MENU

विशेष

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा !

उजिर कार्की/उज्यालो । 

नवलपरासी/झापा, असार १३ – नवलपरासीको देवचुली बजारको सडक पूर्वको आकर्षक दुई तले घरको भुर्इंतलामा ३५ वर्षकी हरिमाया लामा आफ्नै टेलर्समा कपडा सिलाउँदै हुनुहुन्छ । अरुका कपडा सिलाउने हरिमायाको मन भने युएईमा काम गर्न गएका श्रीमान् रामबहादुर अचानक मारिएपछि २२ महिनादेखि छिया छिया भएर फाटेको छ । 

पूर्व पश्चिम राजमार्गको दलदले चोकबाट दुई किलोमिटर छिचोलेपछि मुन्डे जाने कच्चिबाटो हुँदै देवचुली पुग्छ । देवचुलीमा धुलाम्मे सडकको पूर्वपट्टि आकर्षक दुई तले घर छ । घर बाहिर टाँगिएका ध्वजा फर्फराई रहेका छन् । घरको छतमा रहेको पूजा कोठामा बुद्धको फोटो राखिएको छ । फोटो अघि दिउँसै पनि बत्ति बलिरहेको छ ।  

नवलपरासीको देवचुली ७ मा रहेको आफ्नै घर अगाडी हरिमाया  

बुद्धको यो फोटो अघि बत्ति ननिभेको २२ महिना भयो । २२ महिना अघि रोजगारीका लागि युएई पुगेका श्रीमान् रामबहादुर लामा २०७२ साउन २२ गते राती मारिएपछि २३ वर्ष पहिले जोडिएको हरिमाया र रामबहादुरको यात्रामा बिराम लाग्यो । सँगै जुनी काट्ने बाचा टुटे, हरिमायाको मन टुक्रा-टुक्रा भयो ।  

हरिमायाकी १४ वर्षकी ठूली छोरी आयुष्मा कक्षा ७ मा पढ्छिन् । उनी विद्यालयबाट फर्किएकी छैनन् । भर्खरै विद्यालयबाट फर्किएकी १२ वर्षकी कान्छी छोरी आयुषा हरिमायाको छेउमा बसेर मोवाइल खेलाउँदै छिन् । यो मोवाइल रामबहादुरले विदेशबाटै पठाइदिएका हुन् । 

हरिमायाका श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा झापाका विष्णुप्रसाद उप्रेती दुवईको जेलमा छन् । विष्णु रामबहादुरका साथी थिए । दुवईको एक कम्पनीमा दुवै जना गाडी चलाउँथे । दुई वर्षदेखि एउटै कोठामा बस्ने, सँगै खानपिन गर्ने । 

त्यो रात पनि अरु साथीहरुसहित विष्णु र रामबहादुर सँगै खानपिन गर्दै थिए । राती ११ बजेतिर रामबहादुरले हरिमायालाई फोन गरेर भनेका थिए ‘क्यान्टिनको खाना मिठो भएन, मासु ल्याएर कोठामै बनाउँदैछु ।’ 

हरिमायाले नपत्याउने कुरै भएन । पहिले देखिनै रामबहादुर खाना बनाउन जाँगरिला थिए । यस्तो भवितव्य पर्ला भन्ने हरिमायाले सोच्नु पनि भएको थिएन । झण्डै १७ वर्ष परदेश बस्दा श्रीमानले साथीभाइसित झगडा गरेको  खबर सुन्नु परेको थिएन । 

परदेश गएपछि रामबहादुर दिनैपिच्छे फोन गर्थे । अनि हरिमाया र छोरीहरुसँग कुरा गर्थे । घटना भएको दिन दिउँसो पनि छोरीसँग बोल्न खोजेका थिए । तर छोरीहरु बाहिर खेल्न गएकाले बोल्न पाएनन् । राती पनि छोरीसँग बोल्न खोजे । छोरीहरु माथिल्लो तलामा टेलिभिजन हेर्दै थिए । भुर्इंतलाको टेलर्समा कपडा सिलाउन व्यस्त हरिमायाले छोरीहरु सुतिसके अब भोलि बोल्नु भन्नुभयो । भोली श्रीमानको फोन आउला भन्नेमा हरिमाया ढुक्क हुनुहुन्थ्यो । 

भोलीपल्ट बिहानै हरिमायाका दाइले फोन गरेर भन्नुभयो, ‘ज्वाईंलाई फोन गर, बिरामी हुनुहुन्छ ।’ रातीसम्म कुरा गरेकी हरिमायालाई त्यो खबर विश्वास लागेन । तर विरामी भनेपछि फोन नगरी मन मानेन । 

धुकचुकाउँदै रामबहादुरको मोवाइलमा फोन गर्नुभयो । बारम्बार घण्टी जाँदापनि फोन उठेन । फोन नउठेपछि हरिमायालाई अत्यास लागिसकेको थियो । 

त्यसपछि युएईमै कार्यरत गाउँका दाइलाई फोन गर्नुभयो । दाइले पहिलो वाक्यमै सम्झाउँदै भने, ‘दाइको राती हत्या भयो, अब पीर नगर्नु जे हुनु भइगो ।’ 

खबर सुनेपछि हरिमायाको मन बुझ्ने कुरै भएन । उहाँको होस् उड्यो । बेहोस भएर ढलेकी हरिमायासँगै रुन थाले छोरीहरु पनि । आमा रोएको देखेर रोएका छोरीहरुलाई भने बाबुको मृत्युबारे कसैले बताएनन् । बरु दिनहुँ बाबुसँग फोनमा कुरा गर्ने बानी परेकी कान्छी छोरीले सोध्न थालिन्, ‘ममी किन बुबाले फोन गर्नुहुन्न त’ हरिमायाले यसको साँचो जवाफ दिनुभएन, ‘बुबाको फोन विग्रिएको छ रे, बनाएर फोन गर्नुहुन्छ ।’ 

विद्यालयबाट फर्किंदै गरेकी छोरी हेर्दै हरिमाया 

१० वर्षकी आयुष्माले आमाको कुरा नपत्याउने कुरै भएन । बुबाको फोन बन्ला र कुरा गर्न पाइएला भन्ने आशामा बसिन् । तर फेरि पनि फोनमा कुरा गर्न नपाएपछि भनिन्, ‘बाबाको फोन बनिएन अरे, नयाँ किन्नु भन्नु न ।’ 

बालख छोरीको अनुहारमा आँशु देख्न नचाहेकी हरिमायाले साँचो कुरा त भन्न सक्नुभएन । बरु आफैं अर्को कोठामा गएर रुन थाल्नुभयो । अहिले पनि यो कुराले पछुतो लाग्छ, ‘मैले छोरीहरुलाई ढाँटेको छु, भोली थाहा पाए भने के भन्लान । यो कुरा थाहा पाएपछि छोरीहरुको प्रतिक्रिया कस्तो होला, बाबुको मृत्यु स्वीकार्न सक्लान कि नसक्लान् ।’

बुवाको खबर अब त छोरीहरुले थाहा पाएजस्तो शंका हरिमायालाई लाग्न थालेको छ । ‘ठूली छोरीको चालचलन हिजोआज बदलिएको छ । बाहिर फेर हिंड्न मान्दिन । कोठमा पढेर बस्छे, घरमा आएका मान्छेसँग पनि कुरा गर्न मन पराउँदिन । कान्छीले पनि सोध्न छाडी, सायद कसैले भनिदिए होला ।’ हरिमायाले अनुमान लगाउनुभयो । 

हुन त घरको भित्तामा टाँसिएको रामबहादुरको तस्बिरमा खादा ओढाइएको छ । भित्तामा टाँसिएका अरु भन्दा छुट्टै छ रामबहादुरको तस्बिर । तर ती बालखले त्यो अनुमान लाउन सकेका छैनन् । हरिमायाका नजर भने तिनै तस्बिरमा ठोकिइ रहन्छन् । र त्यसको झस्काले मुटुमा हान्छ । आँखाबाट मूल फुट्छ । 

कसैले कुटेर मारेको श्रीमान् सम्झिएर उहाँले मन बुझाउने ठाउँ भेट्नु भएको छैन । ‘मृत्यु जस्तोसुकै होस् नमिठो नै लाग्छ । तर कालगतीले मरेको भए मन बुझाउने बाटो हुन्थ्यो होला । फेरि हाम्रो मान्छे त्यस्तो फटाहा थिएनन्,’ भक्कानिंदै हरिमायाले भन्नुभयो, ‘मेरो भाग्य नै यस्तो होला ।’ 

२०५१ सालमा भरिएको हरिमायाको सिन्दुर पुछियो । यसअघि पाँच वर्षको अवधिका सासु, ससुरा र साईंलो देवर गुमाएकी हरिमायाले श्रीमान् पनि गुमाउनु पर्‍यो । २०६८ सालमा सासु बितेपछि हरिमायाको परिवारमा पीडादायक दिन सुरु भएको थियो। 

२०७० सालमा साईंलो देवर बिते । साईंलो देवर र हरिमायाका श्रीमान रामबहादुर जुम्ल्याहा हुन् । साईंलो देवर परिवार सहित भारतमा बस्थे । उच्च रक्तचापका कारण उनको भारतमा नै ज्यान गयो । साईंलो देवर बितेको एक वर्ष नपुग्दै ससुरा पनि बिते । अब त मृत्युको श्रृङ्खला रोकिएला भन्ने आश थियो हरिमायालाई, तर परार साउनमा श्रीमान् नै गुमाउनु पर्‍यो । 

साईंली देउरानीलाई सम्झाई बुझाई गर्ने हरिमायाले उही पीडा भोग्नु प¥यो । पहिले हरिमायाको मनमा प्रश्न उब्जिन्थे, ‘कसरी खेपेकी होली साईंलीले यस्तो पीडा, कसरी सहन सक्दी हो बिचरा ।’ तर चार वर्ष नबित्दै उहाँ आफैंले त्यस्तै पिडा भोग्नु भयो । र थाहा पाउनु भयो, ‘मर्न नसकेर पो बाँचिदो रहेछ ।’

लामा परिवारको विगत साह्रै रमाइलो थियो । विशालटारमा चार दाजुभाइ र बुहारीहरु मिलेर बसेका थिए । खेतीपातिले नै चलेको थियो परिवार । तर पछि भिन्न बस्न थालेपछि परिवार मात्रै छरिएनन्, सँगै छरिए खुसी पनि । 

विद्यालयबाट फर्किएका छोरीहरुसँग हरिमाया 

दुवईमा गाडी कुदाउने रामबहादुरको परिवारमा ब्रेक लाग्यो । रामबहादुरको हत्या अभियोगमा विष्णु दुवईमा जेल परे । चार महिनापछि रामबहादुरको भने शव नेपाल आयो । 

लामा संस्कार अनुसार रामबहादुरको काजकिरिया गरियो । श्रीमानको पीडाले हरिमायालाई घरमा बस्न मन लागेन । रामबहादुरको पसिनाले बनेको घरमा उहाँ बिना बस्न हरिमायालाई पनि गाह्रो भयो । जता हेरे पनि उनकै याद । 

त्यसपछि रामबहादुरको कमाइले बनेको दुईतले घरमा २०७२ सालको पुसमा ताला लाग्यो । गुजारा चलाउने माध्यम बनेको टेलर्स रामबहादुरको मृत्यु भएको खबर पाएकै दिन देखि बन्द भयो । घर नजिकैको भिमसेन माविमा पढ्दै गरेका छोरीहरु लिएर २०७२ साल पुसमा हरिमाया काठमाडौं आउनु भयो । 

मनभरी पीडा बोकेर दुई छोरी डोर्‍याउँदै बाटो लागेकी हरिमायाको दिनचर्या काठमाडौंको नयाँ बसपार्क नजिकैको सानो कोठामा सुरु भयो । तर काठमाडौंमा तीन महिना बस्दा पनि हरिमायालाई पीडाले छाडेन । श्रीमानको मृत्यु पछि दुवईबाट आउने आम्दानीको बाटो बन्द भइसकेको थियो । सँगै थोरैतिनो कमाई गर्ने मेलो बनेको टेलर्स पनि बन्द भएको थियो । 

आम्दानीको श्रोतहरु नै बन्द भएपछि अभाव चुलिन थाल्यो । काठमाडौं बस्न थालेपछि छोरीहरुको पढाइ बिग्रिने डरले हरिमाया तीन महिनापछि घर फर्किनु भयो । घर फर्किए पछि पहिलेकै विद्यालयमा छोरीहरु पढ्न थाले । 

रामबहादुर पहिलो पल्ट २०५५ सालमा विदेश गएका थिए । यस अघि साउदी र कतारमा काम गरेर फर्किएका रामबहादुर र हरिमायाले दुई महिनापछि युएईबाट फर्किएर अब परदेश नजाने सल्लाह गरेका थिए । तर त्यो सल्लाह पूरा हुन नपाउँदै टुंगियो रामबहादुरको जीवन । 

२०६० सालमा रामबहादुरको परिवार देवचुली सरेका थिए । घरको छेउमा १० कठ्ठा खेत पनि जोडे । परदेशमा कमाएको पैसाले रामबहादुरलाई विसालटारमा खेत किन्न मन भएपनि हरिमायाले घडेरी किनौं भनेपछि देवचुलीमा घडेरी किनेका थिए ।  २०६० सालमा एक तले घर बनाए । 

त्यही एक तले घरमा झण्डै १० वर्ष बित्यो । छुट्टिमा घर फर्किएर २०७० सालमा दुवई पुगेका रामबहादुरको त्यसपछि राम्रो कमाई भयो । महिनै पिच्छे ५० हजार देखि एक लाख रुपैयाँसम्म पठाउन थाल्नुभयो । त्यसपछि घरको तला पनि थपियो । रंगरोगन सकियो । 

घरको डिजाइन र रंगरोगनका बारेमा रामबहादुरले परदेशबाटै सोधिखोजी गर्नुहुन्थ्यो । हरिमायाले यताबाट फेसबुकमा फोटो पठाइदिनु हुन्थ्यो । घरको फोटो हेरेर निक्कै खुसी हुने रामबहादुरले पूरा भएको घर भने देख्न पाउनु भएन । 

श्रीमानको कमाई र आफ्नो खटाइले बनेको घरमा सँगै बस्न त भाग्यले साथ दिएन नै देख्न समेत नपाएको कुराले हरिमायाको मन अहिले पनि अमिलो हुन्छ । अनि पछुताउँदै सोच्नुहुन्छ, ‘दशा लागेर देवचुली सरिएछ ।’ 

बाबुको मृत्यु भएको झण्डै दुई वर्ष हुन लाग्दा पनि छोरीहरुलाई यो कुरा थाहा छैन् । हरिमायाले पनि भन्नु भएको छैन । ‘ठुली छोरीलाई चाहिँ थाहा छ होला, कान्छीले बिर्सिछ, हिजोआज सोध्न छाडेकी छे’, हरिमायाले भन्नुभयो, ‘मैले सुनाएको चाहिँ छैन तर बावु बितेदेखि ठूली छोरी अर्कै भएकी छे ।’ 

हरिमाया रुँदा हिजोआज छोरीहरुले सोध्छन्, ‘किन रुनु भएको ममी ।’ आफू रोएपनि छोरीहरुलाई रुवाउन मन मान्दैन । बरु ढाँटेर टार्नुहुन्छ ‘मेरो टाउको दुखेको छ छोरी ।’

‘अब बाँच्नु नै छ, जसरी तसरी बाँचिएला तर छोरीहरुको पीडा हेर्न सक्दिन’, हरिमाया भन्नुहुन्छ, ‘सकेसम्म जसरी खुसी हुन्छन् त्यसै गर्छु ।’ 

पहिले घुमफिर गर्न रुचाउने हरिमायाले धेरै भैसक्यो घर नछाडेको । बाहिरफेर हिँड्दा पनि श्रीमानको मृत्युको कुरा निकाल्लान् जस्तो डर लाग्छ । ठूली छोरी आयुष्मा गमी चालकी छन् । हत्तपत्त बोल्दिनन्, बाहिरफेर हिँडडुल गर्न मन पराउँदिनन् । कोठामै बसेर पढिरहन्छिन । आमालाई घरको काम सघाउँछिन् । 

तर कान्छी आयुषा चञ्चले स्वाभावकी छन् । बाहिरफेर खेल्न गइरहन्छिन्, घरमा बस्दा पनि मोवाइलमा खेलेर बस्छिन् । आमासँग भन्दा दिदीसँग डराउँछिन् । दिदी बहिनी खुवै मिल्छन् । आमा टेलर्समा व्यस्त हुने भएकाले गृहकार्य दिदीले नै गराउँछिन् र बहिनीलाई खेल्ने समय पनि तोकिदिन्छन् । 

रामबहादुरका छोरी आयुष्मा र आयुषा दुई वर्ष अघि  

हरिमायाको दिनचर्या भने टेलर्समै बित्छ । अहिले परिवारको गर्जो जार्ने मेसो नै यही टेलर्स हो । बिहान सबेरैदेखि रातीसम्म हरिमाया कपडा सिलाउनमै व्यस्त हुनुहुन्छ । टेलर्स हरिमायाका लागि छोरी पढाउने र परिवारको गर्जो टार्ने मेसो मात्रै बनेको छैन, आफ्नो पीडा भुलाउने माध्यम पनि बनेको छ । यस्तै पीडा झापाकी उमा उप्रेतीलाई पनि छ । 

उही पीडा झापामा पनि 

हरिमायाका श्रीमानको हत्याको आरोपमा उमाका श्रीमान विष्णुप्रसाद उप्रेती दुवईको जेलमा छन् । हरिमायाको घरभन्दा झण्डै पाँच सय किलोमिटर पूर्व झापामा उमाको घर छ । झापाको सुरुङ्गाबाट पूर्व–पश्चिम राजमार्ग छाडेर दक्षिण लागेपछि कन्काइ नगरपालिका ७ को घैलाडुब्बा पुगिन्छ । इलाका प्रहरी कार्यालयको पछाडि एउटा दुई तले र अर्को एक तले घर छ । घर छाएको जस्ताको रंग उडेर खियाले ढाकेको छ । 

छानो जस्तै उमाको खुसी पनि उडिसकेको देखिन्थ्यो । विष्णुप्रसादका ७४ वर्षका बुबा धर्मानन्द उप्रेती मुटुको बिरामी हुनुहुन्छ । रोगको पीडाले मात्रै उहाँको अनुहारको रङ उडेको होइन । काखमा तीन वर्षकी नातिनी बोकेर बसेकी विष्णुकी आमाका आँखा पनि ओभाना थिएनन् । उहाँ पनि मृगौलाको रोगी हुनुहुन्छ । तर त्यसको पीडाले मात्रै आँखाबाट मूल फुटाएको थिएन । 

विष्णुका बुबाआमा र श्रीमती

नवलपरासीका रामबहादुरलाई मारेको आरोपमा छोरो जेल परेको खबर आइपुग्यो, त्यसदिन देखि यो  परिवारको पनि खुसीका दिन सकिए । छोराका बारेमा धेरै खाले खबर आउन थाले । खबर खुसीका थिएनन् ।  

‘कसैले जेलमा छ भने, कसैले झुण्ड्याई सके पनि भने । कसका कुरा पत्याउनु, कसका नपत्याउनु, छोरासँग बोल्न पाएको हैन, हामीले नजानेको ठाउँ’, धर्मानन्दले भन्नुभयो, ‘हामी त लास पो खोज्न थालिसकेका थियौं ।’ 

यस्तो खबर आएपछि परिवारमा रुवाबासी नै चल्यो । छुट्टिएर बसेका विष्णुका परिवार पनि बाआमासँगै मिसिए । कमाएर पठाउँदै गरेका विष्णु जेल परे । गरी खानलाई जग्गा छैन् । भएको १५ कठ्ठा जग्गामा पनि विरिङ खोला पसेपछि बगर बनेको छ । घुर्‍यानमा पाँच कट्ठा मात्रै जग्गा छ । 

परिवार विदेशको कमाइकै भरमा चलिरहेको थियो । रामबहादुर जस्तै २०७० सालमा दुवई पुगपछि विष्णुले पनि महिनाको एक लाख रुपैयाँसम्म पठाउन थालेका थिए । अब त घरको ऋण सकिएको थियो । रोगी बाआमाको उपचार खर्च विष्णुकै भर थियो । माइलो र कान्छो छोरो विदेश गएपनि आफूले जाँदाको ऋण मात्रै तिरे, कमाउन सकेनन् । छुट्टै बसे पनि बाआमाको उपचार खर्च र आफ्ना जहानलाई हेर्ने विष्णु नै थिए । 

विष्णुले परदेश बसेरै भाइबहिनीको विवाह गर्ने खर्च पठाए । ऋण तिरिसकेपछि अब घडेरी किनेर घर बनाउने सल्लाह थियो । सल्लाह त पूरा हुन पाएन नै भेट होला कि नहोला भन्ने विष्णुका बा आमा र श्रीमतीलाई चिन्ता छ । 

धर्मानन्दलाई अब छोरासँग भेट होला भन्नेमा शंका लाग्न थालेको छ । कारबाही के हुन्छ भन्ने पनि उहाँलाई थाहा छैन । जान्ने बुझ्नेले पनि धेरै थरीका कुरा सुनाउँछन् । 

विष्णुको श्रीमती उमा भाँडा माझ्दै, बुबा धर्मानन्द कल चलाउँदै  

विष्णुका बुबालाई छोराले फटाँई गर्‍यो जस्तो लाग्दैन । ‘स्वाभाव साह्रै राम्रो थियो, २४ वर्ष भो गाडी कुदाउन थालेको अहिलेसम्म नराम्रो सुन्नु परेको थिएन । एक्कासी ज्यान मार्‍यो भन्ने खबर आयो’ धर्मानन्दले भन्नुभयो, ‘हाम्रो सन्तानमा कसैले नगरेको फटाईं मेरो छोराले गर्‍यो कि, त्यसलाई फसाइयो, दैव जानुन् ।’

पहिले साउदी बसेर फर्किएका विष्णु २०७० सालमा दुवई पुग्नु भएको थियो । साउदीमा भन्दा कमाई राम्रो भएकाले परिवारमा अव आर्थिक उन्नती होला भन्ने आशा जागेको थियो । तर त्यो आशा लामो समय टिकेन । 

परिवारको विचल्ली भयो । विष्णुका १४ वर्षका छोरा र पाँच वर्षकी छोरी छन् । विष्णु जेल पर्नु पहिले नजिकैको पाथिभरा बोर्डिङमा पढ्दै थिए । बोर्डिङको शुल्क तिर्न श्रीमती उमालाई गाह्रो थिएन, विष्णुको भर थियो । तर विष्णु जेल परे पछि बोर्डिङमा मासिक शुल्क तिर्ने उपाय उमासित भएन । 

मावलीले छोरीलाई दमकमा लगेर पढाइदिने जिम्मा लिए । तर छोराको पढाई बिग्रिने चिन्ता भयो । बोर्डिङमा गएर उमाले बिन्ती गर्नुभयो । त्यो बिन्ती काम लाग्यो । बोर्डिङले विष्णुको छोरालाई निःशुल्क पढाइदिने भयो । विष्णुका भाइका छोरा पनि त्यही बोर्डिङमा पढ्ने भएकाले उनलाई निःशुल्क गरियो । 

विष्णुका छोरा १४ वर्षका भए । तर उनलाई पनि बाबु परदेशमा ज्यान मारेर जेल परेको कुरा थाहा छैन । ‘थाहा पाएपछि के सोच्ला भनेर सुनाएका छैनौं’, आँखा टिलपिल पार्दै विष्णुकी श्रीमती उमाले भन्नुभयो, ‘बाबुको बारेमा सोधिरहन्छ, फोनमा बोल्ने भन्छ । हामीले त कुरा गर्न पाएका छैनौं, उसलाई कसरी दिनु बोल्न ।’ 

विष्णुका बुबा मुटुको र आमा मृगौला रोगको औषधी खानुहुन्छ । रोगले च्यापेका बेला भक्कानिंदै उमालाई सोध्नुहुन्छ, ‘अब मेरो छोरासँग भेट हुँदैन बुहारी ?‘ अब छिट्टै आउनु हुन्छ भनेर वृद्ध सासु ससुरालाई सम्झाए पनि उमालाई नै थाहा छैन विष्णु कहिले आउलान् । 

छन त आमालाई जति नै पीडा उमालाई पनि छ । तर उमालाई रोएर बस्न छुट छैन । आफैं रोए अस्ताउन लागेका बाआमाको मन कसरी अडिएला । जसको चाहना नै मर्नुअघि छोरासँग भेट्ने मात्रै छ । उमासँग आमाले बिलौना गरिरहनुहुन्छ, ‘सानो छउन्जेल भुईंमै नराखी हुर्काएँ, अहिले आफैं दुःख पायो ।’ 

सासु-ससुरालाई सम्झाउनु पर्ने दायित्व पनि उमासित छ । अर्कातिर बालबच्चाको रेखदेख । तर यतिधेरै पीडा भएपनि श्रीमान् फर्किए नेपालमै गरिखाइन्थ्यो भन्ने हिम्मत बाँकी छ उमासित । तर कहिले र कसरी फर्किन्छन् श्रीमान् भन्ने चाहिँ थाहा छैन। 

कसरी फर्केलान् विष्णु ?

विदेशबाट फर्किएकाहरुले दिने जवाफ पनि फरक फरक हुन्छ । कसैले अब झुण्ड्याउँछ भन्छन्, कसैले अब बाँचुन्जेल जेल बस्नु पर्छ र कसैले पैसा जुटाउन सके फर्किन्छन् पनि भन्छन् । तर उमालाई यी जवाफले अन्योलमा पार्छ र कुनचाहिँ सत्य हो छुट्याउन गाह्रो पर्छ । 

 विष्णुका परिवार 

तर यो प्रश्नको जवाफ भने नवलपरासीको देवचुलीमा मात्रै छ । मृतककी श्रीमती हरिमायाले जे कारबाही चाह्यो त्यही कारबाही हुन्छ विष्णुलाई । श्रीमानको हत्या गर्ने विष्णुलाई कारबाही गर्न हरिमायासँग तीनवटा विकल्प थिए । खुनको बदला खुन, ब्लडमनी र आम माफी । यी विकल्पमध्ये हरिमायाले बिचको बाटो अपनाउनु भयो ‘ब्लडमनी’ । 

विष्णु जेल परेको चार महिना पछि बुबा धर्मानन्द देवचुली पुगेर हरिमायालाई बिन्ती गर्नुभयो ‘हामीलाई माफी देउ छोरी ।’ तर हरिमायाले श्रीमानको हत्या गर्नेलाई माफी दिन सक्नु भएन । र विष्णुलाई फाँसी दिने गरी कठोर पनि बन्नु भएन । 

युएईको कानुन अनुसार ‘ब्लड मनी’ स्वीकार्न सहमती जनाउनु भयो । त्यही अनुसार मुद्धा अगाडि बढाउन नेपाली दूतावासमा सहमति पत्र पठाउनु भयो । हुन त अहिले पनि हरिमायालाई आफूले गरेको निर्णयमा छोरीहरुले के भन्लान् भन्ने चिन्ता छ । ‘पैसा नलिउँ भने आमाले पैसा लिएको भए काम लाग्थ्यो भन्लान्, पैसा लिउँ हाम्रो बाबु मार्नेलाई पैसा लिएर छाडिदिनु भएको भन्लान्’, हरिमायाले भन्नुभयो, ‘मलाई निर्णय गर्न मन थिएन, छोरीहरु सानै भएकाले बाध्यता भयो ।’ 

हरिमायाको माग अनुसार सन् २०१६ अप्रिल १८ मा पहिलो पटक ब्लडमनि स्वीकार्ने पत्र युएईस्थित नेपाली दूतावासले त्यहाँको अदालतमा पठायो । सन् २०१६ को मे ३ मा अदालतले फेरि सोध्यो, के कारबाही चाहनु हुन्छ ? दूतावासले फेरि पनि ‘ब्लड मनी’ लिने पीडितको माग सहित कागजात पठायो । युएईको तल्लो अदालतले पीडितको माग अनुसार पाँच वर्ष जेल र झण्डै ५६ लाख २४ हजार रुपैयाँ (२ लाख दिर्हाम) ब्लड मनी पीडितका परिवारले पाउनु पर्ने फैसला गर्‍यो । 

तर एउटा कोठामा बसेर विष्णुको कमाइले चलेको परिवारले त्यो रकम जुटाउन सकेनन् । ‘हामीसँग कहाँ छ र त्यत्रो पैसा, बिर्तामोड बजार जान त ऋण खोज्नुपर्छ’, विष्णुका बुबाले भन्नुभयो, ‘ओखती त वृद्ध भत्ताले खाँदैछु ।’ 

तल्लो अदालतको फैसलापछि विष्णुका परिवारले फेरि अपिल गरे । अहिले यो मुद्धा युएईको उच्च अदालतमा पुगेको छ । उच्च अदालतले पनि गएको बुधबार (जुन २१) मा पत्र पठाएर सोधेको छ अन्तिम पटक भन्नुस्, पीडित परिवार के कारबाही होस् भन्ने चाहनुहुन्छ ? तपाईंहरुको नेपालको ठेगाना सहित पठाइदिनु होला ।

यो पत्रको जवाफ मंगलबार (जुन २७ ) मा नेपाली दूतावासले दिँदैछ – ‘पीडित परिवारले ब्लडमनि लिने । नेपालको ठेगाना नवलपरासीको देवचुली नगरपालिका ७ हो ।’ 

उच्च अदालतको फैसला आउन बाँकी छ । यो मुद्धा हेरिरहेका नेपाली दूतावास युएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार आउँदो सेप्टेम्बर (भदौ/असोज)सम्ममा अन्तिम फैसला आउने छ । 

ब्लड मनीकै पक्षमा फैसला आयो भने पनि विष्णुको परिवारलाई रकम जुटाउन गाह्रो पर्नेछ । कथम्कदाचित पैसा जुटाएर उनी फर्के भने बुवाको बारेमा सत्य थाहा नपाएका विष्णुका १४ वर्षे छोरा र ५ वर्षकी छोरीले त बाबु भेट्न पाउनेछन् । तर रामबहादुरका छोरी आयुषा र आयुष्माले भने पैसा पाए पनि अब बाबुसँग कहिल्यै भेट्न पाउने छैनन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस