Total Hits: 1.4 K

अल्लोबाट आत्मनिर्भर बन्दै पर्वतका महिला

  • Posted: Sunday, May 27, 2018 16:45 PM ( 2 years ago )

पर्वत, जेठ १३ – लेकाली सामुदायिक वनका चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर यहाँका महिलाले आय आर्जन गर्न थालेका छन् । उत्तरी पर्वतको जलजला ६ शालिजाका जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट मात्रै हिजोआज ५० महिलालाई जीविकोपार्जनमा सहयोग पुगेको छ । 

शुरुका दिनमा घरको काम छाडेर अल्लो खोज्न जंगल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । जसमायाका हाल क्याङ र सदरमुकाम कुश्मामा गरी दुई ठाउँ अल्लो प्रशोधन प्रशिक्षण केन्द्र छन् । 

कुश्मामा उहाँले प्रशोधन तथा कपडा उत्पादन उद्योग सञ्चालन गर्नुभएको छ । उद्योगबाट उहाँ आफूले मात्र आम्दानी गर्नुभएको छैन अरू महिलालाई पनि उद्यममा आकर्षित गरिरहनुभएको छ । 

केही हजारबाट शुरु गरेको जसमायाको उद्योगमा अहिले ४५ लाख लगानी पुगेको छ । उहाँले प्रशोधन र तालीम सञ्चालन गरेर मासिक ६० हजारसम्म आम्दानी गर्नुहुन्छ । २०५७ मा उहाँले अल्लोको उपयोगिता बुझेर प्रशोधन शुरु गर्नुभएको हो । त्यसबखत उहाँले एउटा हाते मेसिन किनेर धागो निकाल्ने र कपडा बुन्न शुरु गर्नुभएको थियो । 

क्याङका धेरैजसो महिला अहिले अल्लो संकलन गरेर धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बुन्ने काममा व्यस्त छन् । वनमा उपयोगविहीन अल्लो संकलन गरेर राम्रो आम्दानी हुने थाहापाएपछि क्याङका ५० महिला यो व्यवसायमा आवद्ध भएका हुन् । 

वनको चाल्ने सिस्नो खोजेर उनीहरू गाउँमै प्रशोधन गर्छन् । अल्लोका कपडा मात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी बिना पुनले बताउनुभयो । “कपडा तयार गर्नसके थोरै धागोबाट रामै आम्दानी हुन्छ,” उहाँले भन्नुभयो – “भ्याइएन भने धागो पनि बिक्छ ।” तयारी कपडा प्रतिमिटर रु सात सयसम्ममा बिक्री हुने गरेको छ । अल्लोको धागो स्थानीय बजारमा र कपडा तथा तयारी पोशाक पोखरा, काठमाडाैं र विदेशमा समेत पठाउने गरिएको छ । 

“पहिले घरधन्दामै दिन बित्थ्यो,” उद्यमी झकमायाले भन्नुभयो, “अहिले घरको सबै काम सकेर पनि महिनाको १०–१२ हजार आम्दानी हुन्छ ।” आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गरेको उहाँले बताउनुभयो । उनीहरूले स्थानीय खर्सुवास गैराखर्क, ठूलो टाउका र रेसापातल सामुदायिक वनमा अल्लो संकलन गर्छन् । 

विशेषगरी साउनदेखि मंसिरसम्म संकलन गरेको अल्लो फागुनदेखि असारसम्म प्रशोधन गर्ने गरिन्छ । जाडो र चिसो मौसममा सुकाउन समस्या हुने भएकाले पुस र माघमा कपडा बुन्ने गरिन्छ । फागुनदेखि जेठको अन्तिमसम्म लोक्ता निकाल्ने, पकाउने, पखाल्ने र सुकाउने काम हुन्छ । चरणबद्ध रूपबाट काम गर्दा वर्षभरिका कुनै पनि महिना खाली बस्न नपरेको उद्यमी महिला बताउँछन् । 

स्थानीय सामुदायिक वनहरूले निःशुल्क अल्लो संकलन गर्न दिएका छन् । महिला समूहमै मिलेर काम गर्छन् । वनमा अल्लो संकलन गर्ने, लोक्ता निकाल्ने, सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको उद्यमी जसमायाले बताउनुभयो । 

यसबाट वन पनि सफा भएको छ र महिलाको आम्दानी बढेको छ । उनीहरूलाई समय–समयमा जिल्ला लघुउद्यम विकास कार्यक्रम, घरेलु कार्यालयलगायत विभिन्न संघ संस्थाले तालीम र उपकरण प्रदान गरी सहयोग गर्ने गरेका छन् ।

जलजला गाउँपालिकाले शालिजा, लेकफाँट र बनौंको माथिल्लो भेगको जंगलमा पाइने अल्लोलाई स्थानीयवासीको जीविकोपार्जनसँग जोडेर त्यसको विस्तार गर्ने गरी कार्यक्रम तय गरेको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार महिलालाई अल्लोको उद्यमसँग जोडेर प्रशिक्षण र व्यवसाय प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको छ । 

मोदी गाउँपालिका तीन देउरालीका महिलाले पनि गाउँमै घरेलु उद्योग खोलेर अल्लोका सामग्री उत्पादन गर्दैआएका छन् । २०७१ पुसमा दुई महिलाले अल्लो प्रशोधन उद्योग शुरु गरेकामा हाल उद्यमीको संख्या ११ पुगेको समूहका अध्यक्ष रनमाया गुरुङले बताउनुभयो ।

देउरालीका महिलालाई हालै दक्षिण कोरियाको एक संस्थाले अल्लो प्रशोधन गर्ने मेसिन सहयोग गरेको छ । यसको प्रयोगबाट पहिलेभन्दा तेब्बर छिटो धागो निकाल्न सकिएको छ । देउरालीमा उत्पादन भएका अल्लोका तयारी पोशाकको माग मेसिन सहयोग गरेको कोरियाली कम्पनीले गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस

captcha captcha

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More