Total Hits: 1.3 K

​प्रविधिले पनि जोड्न नसकेको घरदेशी र परदेशीको मन

ज्ञानप्रसाद बराल/दुधौली नगरपालिका, सिन्धुली, हाल साउदी ।

अहिले म साउदीमा छु । कमाएर ल्याउछु भनेर घरबाट विदा त भएँ तर पराइदेश सोचेको जस्तो चाहिँ नहुँदो रहेछ । विदेश आइयो । न यहाँ आफन्त छन् न त कुरा बुझिदिनेहरु । मनका कुरा कोसँग सुनाउनु ।

दिनरात नभनी काम गर्दाको थकाइ त छँदैछ । त्यसमाथि सुख दुःख साट्न नपाउँदा झनै गाह्रो हुने रहेछ । मेरो भोगाइ यस्तै छ । 

हिजोआज सञ्चारमाध्यमले टाढा हुनेलाई पनि नजिक त बनाएको छ । तर यस्ता माध्यम सधै पर्याप्त हुँदो रहेनछ । इन्टरनेटले अनुहार हेरिहेरी कुराकानी गर्न मिल्ने त भयो तर मेरो गाउँमा यस्तो कुरा सम्भव छैन् । घरमा कुरा गर्नलाई सिधै स्काइ लाइनबाट कुरा गर्नुपर्छ । वाइफाई र फोरजी त अझै पनि सपनाकै कुरा हो । 

म विदेशमा वाइफाई चलाउछु । मसँग सबैकुराको पहुँच छ । तर घरमा छैन् । स्काइ लाइन मार्फत कुरा गर्दा धेरै खर्च हुने भएकाले सबै कुरा सुनाउन पनि सकिन्न । मनको कुरा मनमै रहन्छ । मेरो मनका कुरा, मेरा वेदना कसलाई सुनाउनु ?

इन्टरनेट चलाउने आफन्तसँग कुराकानी त गर्छु । उनीहरु थपघट, काँटछाँट गरेर कुराहरु सुनाउछन् । त्यस्तो हुँदा उता परिवारलाई पनि चिन्ता यहाँ मलाई पनि चिन्ता । सधै यस्तो चिन्ता हुँदा लाग्छ मलाई पनि मानसिक रोग त लाग्ने हैन् । 

एक त मनका कुरा पोख्न नपाउनुको पीडा, अर्का तिर घरपरिवारको चिन्ता । लाइन फोनमा धेरै कुरा गरौं भने महिनाभरिको तलब नै सकिन्छ । कुरा नगरौं आफन्तले घरमा अनेक कुरा सुनाउछन् । परिवार र मलाई पनि चिन्ता । 

इन्टरनेट चलाउनेहरुले परिवारका मान्छेलाई सुनाउने कुरा र मैले फोनमा २ मिनेट गर्ने कुरामा आकाश जमिनको फरक हुँदो रहेछ ।  मैले फोनमा सुनाएको कुरा भन्दा इन्टरनेट चलाउनेले बारम्बार सुनाएको कुरामा बढी विश्वास हुँदो रहेछ । 

मैले परिवारलाई सम्झाउने कोसिस पनि गर्छु तर मसँग कुनै प्रमाण छैन् । विश्वास दिलाउन सकिने कागज पनि के नै पो होला र । विदेशमा आएर सम्पर्कविहीन हुने, फुर्मास गर्नेहरु त धेरै छन् तर म त दुःख गरिरहेको छु । यो कुरा मैले परिवारलाई कसरी बुझाउनु । मलाई यो कुराले साह्रै चिन्ता हुन्छ । कामना गर्छु मलाई डिप्रेसन नहोस् ।

(साउदीमा रहनुभएका ज्ञानप्रसाद बरालले रेडियो कार्यक्रम देशपरदेशमा डिप्रेसनको बारेमा सुनेपछि उज्यालोको इमेलमा पठाउनुभएको भोगाई)

  • आफ्नो कथा, तस्बिर र भिडियोहरु पठाउनुहोस्

    तपाईं कामका सिलसिलामा नेपाल बाहिर हुनुहुन्छ वा विदेशमा काम गरी फर्किनु भएको हो भने तपाईंको परदेश बसाईको अनुभव पठाउन आग्रह गर्दछौं । तपाईंले आफ्नो तस्बिर सहित पठाउनु भएका सामग्री हामी यहाँ राख्छौं । यसैगरी तपाईंले खिचेका सुन्दर र रोचक तस्बिरहरु तथा भिडियो पनि desh@unn.com.np मा इमेल गर्नुहोला । तस्बिर तथा भिडियो पठाउँदा आफ्नो नाम, हाल तपाईं बस्नुभएको ठाउँ, नेपालको ठेगाना र तस्बिर वा भिडियो कहिले, कहाँ खिच्नु भएको हो भन्ने जानकारी सहित पठाउनु होला । 

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More