Total Hits: 31.9 K

युएईमा १० जना नेपाली अलपत्र, कालोसूचीमा परेको कम्पनीमा कसरी आए कामदार ?

  • Posted: Friday, May 25, 2018 13:19 PM ( 2 years ago )

उमाकान्त पाण्डे/उज्यालो । 

जेठ ११ – युएईको सारजाहमा तीन महिनादेखि १० जना नेपाली अलपत्र परेका छन् । सारजाहको लिडरसिप सेक्युरिटी सर्भिसेसमा काम गर्ने उनीहरुले सम्झौता अनुसारको सेवा सुविधा नपाएपछि अलपत्र परेका हुन् । २ महिनादेखि तलब समेत नपाउँदा खान पनि समस्या भइरहेको उनीहरुले बताएका छन् । 

अलपत्र पर्नेमा सोलुखुम्बुका शेरबहादुर कार्की, दैलेखका शिबराज सिंह, सिरहाका प्रविणबहादुर कार्की, मकवानपुरका अतिराज उप्रेती, ईलामका राजेन्द्र लिम्बु, नवलपरासीका सुरज राजभण्डारी, सर्लाहीका सञ्जित राम, सुनसरीका रोशन बुढाथोकी, मोतिराम तिमिल्सिना र बाराका नारायण पौडेल छन् । 

काठमाडौंको दिया रक्रुमेन्ट सर्भिसेस मार्फत १७ सय दिर्हाम बेसिक तलबको सम्झौतासहित प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँ तिरेर आठ महिनाअघि उनीहरु युएई आएका हुन । पीडितले दुई महिनाको तलब पनि नपाएको बताएका छन् ।

१० जनालाई एउटै कोठामा राखिएको र कोठा एकदम फोहोर भएको पीडितले बताएका छन् । ‘नेपालबाट ल्याएको चाउचाउ तातोपानीमा उमालेर खाइरहेको र तीन महिना पहिले पाएको १२ सय दिर्हाम थियो, त्यो पनि अहिले सकिएको शेरबहादुरले बताउनुभयो । क्याम्पबाट नेपाली दूतावास १४३ किलोमिटर टाढा भएकाले दूतावासमा आफ्ना समस्या राख्न पनि नपाएको उनीहरुको गुनासो छ ।

पीडितलाई दूतावास पुग्न एकजनाबापत एकसय दिर्हाम खर्च लाग्छ ।

दूतावाससम्म जान नसकेपछि सहयोगीमार्फत उनीहरुले नेपाली दूतावास युएईमा निवेदन दिएका छन् । दूतावासले म्यानपावर प्रतिनिधिलाई टेलिफोन गरेर समस्या समाधान गर्न अनुरोध गरेको श्रम सहचारी मोतिराम भुसालले जानकारी दिनुभयो । तर दूतावासले म्यानपावरसँग अनुरोध गरेको तीनदिन बित्दा पनि पीडितले कुनै राहत पाएका छैनन् ।

म्यानपावरले उनीहरुलाई डिपीएस पास नहुँदासम्म १७ सय र पास भएपछि २२ सय न्युनतम तलब दिने सम्झौता गराएको पनि उनीहरुले बताएका छन् । 

‘कम्पनीमा सुरुकै महिनादेखि सम्झौता अनुसार सेवा सुविधा नपाएपछि म्यानपावरसँग गुनासो राखेका हौ तर सुनुवाइ भएन,’ शेरबहादुरले भन्नुभयो । 

६ महिना काम गर, सम्झौता अनुसार तलब नभए अरु काम लागाइदिन्छौ भनेका म्यानपवार सञ्चालक लक्ष्मण आचार्य पनि अहिले सम्पर्कविहिन भएको र दुवईमा रहेका म्यानपावर एजेण्ट नितेश राउत र रमेश खुलाललाई समस्या बताएपनि बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

दुतावासले कालो सूचीमा राखेको कम्पनीमा कसरी आए कामदार ?

युएई आएको पाँच महिनासम्म डिपीएस परीक्षामा सहभागी नगराएको र ६ महिनामा शेरा नियम लागू भएपछि सेटिङ मिलाएर नेपालीसहित अरु देशका १७ जनालाई परीक्षामा फेल गराएको काभ्रेका मोतिराम तिमिल्सिनाले दावी गर्नुभयो । 

यो कम्पनीमा पहिले पनि ३० जना नेपाली कामदार समस्यामा परेका थिए । लामो समयसम्म उद्दार नभएपछि मन्त्रीपरिषदले नै दूतावासलाई निर्देशन दिएर समस्यामा परेका नेपाली कामदारलाई नेपाल पठाउन भनेको थियो ।

दूतावास, एनआरएन तथा कम्पनीका प्रतिनिधिबीच भेटवार्ता भएपछि काममा फर्किन चाहनेलाई सम्झौता अनुसार तलब दिने र नेपाल फर्किन खोज्नेलाई नेपाल पठाउने सहमती भएको थियो । कम्पनीले सहमती पूरा नगरी कामदारले पाउनुपर्ने सेवा सुविधा नदिएपछि सो कम्पनीमा कामदार पठाउन नहुने भन्दै दूतावासले कम्पनीलाई कालो सूचीमा राखेर वैदेशिक रोजगार विभाग काठमाडौंमा सिफारिस गरेको थियो ।

तर दूतावासले कालोसूचीमा राखेको कम्पनीमा कामदार कसरी आए भन्ने खुल्न सकेको छैन । कामदार सबैले श्रम स्वीकृती समेत लिएका छन् । 

प्रतिक्रिया दिनुहोस

captcha captcha

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More