेको छ । किन जानु विदेश ?

गीता आचार्यसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

  • आफ्नो कथा, तस्बिर र भिडियोहरु पठाउनुहोस्

    तपाईं कामका सिलसिलामा नेपाल बाहिर हुनुहुन्छ वा विदेशमा काम गरी फर्किनु भएको हो भने तपाईंको परदेश बसाईको अनुभव पठाउन आग्रह गर्दछौं । तपाईंले आफ्नो तस्बिर सहित पठाउनु भएका सामग्री हामी यहाँ राख्छौं । यसैगरी तपाईंले खिचेका सुन्दर र रोचक तस्बिरहरु तथा भिडियो पनि desh@unn.com.np मा इमेल गर्नुहोला । तस्बिर तथा भिडियो पठाउँदा आफ्नो नाम, हाल तपाईं बस्नुभएको ठाउँ, नेपालको ठेगाना र तस्बिर वा भिडियो कहिले, कहाँ खिच्नु भएको हो भन्ने जानकारी सहित पठाउनु होला । 

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More